निकुन्जको ऐन लत्याएर धमाधम दोषीलाई उन्मुत्ति
मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित

बेद प्रकाश गुप्ता

काठमाडौं कात्तिक २३

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्यले ऐन नियम लत्याएर सडक दुर्घटनामा वन्यजन्तु क्षेति गर्ने दोषीलाई उन्मुत्ति दिईरहेको खुलासा भएको छ । निकुन्ज विभागले अख्तियार गरेको ऐन लत्याएर सवारी दुर्घटनामा दोषी देखिएकालाई जरिवानाको नाममा न्यूनतम शुल्क असुलेर दोषीलाई उन्मुत्ति दिएको तथ्य सार्वजनिक भएको छ । मोटो रकमको चलखेल गरी घटना प्रक्रिया नपुराएर दोषीलाई उन्मुत्ति दिएको घटनामा स्थानीय आक्रोषित भएका छन् । एउटै प्रकति घटनामा चितवन राष्ट्रिय निकुञ्जको प्रशासन र वन डिभिजनले गरेको मुद्दा प्रक्रियाले चितवन राष्ट्रिय निकुञ्जका प्रमुखले आर्थीक प्रलोभनमा परेर दोषीलाई उन्मुत्ति दिएको पुष्टि हुन्छ ।

कार्तीक ५ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सुनाचुरी जंगलमा बयस्क जरायोलाई ठक्कर दिएर मारेको आरोपमा ना.५ ख.२६६४ नंबरको ट्रकसंगै चालक तेज नारायण राम र सहचालक दिल बहादुर सेढाइलाई निकुन्ज प्रशासनले नियन्त्रणमा लियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६(३) मा निकुञ्ज, आरक्ष वा मध्यवर्ती क्षेत्रमा पंक्षी बाहेक अन्य कुनै पनि वन्यजन्तु मारेमा रु.२० हजार देखि ५० हजार सम्म जरीवाना ६ महिना देखि १ बर्षसम्म कैद वा दुबै सजाय हुने कानूनी प्राबधान छ । वन्यजन्तुलाई ठक्कर दिने सवारी साधन समेत जफत हुनसक्ने ब्यवस्था छ ।

यो प्राबधान अनुसार ट्रक चालकलाई पक्राउ गरीसकेपछि अनुसन्धान अधिकृत तोकी नियमानुसार थुनुवापूर्जी दिएर थुनामा राखी अनुसन्धान गरेर सरकारी वकिलको राय बमोजिम मुद्धा चलाउनु पर्ने हुन्छ । तर चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले कुनै पनि कानूनी प्रकृया पुरा नगरीकनै पक्राउ परेका ब्यक्तिहरुलाई जनहि रु. ५ सय जरीवाना लिएर छोडेको छ ।गल्ती ढाक छोप गर्न निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले आकस्मिक दुर्घटना मात्रै भएकोले रु. ५ सय जरीवाना गरिएको दाबी गर्छन ।

द्र्घटनबाट वन्यजन्तु क्षति भएमा सबै घटनामा मुदा दर्ता हुन्छ ।यस्तै प्रकृतिको कार्तीक २ गते घटना घटेको थियो ।पूर्व पश्चिम राजमार्गमा पर्ने टिकौलीको जंगलमा टाँडी तर्फ जाँदै गरेको बोलेरो गाडीले ठक्कर दिंदा एउटा भाले चित्तल मरेको थियो । डिभिजन वन कार्यालय चितवनले ठक्कर दिएर चित्तल मार्ने बा. १० च. २७९४ नंबरको बोलेरो जीप र चालक मेघ बहादुर तामाङगलाई पक्राउ गरीएको थियो । डिभिजन वन कार्यालय चितवनले अनुसन्धान अधिकारी खटाइ अनुसन्धान प्रकृया पुरा गरेर जिल्ला सरकारी वकिल मार्फत मिति २०७८ साल कार्तीक ७ गते मुद्धा दायर गरेको थियो । मुद्धा दायर भैसकेपछि चालक मेघ बहादुर तामाङ्गलाई रु.१३ हजार धरौटी लिइ तारीखमा छोडेको थियो भने बरामद भएको बोलेरो गाडी हाल पनि डिभिजन वन कार्यालयमै राखिएको छ । यसरी एउटै प्रकृतिको घटनामा डिभिजन वन कार्यालयले चालक बिरुद्ध मुद्धा दायर गरी धरौटी लिएर पुर्पक्ष गर्नु पर्ने तर निकुञ्जका एकजना अधिकृतको ठाडो आदेशले मुद्धा नै चलाउनु नपर्ने घटनाले संरक्षणकर्मी चिन्तित भएका छन् ।
कुनै पनि घटना घटिसकेपछि घटनाका बिषयमा बिस्तृत अनुसन्धान नै नगरी हँचुवाको भरमा निर्णय गर्ने अधिकार कसैलाई नहुने संरक्षणकर्मी तर्क गर्छन । तर उच्च राजनीतिक दबाब र बिचौलिया मार्फत आर्थीक चलखेल गरेर घटना सामसुम पार्ने काम भएको स्थानीयको आरोप छ । कानूनमा नै न्यूनतम २० हजार जरीवाना हुने ब्यवस्था बिपरित कुनै अनुसन्धान र कानूनी प्रकृया नै नगरी हँचुवाको भरमा रु.५०० जरिवाना तोकेर अपराधिलाई उन्मुक्ति दिनु अख्तियारको दुरुपयोग भएको स्थानीयको ठहर छ । कानूनमा नै २० हजार देखि ५० हजार जरिवाना, ६ महिना देखि १ बर्ष कैद वा दुबै सजाय हुने भनी भएको व्यवस्थाको बर्खिलाप गर्दा ठूलै आर्थीक चलखेल र अख्तियारको दुरुपयोग भएको घटनाले पुष्टि गर्छ । अधिकार प्राप्त अधिकारीले यसरी अधिकार दुरुपयोग र ऐन लत्याएको भन्दै सरोकार वाला निकाय अख्तियार अनुसन्धान आयोग ,सतरकता केन्द्र र स्थानीय प्रशासनलाई सत्य तथ्य छानविन गरी अख्तियार दुरुपयोग गर्ने अधिकारीलाई स्थानीयले कारबाहीको माग गरेका छन ।

कतै छुट,कतै हदै सम्म कारबाही

लुम्बिनी प्रदेशमा पर्ने बाँके र बर्दिया जिल्लामा २ वटा राष्ट्रिय निकुञ्ज छन । दुबै राष्ट्रिय निकुञ्जको बिचभागबाट पूर्व पश्चिम राजमार्ग बनेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको राजमार्गमा बर्षेनी दर्जनौं सवारी दुर्घटनामा वन्यजन्तु मारिने र चालक कारबाहिमा पर्ने गरेका छन । निकुञ्जले तोकेको गति सिमा ४० कि.मि.प्रति घण्टाको गतिमा गाडी गुडाउदा पनि एक्कासी बाटो काट्ने वन्यजन्तु गाडीमा ठोकिएर दुर्घटना हुने गरेको छ । बाँदर, खरायो, मलसाप्रो जस्ता जनावर ठोक्किएर मर्दा पनि निकुञ्जले चालकलाई पक्राउ गर्ने र मुद्धा चलाउने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जले अवलम्वन गर्ने कानून फरक त होइन होला । अबका दिनमा बर्दिया राष्ट्रिय निकुञ्जले पनि चितवन राष्ट्रिय निकुञ्जले जस्तै सवारी दुर्घटनामा वन्यजन्तु मरेमा रु.५०० जरीवाना गरी चालकलाई तुरुन्त छोड्नु पर्ने भनी यातायात व्यवशायिहरुले आवाज उठाउन थालेका छन । सुदुर पश्चिम यातायात ब्यवशायी संघमा आवद्ध एक जना गाडी मालिक चितवन राष्ट्रिय निकुञ्जले गरेको कारबाहि जायज भएको बताउछन । उनको तर्क छ सवारी दुर्घटनाबाट वन्यजन्तु मारिंदा चितवनमा रु.५००। जरिवाना हुने बर्दियामा मुद्धा चलाउने गर्न पाइन्न, यसो गरेमा हामी अबज्ञा गर्नेछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर