कालोपट्टी बाँधेर आज पनि नेपाल बारमा धर्ना
सोमबार, कार्तिक २२, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २२ / प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै नेपाल बारले आज पनि धर्ना दिएको छ।

कात्तिक १४ देखि १७ गतेसम्म वकिलहरूले प्रधानन्यायाधीश राणाविरूद्ध हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत र बार एसोसिएसन परिसरमा विरोध प्रदर्शन गरेका थिए। त्यसपछि तिहारको बिदा सुरू भएको थियो।

मन्त्रिपरिषद, संवैधानिक परिषद लगायतमा भाग मागेको, सर्वोच्चले गरेका फैसला देखाएर सौदाबाजी गरेको र गोलाप्रथाबाट पेसी तोक्छु भनेरपछि हटेकोलगायत विषयमा प्रधानन्यायाधीशको न्यायीक विचलन देखिएको भन्दै नेपाल बारले उनको राजीनामा मागेको थियो।

सत्तासँग सौदाबाजी गर्ने न्यायालयलाई विवादमा पारिरहेको भन्दै सर्वोच्चका सबै न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशको राजीनामा मागेका छन्। उनीहरूले राजीनामा नदिउन्जेल प्रधानन्यायाधीश राणाले तोकेका बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्दा नहेर्ने अडानमा छन्।

दसैंअघि मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश राणाले मागेको भागमा उनकै जेठान गजेन्द्र हमाललाई नियुक्त गरेका थिए। चर्को विवादपछि हमालले राजीनामा दिए।

प्रधानन्यायाधीशले सत्तामा भाग खोजेर न्यायीक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन समेत आन्दोलनमा छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय