प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारको धर्ना, वकिलका हातमा कालोपट्टी
आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक १४ / नेपाल बार एसोसिएसनले विवादमा मुछिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आइतबार सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ।

‘न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।

बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने जनाएको छ। वकिलहरूले आज हातमा कालोपट्टीसमेत बाँधेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आज पनि इजलास तोकेका छन्। विवादमा मुछिएका उनले निकास दिनु पर्ने भन्दै गत सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेकोलगायत विषयमा अहिले प्रधानन्यायाधीश राणाको आलोचना भइरहेको छ। सर्वोच्चमा उनीबाहेक सबै न्यायाधीश  एकातिर भएका छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर