काठमाडौं, कात्तिक २८। दुई सातादेखि आन्दोलनरत कानून व्यवसायीहरूले आज सर्वोच्च अदालतमा धर्ना दिन सुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित कानून व्यवसायीहरूले धर्ना दिन पुगेका हुन् ।
गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानून व्यवसायीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई सुरक्षाकर्मीले भित्र प्रवेश गर्न दिएको थिएन तर आज भने उनीहरू सुरक्षाकर्मीको घेरा तोडेर सर्वोच्च परिसरमै पुगकाे छन ।
शुक्रबार गेटमा कानून व्यवसायीहरूले धर्ना दिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । आज वैकल्पिक गेटमा पनि धर्ना दिने कानून व्यवसायीहरूले बताएका छन ।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् । जबराको विरोधमा रहेका न्यायाधीशहरू उनले तोकेको इजलासमा पनि बसेका छैनन् । अनलाइनखबरबाट साभार