प्रधानमन्त्रीले सर्वोच्चको विवाद समाधान गर्न पहल गर्नुपर्छ: नेपाल
बिहिबार, मङि्सर ०२, २०७८ मा प्रकाशित

धनगढी, मंसिर २ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखापरेका समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताएका छन्।

बिहीबार धनगढीमा प्रदेश पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा पत्रकारको जिज्ञासामा संक्षिप्त जवाफ दिँदै यसबारे साझा धारणा बनाएर सर्वोच्चमा देखापरेका समस्या राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने उनले बताएका हुन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसको निम्ति पहल गर्नुपर्ने बताए। ‘यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ र प्रधानमन्त्रीले यसको निम्ति आफ्नै हैसियतले पहल गर्नुपर्छ’, उनले भने।

यस्तै,  नेपालले सुदूरपश्चिममा पार्टी नम्बर १ रहिरहने दाबी गरेका छन्। प्रदेश पार्टी कार्यालयको धनगढीमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘यो त्यही भवन हो, जुन ठाउँबाट हिजो हामीले निर्माण गरेको एमाले पार्टीको प्रदेश कार्यालय थियो, आज यही ठाउँमा एकीकृत समाजवादीले झण्डा फहराउँदा खेरी सुदूरपश्चिममा नम्बर १ पार्टी बनेको छ, बन्दै आएको छ बन्दै पनि जाने छ, यो सन्देश पनि हो,’ उनले भने।

तत्कालीन नेकपा पार्टी भएका बेला यही भवनमा पार्टी कार्यालय कसको हुने भनेर विवाद हुँदै आएको थियो। अध्यक्ष नेपालले त्यसबेला कुकुर, भैंसी, संगुर लगायतका घाँटीमा पार्टी पद लेखेको कुराप्रति व्यंग्य गर्दै एमालेको प्रवृत्ति त्यसले उजागर गरेको बताए।

‘एमाले त्यस्तै प्रवृत्तिका मान्छेहरूको पार्टी बन्न पुगेको छ, त्यहाँ राम्रा, सुसंस्कृत मान्छेहरू, कम्युनिष्ट आदर्श भएका हैनन्, गैर कम्युनिष्टको पार्टी बन्दैछ,’ उनले भने। अध्यक्ष नेपालले कम्युनिष्ट आदर्श भएको पार्टी एकीकृत समाजवादी रहेको दाबी गरे।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर