बिरामी भैंसीको मासु खाँदा गाउँभरि बिरामी
आइतबार, कार्तिक १४, २०७८ मा प्रकाशित

लुम्बिनी, कात्तिक १४ / बिरामी भैंसीको मासु खाँदा रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापार गाउँ नै त्रसित बनेको छ । कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेर खाँदा सैनामैना–७ देउवापारस्थित स्मृति टोलमा स्थानीय बिरामी पर्न थालेपछि गाउँमा रेबिज संक्रमणको त्रास फैलिएको हो ।

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पिपलडाँडा ठूलीओकाली निवासी एक स्थानीयसँग स्मृति टोलका केही व्यक्ति भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भएपनि अहिले स्थानीय बिरामी पर्न थालेपछि मात्र सो घटना सार्वजनिक भएको हो ।

 

सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृति टोल निवासी दुई व्यक्तिले पिपलडाँडाबाट भैंसी ल्याई काटेर बिक्री गरेका थिए । सो भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी १ सय ४० जनाले पकाएर खाएका थिए । भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको र स्मृति टोलका केही व्यक्तिले छालाको लागि भनेर सो भैंसी खरिद गरी काटेर गाउँमा मासु बिक्री गरेको पाइएको वडाध्यक्ष बेल्वासेले जानकारी दिए । उनले भने, ‘भैंसीलाई कुकुरले टोकेको केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छाला मात्र प्रयोग गर्छौं भनि उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’

बिरामी भैंसीको मासु खानेमा बच्चादेखि वृद्धसम्म छन् । अस्वस्थ मासु बिक्री वितरण गरेको हुनाले उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीलाई अनुरोध गरिसकेको वडाध्यक्ष बेलबासेको भनाइ छ । घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृति टोलका ७० जनालाई रेविज विरुद्धको खोप लगाएको छ ।

नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवर्द्धक खाद्यान्न सम्बन्धी चेतनाको अभावका कारण सो समस्या उत्पन्न भएको बताए । उनले भने, ‘घटस्थापनाका दिन सस्तो मासु पाएपछि स्थानीयले बिरामी भैंसीको मासु किनेर खानुभएको रहेछ । तर, अहिले मात्र यो घटना बाहिर आयो ।’

खबरपश्चात नगरपालिकाले तत्कालै लुम्बिनी प्रदेश सरकार र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा खोपको पहल गरी ७० जनालाई खोप लगाइएको नगर प्रमुख कार्कीको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार कुल १ सय ४० मध्ये मासु काटेका र नपाकेको मासु छोएका ७० जनालाई रेविज विरुद्धको पहिलो खोप दिइएको हो ।

यता मासु ल्याएर बिक्री गर्ने मध्येका एकले भैंसी ल्याएर काटेर बिक्री गरेको स्वीकार गरेका छन् । उनले भने, ‘बिरामी भैंसी भन्ने थाहा थियो । तर, कुकुरले टोकेको थाहा थिएन, मेरो गल्ती भयो, कारबाही गरे स्वीकार गर्न तयार छु ।’

चाडपर्वको समयमा स्थानीय स्तरमा भैंसीको मासु सस्तोमा पाइएपछि आफूहरुले किनेर खाएको स्थानीयको भनाइ छ । एक स्थानीय किशोरले आफूले एक किलोको मासु २५० रुपैयाँमा खरिद गरेको बताएका छन् । उनले बिरामी भैंसीको मासु खाएको भन्ने थाहा भएपछि डर लागेको बताउँदै घटना भएपश्चात भने नगरपालिकाले तत्काल खोप व्यवस्थान गरेर स्थानीय सबैलाई उपलब्ध गराएकोमा ढुक्क भएको बताए । मासु खानेमा एकै परिवारमा चार–पाँचसम्म रहेको र आफूहरुलाई खोप लगाउन समेत पैसाको अभाव भएकाले त्रास फैलिएको स्थानीयको भनाइ छ । ईकान्तिपुरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय