१९ वर्षदेखि श्रीमान्को खोजीमा भौतारिदै ः श्रीमति मंगति थारु
सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, मंसिर १९

बढैयाताल गाउँपालिका–५ जगतियाकी मंगति थारु १९ वर्षदेखि आफ्नो श्रीमान् शिवचरण थारुको खोजीमा भौतारिदै छिन् । राज्य पक्षबाट ०५८ सालमा श्रीमानलाई घरबाट पक्राउ गरि बेपत्ता पारिएको उनले बताएकी हुन् । घरबाट पक्राउ गरि पाँच दिन ईलाका प्रहरी कार्यालय मैनापोखरमा राखेको त्यसपछि जिल्ला प्रहरी कार्यालय गुलरियामा ल्याएको उनले बताईन् । ९० दिनसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा हुँदा श्रमान्लाई हप्तामा भेट्न आउने गरेको उनले स्मरण गरिन् ।

‘प्रहरी कार्यालयबाट कारागारमा लागेपछि ०५९ साल बैशाख १६ गते भेट भयो’ उनले भनिन्, ‘त्यो भेट मेरो लागि अन्तिम भेट रह्यो ।’ बैशाख २१ गते श्रीमान्लाई भेट्न जाँदा भेट भएन । १९ वर्ष बितिसक्दा श्रीमानको कुनै अत्तोपत्तो नपाएको बताईन् । दुई छोरा र एक छोरी पाल्न शिक्षादिक्षा दिन निकै समस्या रहेको छ । राज्यले हामी पिडितलाई प्राथमिकतामा नराखेको उनले दुखेसो पोखिन् । राज्य पक्षबाट श्रीमान्लाई बेपत्ता पारिएको उनको आरोप छ । राज्य पक्षबाट बेपत्ता पारिएका श्रीमान्को सत्य तथ्य जानकारी सरकारले अझै नदिएको उनले बताईन् ।

त्यसैगरी जगतियाकै अर्का जुबेद थारु १३ वर्षको हुँदा बुवाको राज्य पक्षबाट गोली हानी हत्या गरि बेपत्ता पारिएको सामाचारमा सुनेको बताए । ०५८ साल भदौ १० गतेका दिन बुवा शिव प्रसाद थारुको बाँकेको शमशेरगंजमा राज्य पक्षबाट गोली हानी हत्या भएको संचार माध्यामबाट थाहा पाएको उनले सुनाए ।

अहिले बुवा बेपत्ता भएको २० वर्ष बितिसक्दा पनि राज्य पक्षले सत्य तत्य सार्वजनिक नगर्दा साह्रै दुखी भएको सुनाए । बुवालाई बेपत्ता पारिएपछि घरको जिम्मेवारी मेरो काँधमा आयो । दुई बाहिनी र आमालाई पाल्न उनी भारत तर्फ कमाउन जान्छन् । आफ्नो खेतीपाती नहुँदा भारतबाट कमाएर ल्याएको रकमले बाहिनीहरुको पढाई र जिविको पार्जन गर्न ठिक्का भएको उनको भनाई छ ।

सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा र पिडित परिवारले आफन्तको लाश नदेख्दा कतै जिउँदै छन् की आश मान्छन् ।
आइतबार महिला कानुन तथा विकास मंचले आयोजना गरेको संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संक्रमण कालीन न्यान समितिका संयोजक भागीराम चौधरीले राज्य शान्ति प्रक्रियामा गएको १५ वर्ष बितिसक्दा पनि बेपत्ता परिवारको सम्बोधन नभएको धारणा व्यक्त गरे ।


संक्रमण कालीन न्याय पुरा गर्न चार वटा तत्वलाई आधार मानेर निरन्तर लागीरहेको बताए । द्वन्द्वमा भएका घटनाको सत्य तथ्य बाहिर ल्याउने, बेपत्ता पार्नमा संलग्नलाई कानुनी उपचारको न्याय, परिपुरनको अधिकार र संस्थागत सुधारलाई आधार मानेर न्यायको लागि निरन्तर लागीरहेको संयोजक चौधरीले बताए । यी चार तत्वहरु पुरा भएपछि संक्रमण कालीन न्याय पुरा हुने उनले औल्याए । बर्दिया सबै भन्दा बढी मानिस बेपत्ता पारिएको जिल्ला हो ।

संक्रमणकालीन न्याय समितिको डाटा अनुसार २ सय ४२ जना बेपत्ता पारिएका छन् भने जिल्ला प्रशासन कार्यालयको डाटा अनुसार २ सय ७८ जना मानिसहरु बेपत्ता पारिएको उनले जानकारी दिए । राज्यले बेपत्ता परिवारलाई कुनै प्राथमिकता नदिएको बताए । १५ वर्षको अवधिमा बेपत्ता परिवारको मुद्दालाई सरकारले सम्बोधन नगरेको प्रति उनले असन्तुष्टि व्यक्त गरे । राज्यले हाम्रो मुद्दालाई सम्बोधन गरि न्याय नदिएसम्म निरन्तर राज्यका सम्बन्धित निकायमा झकझाकाउने कार्य जारी रहने संयोजक चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय