जनगणना सुरु,जनसंख्या ३ करोड ननाघ्ने
शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित

नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ। देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ।

राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताए।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या तीन करोड नाघ्ने अनुमान गरिएको थियो। पछिल्ला संकेतले तीन करोड ननाघ्ने देखाएको जानकारी विभागले दिएको छ।

विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार भदौ ३० देखि असोज १८ सम्म गरिएको घरपरिवार सूचीकरणमा घरपरिवारको संख्या पनि अनुमान गरेभन्दा कम देखिएको छ। यो हिसाबले पनि प्रक्षेपण गरिएभन्दा कम जनसंख्या हुने देखिएको हो।

विभागले घरपरिवार सूचीकरणअघि जनसंंख्या ३ करोड ५ लाख पुग्ने अनुमान गरेको थियो।‘घरपरिवार सूचीकरणपछि नेपालको कुल जनसंख्या तीन करोडभन्दा कम हुने सम्भावना देखिएको छ’,चौलागाईंले भने।

नेपालमा सन् २०१९ मा गरिएको मल्टिपल इन्डिकेटर सर्भेले पनि जन्मदर घटेको देखाएको छ। सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति जन्मदर सन् २०२० मा १.६७ छ।जनसंख्या सन्तुलनमा रहन जन्मदर २.१ हुनुपर्ने मान्यता छ।

परिवार कल्याण महाशाखा बाल शाखाका पूर्वप्रमुख डा. झलक गौतमका अनुसार डेढ दशकयता जन्मदर घट्दै आएको छ।शिक्षा,महिलाको रोजगारीमा सहभागिता,गर्भपतन सेवा तथा परिवार नियोजनका साधनमा पहुँच बढ्नु,महिला आर्थिक क्रियाकलापमा सहभागी हुनु,वैदेशिक रोजगारीले दम्पती लामो समय अलग भएर बस्नुजस्ता कारणले पनि जन्मदरमा कमी आएको हो।

डा. गौतमका अनुसार नेपालका केही जिल्लाका स्वास्थ्यसंस्थामा प्रसूति हुनेभन्दा गर्भपतन गर्ने महिलाको संख्या बढी छ। महिला पेसा–व्यवसायमा संलग्न हुने,ढिलो विवाह गर्ने र विवाहपछि पनि जागिर तथा अन्य व्यवसायमा सक्रियता,एकल परिवार संरचनाजस्ता कारणले पनि जन्मदर घटेको छ।

परिवार कल्याण महाशाखा आमा तथा शिशु शाखाका प्रमुख डा. पुण्य गौतम भन्छन् ,‘सहरमा धेरै परिवारमा एउटामात्र बच्चा जन्माएका आमा धेरै छन्।’ तर कतिपय धार्मिक समूह र ग्रामीण भेकमा अहिले पनि बच्चा जन्माउने दरमा कमी नआएको डा. गौतमको भनाइ छ।

वैदेशिक रोजगारीमा जानेको संख्या धेरै रहेको, उनीहरू लामो समय उतै बस्ने,कतिले विदेशमै स्थायी बसाबास गरेका कारण पनि जनसंख्या प्रक्षेपणअनुसार नबढ्ने देखिएको केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले बताए।

‘अन्तर्राष्ट्रिय बसाइँसराइ र आन्तरिक बसाइँसराइले पनि नेपालको जनसंख्या वृद्धिदरमा प्रभाव पारेको देखिन्छ’, उनले भने। २०६८ सालको जनगणनाले २० लाख मानिस वैदेशिक रोजगारीमा गएको देखाएको थियो भने अहिले ५० लाख जनसंख्या देशबाहिर रहेको अनुमान छ।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका परिवारको गणना

राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाका परिवारको विवरण संकलन गरी बिहीबार जनगणना प्रारम्भ गरिएको छ।राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण संकलन गर्न केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ गणक भएर पुगेका थिए।

उनको साथमा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल,योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि सहभागी थिए।बिहीबार नै प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीको परिवारको पनि विवरण संकलन गरिएको छ। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर