बर्दिया प्रिमियर लिगको बिजेता हिमालयन एकेडेमी
बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २२ (फरकसमाचार) / बर्दिया प्रिमियर लिगको बिजेता हिमालयन क्रिकेट एकेडेमी भएको छ । मंगलबार भएको फाइनल खेलमा हिमालयन क्रिकेट एकेडेमीले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले हराउदै बिजेता हात पारेको हो । योसँगै च्याम्पियन हिमालयन क्रिकेट एकेडेमीले १ लाख ११ हजार १ सय ११ र उपबिजेता स्टार क्रिकेट एकेडेमीले ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

गुलरियाको कबर्डहल खेलकुद मैदानमा टस जितेर ब्याटिङ रोजेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४५ रन जोडेको थियो । पहिलो विकेटका लागि दीपक बोहरा र आयुष्मान बम बिच २५ रनको साझेदारी भएको थियो । कप्तान दिपक बोहराले ११ बलमा ९ रन जोडे । हिमालयनका मिडल अडर ब्यटर पुरण बिकले ४४ बलमा ३ छक्का सहित सर्वाधिक ५० रनको योगदान दिए । आयुष्मान बमले २१ बलमा ४ चौका प्रहार गर्दै २५ रन बनाए । हिमालयनले ३ विकेट रन आउट मार्फत गुमाएको थियो ।

स्टारका लेग स्पिनर सुरज खड्काले ३ ओभरमा १८ रन खर्चिएर २ विकेट लिएका थिए । रुपेश बस्याल र पुरु भटराईले १/१ विकेट लिए । १ सय ४६ रनको बलियो लक्ष्य पछ्याएको स्टारले सुरुवात भने फितलो गरेको थियो । स्टारले पहिलो पावर प्लेमा ४ विकेट गुमाउदै ३० रन जोडेको थियो । त्सपछि भने ५औं विकेटका लागि नन्दन यादव र कप्तान विशाल खत्री बिच ६८ रनको साझेदारी भएता पनि जितको लागि प्राप्त भएन । स्टार क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ३० रन मात्र बनाउन सक्यो । स्टारका कप्तान विशाल खत्रीले ३८ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । नन्दन यादवले ३७ बलमा २९ रन जोडे ।

हिमालयनका मध्य गतिका बलर कौशल रुपाखेतीले ४ ओभरमा ४२ रन खर्चिएर ४ विकेट लिएपछि हिमालयन च्याम्पियन बनेको थियो । दीपक चन्दले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए । सगर भण्डारीले २ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट ब्याटर मनिष थापा भए । फाइनलमा पुर्याउन मनिषले ५ खेलमा १ सय २९ रन बनाएका थिए ।

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी हिमालयनका आयुष्मान बम भए । हिमालयनलाई उपाधी जिताउन उनले प्रतियोगिताभर सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १ सय ११ बलमा १ सय ५६ रन बनाएका थिए । प्रतियोगिताका उत्कृष्ट बलर नेशनल क्रिकेट एकेडेमीका विशाल पौडेल भए । पौडेलले प्रतियोगिताभर १२ ओभरमा ७४ रन खर्चिएर १० विकेट लिएका थिए । सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गरे भने उत्कृष्ट ब्यटर र बलरले सम्मान रु ५ हजार प्राप्त गरे ।

प्रतियोगितामा देशभरका ८ वटा क्रिकेट टिमको सहभागिता थियो । बर्दियाका दुई टिम र अन्य जिल्लाका ६ टिमको खेलमा प्रतियोगिता रहेको थियो । जिल्लाका दुई टिम फाइनलमा पुग्न सकेनन् । समुह चरणको खेलमा अन्य ६ टिमलाई पराजित गर्दै हिमालयन र स्टार फाइनल खेलमा प्रवेश गरेका थिए ।

नयाँ युवा क्लवका अध्यक्ष प्रमोद चन्दको स्वर्गीय बुवा बीरबहादुर चन्दको सम्झानामा दोस्रो पटक बर्दिया प्रिमियर लिगको आयोजना भएको थियो । खेल मंसिर १३ गतेबाट सुरु भई फाइनल खेल मंगलबार भएको हो । क्रिकेट प्रतियोगिता मुख्य प्रायोजक कृष्णसार रिसोर्टले गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय