कैलालीमा अवैध रुपमा प्रवेश गर्ने दुई भारतीय प्रहरी पक्राउ
शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित

धनगढी, मंसिर २४ / कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् ।

खक्रौला नाकाबाट भारतीय HR31P8779 नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश सापकोटाले भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।

बिहीबार एउटा मुद्धाको अनुसन्धानका लागि सीमा क्षेत्रसम्म पुगेका उनीहरु झुक्किएर नेपाल प्रवेश गरेकोमा टीकापुर नगरपालिका-९ मा मोटरसाइकललाई ठक्कर दिएपछि दुवै जना पक्राउ परेका थिए ।

प्रहरी नायब उपरीक्षक सापकोटाले टीकापुर–९ को झुगामा स्थानीय इन्दलकुमार गोडिया सवार मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित पक्राउ परेका उनीहरु भारतीय प्रहरी भएको खुलेको जनाए ।

घाइते गोडियाको अवस्था समान्य छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरु प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको बताए ।

दुवै जनाले घाइतेको उपचारमा लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता जनाएपनि भन्सार शुल्क नतिरेर प्रवेश गरेको सन्दर्भमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई छाडिने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय