कालीकोटमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
सोमबार, मङि्सर १३, २०७८ मा प्रकाशित

सुर्खेत, मंसिर १३ / कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका-१ मिलाकामा सोमबार बिहान पौने ९ बजे बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटनामा परेको हो।

दुर्घटनामा नरहरिनाथ गाउँपालिका-१ का ५८ वर्षीय जयबहादुर विष्टको मृत्यु भएको छ। उनको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मिलाकाबाट डिजेल र सिमेन्ट लिएर कोटबाडा विमानस्थलतर्फ जाँदै गरेको उक्त ट्रक उकालोमा ब्रेक नलागेपछि ३० मिटर तल पल्टिएको प्रहरीले जनाएको छ।

ट्रकमा सवार चार जनामध्ये तीनजना घाइते छन्। ट्रक चालक सुर्खेतको वीरेन्द्रनगरका किरणबहादुर भुजा, ट्रक साहु नरहरि–१ का २४ वर्षीय नेत्रबहादुर विष्ट र सहचालक घाइते छन्।

उनीहरूमध्ये गम्भीर घाइते विष्टलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि सुर्खेत ल्याइएको छ। अरू दुई जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय