राष्ट्रपति भवनबाट शुरु भयो जनगणना
बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित

काठमाडौं, कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरु भएको छ । बिहीबार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै औपचारिक शुरुवात गरेकी हुन् ।

बिहीबारबाट राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै देशभर १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली बुधबार बिहान राष्ट्रपति निवासमा पुगेका थिए ।

जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्नहरु समावेश गरिएको छ । देशभर गणकहरु जनताका घर–घरमा पुगेर जनगणना गरिरहेका छन् । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि शुरु भएको जनगणना मंसिर ९ गते सकिँदैछ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक खटाइएको छ ।

सही विवरण टिपाउन राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान

जनगणनामा सही विवरण टिपाउन राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेका छन् । बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रपति तथा प्रधानमन्त्रीको भिडियो सन्देश सार्वजनिक गरेको छ । राष्ट्रपति भण्डारीले मंसिर ९ गतेसम्म सबै नेपालीको व्यक्तिगत तथा पारिवारिक विवरण संकलन गर्न गणक खटिएको भन्दै सही विवरण टिपाउन आह्वान गरेकी छिन् ।

जनगणनामार्फत प्राप्त हुने तथ्यांक नै मुलुकको विकास निर्माण सम्बन्धी नीति, योजना र कार्यक्रम निर्माणका लागि आवश्यक सूचनाको स्रोत भएको भन्दै उनले राज्यले संचालन गर्नेै कल्याणकारी कार्यक्रम सामाजिक सुरक्षाको प्रक्षेपण गर्ने महत्वपूर्ण आधार समेत रहेको बताइन् । ‘जनगणनामा सही विवरण उपलब्ध गराई, छरछिममेकी तथा परिचितलाई पनि सही विवरण टिपाउन सबैले सहयोग गर्नुपर्छ’ राष्ट्रपति भण्डारीले  भनेकी छन्, ‘सबै जनप्रतिनिधि, सामाजिक संघ संस्थासबैमा आह्वान गर्दछु ।’

प्रधानमन्त्री देउवाले देश विकासका लागि उपयुक्त नीति बनाउन, व्यक्तिको मात्र गणना नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्न जनगणना महत्वपूर्ण रहेको बताए ।

केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तय गर्न तथा कार्यक्रम तर्जुमा गर्न प्रयोग हुने भन्दै उनले ‘हामी विगतमा कुन अवस्थामा थियौं, अहिले कुन अवस्थामा छौं र भोलि उज्जवल भविष्य निर्माण गर्न के गर्नुपर्छ भन्ने थाहा पाउन’ पनि महत्वपूर्ण रहेको बताए । तथ्यांक पूर्ण रुपमा गोप्य हुने भन्दै उनले गणकलाई सही विवरण उपलब्ध गराउन आह्वान गरेका छन् ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय