दिपावलीको चटारो कसगढ समुदाय माटोको सामाग्री बनाउँन ब्यस्त
शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,कात्तिक १२

दिपावली नजिकिएसँगै माटोको दियो बनाउन कसगढ समुदाय यतिबेला व्यस्त छन् । अरु समयमा फुर्सद भए पनि तिहार आएपछि उनीहरूको व्यस्तता बढ्ने गर्दछ ।

आधुनिक झिलीमिली बत्ती आएपनि तिहारमा माटोका दियो बल्ने परम्परा सदियौदेखि चल्दै आएको पाइन्छ । तिहारमा माटोको दियोको माग बढ्ने भएकोले कसगढ समुदाय दियो बनाउन लागिपरेका छन् । लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहे पनि पछिल्लो समय बिजुलीबाट बल्ने झिलिमिली बत्तीको प्रचलन बढेको छ । यसले पनि माटोको भाँडाबर्तन बिक्रीमा कमी आएको छ । माटोको भाँडाबर्तनको बिक्रीमा कमी आएपछि कसगढ समुदाय समस्यामा परेका छन् ।

गुलरिया नगरपालिका–७ भन्सार रोडका ३३ वर्षिय समसिदिन कसगढ यति बेला माटोका दियो बनाउन व्यस्त देखिए । उनले बनाएको माटोका भाँडा गुलरिया बजार लगायत गाउँमा बिक्री वितरण हुने गरेको छ । समसिदिनले यहि पेशाबाट आफ्नो ४ जनाको परिवार पालेका छन् । नजिकिदै गरेको तिहारलाई मध्यनजर गरेर उनी माटोको दियो बनाई रहेका छन् । आफ्नो पुर्खौली पेशालाई अँगाल्दै आएको समसिदिनले बताए । माटोको भाँडा बनाउने पेशा समस्यामा परेको सुनाए ।

‘पहिला सबैले माटोको भाँडाबर्तन बढी प्रयोग गर्थे’उनले भने, ‘आज भोली माटोका भाँडाबर्तनको कम प्रयोग हुने गर्छ ।’ आधुनिक जवाना अनुसार सबै परिर्वतन भएका छन् । स्टिल,काँच र प्लाष्टिकका भाँडाबर्तनको प्रयोग बढ्दै गएको बताए । अब माटोका भाँडाको महत्व घट्दै गएको समसिदिले सुनाए ।

माटोको भाँडा बनाउने मुख्य पेशा भएपनि यस पेशाले मात्र गुजारा नचल्ने भएपछि सिजनमा ईट्टा भट्ठामा काम गर्नु पर्छ । माटोको भाँडाको प्रयोग र महत्व घट्दै गरेकोमा दुख व्यक्त गरे ।

‘माटोको भाँडा बनाउन धेरै मेहनत लाग्ने गर्छ’ उनले भने, ‘मेहनत अनुसारको आम्दानी छैन ।’ तिहारमा माटोको दियोमा बाल्ने दिपावलीको सट्टामा झिलीमिली बत्ती आयो । माटोको दियोमा दिपावली बाल्ने चलन बिस्तारै ओरालो लागेको अनुभव समसिदिनले सुनाए । १० वर्ष अगाडि माग अनुसार माटोको दियो पुगाउन हम्मेहम्मे पथ्र्यो ।

आज भोली पहिलाको भन्दा व्यापार घटेको बताए । त्यसै गरी माटोको भाँडा तयार गर्न लागत पनि बढेको सुनाउदै हाम्रो लागि चुनौती थपिएको उनको भनाई छ । १५ हजार बराबरको माटोको भाँडा पकाउन ५ हजार बराबरको भुसी र काठ लाग्ने गरेको बताए । तिहारमा माटोको दियो बेचेर २५ देखि ३० हजारसम्म आम्दानी हुनसक्ने समसिदिनको अनुमान छ ।
पुर्खाले अँगाल्दै आएको पेशालाई आफूहरुले छोड्न नसके पनि माटोको भाँडाकुँडा बनाउने पेशाबाट अन्य पेशामा जस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जन मै समस्या हुने गरेको समसिदिनको भनाई छ ।

माटोको भाँडा बनाउने हाम्रो पुर्खाैली पेशा रहेको गुलरिया नगरपालिका–७ का राजा सकगढले बताए । पहिला देखि माटोका भाँडाको महत्व रहेको बताए । पुजापाठ देखि विभिन्न काममा प्रयोग हुने गरेपनि यस पेशालाई प्रर्वधन गर्नमा कसैले सहयोग नगरेको उनले सुनाए । माटो किनेर भाँडा बनाउनु पर्छ ।

एक बुग्गी माटो ल्याउन पाँच सय खर्च लाग्छ । माटोको भाँडा तयार भएपछि पकाउन भुसी र काठ चाहिन्छ । भुसी पनि किलोको ७ रुपिया पर्छ । तयार भएको भाँडा समयमा नबिक्दा यो पेशा संकटमा पर्दै गरेको सुनाए । हामीले बनाएको माटोको भाँडा बर्तन सबैले महत्व बुझेर माया गरिदिने हो भने हाम्रो पेशा संकटमा नपर्ने उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय