बृहत् नागरिक आन्दोलनले भन्यो- प्रधानन्यायाधीशलाई महाअभियोग लगाऊ
बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक १० । बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ ।

बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो ।

‘वर्तमान संकट निदानका लागि जागृत बार एशोसिएसनहरू, पूर्व प्रधानन्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, न्यायाधीश समाजको आह्वानलाई समर्थन गर्दै हामी न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ ।

संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको भन्दै नागरिक आन्दोलनले न्यायाधीशको रुपमा सेवा प्रवेश गर्दा नै मिलेमतोको आरोप लागेका जबराको न्यायायिक जीवन विवादास्पद रहँदै आउनु र त्यसको कतै जवाफदेहिता नखोजिनु अहिलेको अव्यवस्थाको आधार भएको बताएको छ ।

यसैगरी संसदीय सुनुवाई समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबण्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्ने विषयमा प्रमुख दलहरुले आफ्नो दृष्टिकोण प्रष्ट पार्नुपर्ने पनि आन्दोलनले बताएको छ । न्यायापालिकामा अहिले देखा परेको संकट समाधान गर्नतर्फ जिम्मेवार हुनुको साटो सत्ता र प्रतिपक्षका दलहरुबीच प्रतिसोध साँध्ने प्रतिस्पर्धा देखिनु गैरराजनीतिक व्यवहार भएको पनि नागरिक आन्दोलनको टिप्पणी छ ।अनलाइनखबरबाट साभार

बृहत नागरिक आन्दोलनले जारी गरेको प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर