श्रीमानको उत्तरपुस्तिकामा श्रीमतीको रोल नम्बर
शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

मेहनतका साथ प्रतिस्पर्धाबाट सरकारी सेवामा नाम निकाल्न सफल भएका बर्दियाका एक शिक्षकले पत्नीलाई समेत स्थायी जागीर खुवाउने ‘तानाबाना’ बुन्दा आइपरेको झमेलाको कथा ।

काठमाडौं, पुस २। जागीरको प्रतिस्पर्धामा रहेको परीक्षार्थीले सँगै बसेको प्रतिस्पर्धीको हित हुने काम गर्ला र ? आफू फेल हुने र प्रतिस्पर्धीलाई पास गराउने खेलमा कोही पनि संलग्न हुदैनन् भन्ने अनुमान गरिन्छ ।

तर, बर्दियाको राजापुरका एक परीक्षार्थीले सुर्खेत परीक्षा केन्द्रमा छेवैको परीक्षार्थीको रोल नम्बर आफ्नो उत्तरपुस्तिकामा लेखिदिएर पास गराएको भेटिएको छ ।

उजुरी परेपछि छानबिन हुँदा ती परीक्षार्थी र छेवैमा बस्ने अर्की परीक्षार्थी श्रीमानश्रीमती भएको पुष्टि भयो । घटनापछि श्रीमानले उत्तर लेखिदिएर पास हुने श्रीमतीको जागीर त धरापमा पर्‍यो नै, श्रीमानको मावि शिक्षकको पद समेत नरहने निश्चित जस्तै भएको छ ।

शिक्षक सेवा आयोगले २०७४/०७५ सालका लागि देशभर प्राथमिकदेखि माध्यमिक तहसम्मका शिक्षकको विज्ञापन खुलाएको थियो । बर्दियाकी मनकला आचार्य (चौलागाई) प्राथमिक शिक्षकको प्रतिस्पर्धाको तयारीमा थिइन् । उनका पति मनिलाल आचार्यले माध्यमिक तहको सामाजिक विषयको तयारी गरिरहेका थिए । उनीहरुले घरसल्लाह गरे र एकैसाथ प्रावि तहको फर्म भरे । नामको वर्णानुक्रम मिलेको अनि एकैसाथ फर्म भरेकाले दुवैको रोल नम्बर पनि क्रमवद्ध रुपमा आयो ।

१३ असोज २०७५ मा प्रावि तृतीय तहको परीक्षा थियो । सुर्खेतको आदर्शराज मेमोरियल स्कुल परीक्षा केन्द्रमा रोल नम्बर ६८१०००३७ भएकी मनकला आचार्य र ६८१०००३८ भएका मनिलाल आचार्यको परीक्षा कोठा मात्रै होइन, बस्ने ठाउँसमेत एकैसाथ पर्‍यो । दुवैले परीक्षा दिए । मनिलाल पास हुन सकेनन् । पत्नी मनकलाले महिला आरक्षण कोटामा नाम निकालिन् र राजापुरको धोविनपुरस्थित भेरी माविमा शिक्षक नियुक्त भइन् ।

मनिलाल पछि माध्यमिक तहको परीक्षामा संलग्न भए । परीक्षा पास गरेर पत्नीभन्दा पहिले बझाङको महादेव माविमा नियुक्त भए र पछि बर्दिया राजापुरकै अमर शहीद दशरथ चन्द माविमा कार्यरत थिए । त्यसअघि आफू राहत शिक्षकको रुपमा कार्यरत रहेको भनी उनले बयान दिएका छन् ।

कसैले थाहा नपाउने चलाखी

१५ भदौ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तलाई सम्बोधन गरेर एउटा उजुरी पर्‍यो । मनकला आचार्यले आफ्नो पतिसँग उत्तरपुस्तिका साटासाट गरेर प्रावि तहको परीक्षा दिएको र उतीर्ण गरेकाले छानविन हुनुपर्ने भन्ने उजुरी थियो । ‘परीक्षार्थी’ को नामबाट परेको उजुरीमा भनिएको थियो, ‘यस्ता उम्मेदवारहरुको उत्तरपुस्तिका जाँच गरी सजाय र जरिवाना गरियोस् । एक योग्य र सफल उम्मेदवारलाई छनोट गरियोस्, धन्यवाद ।’

अख्तियारमा परेको उजुरीमा उल्लेखित व्यहोरा समावेश नमुना ।

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थाल्यो । अनुसन्धान प्रक्रिया अघि बढाउनासाथ उनीहरुले उत्तरपुस्तिका साटेको रहस्य खुल्यो । ‘श्रीमती मनकलालाई परीक्षामा पास हुन्छु भन्ने आत्मविश्वास रहेनछ, श्रीमानले उत्तर लेखिदिएमा महिला कोटाबाट नाम निस्किएला भनेर उत्तरपुस्तिका साटफेर गरेका रहेछन्’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरु दुवैजनाले आरोप स्वीकारेका छन् ।’

परीक्षा हलमा जानुअघि नै श्रीमान मनिलाल र श्रीमती मनकलाले सरसल्लाह गरेका रहेछन् । परीक्षा कोठामा प्रवेश गर्नासाथ उनीहरुले पहिलो वस्तुगत उत्तर लेखे । परीक्षा चल्दै गर्दा गार्डले प्रवेशपत्र रुजु गर्दै उनीहरुको हाजिरी गराउन थाले । त्यतिञ्जेल पहिलो खण्डको उत्तर लेखेर उनीहरुले उत्तरपुस्तिका बुझाइसकेका थिए । त्यसक्रममा उनीहरुले हाजिरी पानामा आ–आफ्नो नाम र रोल नम्बर लेखेर हस्ताक्षर गरे ।

अनि दोस्रो र तेस्रो उत्तरपुस्तिकामा उत्तर लेख्न थाले । त्यसक्रममा पति मनिलालले उत्तरपुस्तिकामा पत्नीको रोल नम्बर र नाम लेखे अनि पत्नी मनकलाले पतिको रोल नम्बर र नाम लेखिन् । हाजिर गराएर हिँडिसकेका गार्डले उनीहरुको योजनाको कुनै मेसो पाएनन् र शंका पनि गरेनन् ।

त्यसपछि आफूहरुको कापीमाथि कुनै शंका नहुनेमा ढुक्क भएका उनीहरु उत्तरपुस्तिका बुझाएर निस्किए । श्रीमानले लेखेको उत्तरपुस्तिका परीक्षणका क्रममा राम्रो अंक आयो र मनकलाले महिला कोटामा नाम निकालिन् । ५ मंसिर २०७६ देखि नियुक्ति लिएर पढाउन पनि थालिन् । मनकलाले बयानमा नै ‘केन्द्राध्यक्ष र परीक्षा निरीक्षकले हस्ताक्षर गरेर गएपछि अर्को उत्तरपुस्तिकामा रोलनम्बर साटासाट गरेको स्वीकारेको’ अख्तियार स्रोतले बतायो ।

उनीहरुले आफ्नो प्रतिस्पर्धा गर्ने उमेर जान लागेको अनि दुवैजनाको स्थायी जागीर नहुदा बालबच्चाको बिचल्ली पर्ने महसुस गरेर त्यस्तो काम गरेको स्वीकारेका छन् ।

उत्तरपुस्तिकामा आफैं उत्तर लेखेर पत्नीलाई पास गराएका मनिलालको पनि दिन सप्रियो । पत्नीसँगै परीक्षा दिएको तीन दिनपछि उनले महेन्द्रनगर केन्द्रबाट माविको सामाजिक विषयका लागि अर्को परीक्षा दिए, प्रतिस्पर्धामा नाम पनि निकाले । अनि १६ साउन २०७६ देखि बझाङको महादेव माविमा पढाउन थाले ।

केही समयपछि उनले बर्दियाको राजापुरमा नै घरपायक हुनेगरी सरुवा मिलाए । उनको चतुर्‍याइँले उनीमात्रै होइन, श्रीमतीको नाम प्रावि शिक्षकमा निस्कियो । सोँचेजस्तो भएकामा दंग परेका आचार्य दम्पत्तीको खुसी धेरै दिन टिकेन । मनकलाको नतिजा सार्वजनिक हुनुभन्दा अघि नै परेको उजुरीमाथि छानविन थालेको अख्तियारले परीक्षामा गडबड भएको प्रारम्भिक संकेत पाइसकेको थियो ।

बालबच्चा पाल्ने मेलो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पेश गरेको आरोपपत्र अनुसार, शिक्षक सेवाको विज्ञापन खुलेपछि मनिलाल र मनकलाले एक आपसमा सल्लाह गरेका रहेछन् । यसअघि नै मनकलाले २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षा दिएको तर अन्तर्वार्तामा सफल नभएका कारण पत्नी विक्षिप्तजस्तै बनेको भनी बयान दिएका छन् ।

अनि उनलाई पास गराउन आफूले नै उत्तर लेखिदिएको भनी उनले बयान गरेका छन् । मनिलालले आफूले लेखिदिएमा पत्नीको नाम निस्किने र त्यसो भए परिवारलाई सजिलो हुने आंकलन गरी उत्तरपुस्तिकामा रोल नम्बर साट्ने योजना बनाएका रहेछन् ।

‘हामी दुईजनामध्ये म माविको परीक्षामा पास हुने सम्भावना नभएकाले अनि श्रीमतीले २०७० सालमा नाम लिखितमा नाम निकालेपनि अन्तर्वार्ताबाट सिफारिस हुन नसकेकाले हामी दुईमध्ये एकजनाले स्थायी जागिर खानुपर्ने सोचेर…’ मनिलालले अख्तियारसँगको बयानमा भनेका छन्, ‘श्रीमतीको महिला कोटामा त नाम निस्केला भन्ने मनसायले मैले कापी साटेर लेखिदिएको हुँ । मेरो माविमा नाम निस्कने भए मैले सायद यस्तो गल्ती गर्दिनथे ।’

उनले आफूले श्रीमतीको नामबाट परीक्षा दिएको नभई उत्तरपुस्तिका मात्रै साटफेर गरेकाले भ्रष्टाचार भएको भनी आरोप नै लगाईहाल्न नहुने तर्क गरेका थिए ।

उनीहरुले आफ्नो प्रतिस्पर्धा गर्ने उमेर जान लागेको अनि दुवैजनाको स्थायी जागीर नहुदा बालबच्चाको बिचल्ली पर्ने महसुस गरेर त्यस्तो काम गरेको स्वीकारेका छन् । मनकलाले पनि बयानमा त्यही भनेकी छन् ।

‘श्रीमानले खुल्लामा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नाम निस्कने सम्भावना नरहेको’ उनले भनेकी छन्, ‘म महिला भएकोले आरक्षणमा नाम निकाल्न सक्ने ठानी एकजनाको भएपनि जागीर भए बालबच्चा पाल्न सकिन्छ भनी उत्तरपुस्तिका साटासाट गरिएको हो । परीक्षामा नाम निस्केपछि कसैले मेरो भाग्यमाथि कठोर बज्र प्रहार गरिदियो ।’

उनले आफूमाथि भ्रष्टाचार निवारण ऐन अनुसार नभई शिक्षक सेवा आयोग नियमावली अनुसार सामान्य कारवाही होस् भनी अनुरोध गरेकी थिइन् ।

घटनाको अनुसन्धान गरेको अख्तियारले शिक्षक सेवा आयोगलाई चिठी लेख्यो । आयोगले प्रारम्भिक अध्ययनमा नै परीक्षा केन्द्रभित्र मिलेमतोबाट यो काम भएको निचोड निकाल्यो । सुर्खेतको आदर्शराज मेमोरियल स्कूलको केन्द्राध्यक्षलाई अख्तियारले बयान लियो । उनले केन्द्राध्यक्ष र निरीक्षकले दस्तखत गर्ने समयसम्म उत्तरपुस्तिका साटासाट नगरेको दावी गरे ।

‘नामको वर्णानुक्रम अनुसार सिटप्लान गरिएको र रोल नं. सिटप्लान अनुसार एकै ठाउँमा नजिकै परेकाले झुक्याएर त्यस्तो काम गर्न सफल भएको हुनसक्छ’ बयानमा केन्द्राध्यक्षले भनेका छन्, ‘दस्तखत गर्ने समयसम्म उत्तरपुस्तिकामा गडबड गरेको पाइएको थिएन । पछि परीक्षा निरिक्षकहरुलाई झुक्याएको हुनसक्छ ।’

कसरी खुल्यो रहस्य ?

उजुरी परेपछि अख्तियारले छानबिनका लागि पत्र लेख्यो । शिक्षक सेवा आयोगले उत्तरपुस्तिकाको कोड डिकोड अध्ययन गर्दा मनकला आचार्य (चौलागाई) को वस्तुगत खण्ड र एउटा विषयगत खण्डको उत्तर पुस्तिकामा दस्तखत भएको तर अर्को विषयगत खण्डमा दस्तखत नगरिएको भेटियो ।

मनिलाल आचार्यको वस्तुगत खण्डको उत्तरपुस्तिकामा दस्तखत भएको तर विषयगत खण्डको दुबै उत्तरपुस्तिकामा दस्तखत नभएको भेटियो । उत्तरपुस्तिकाको दस्तखत एवं उत्तरपुस्तिकाको नम्बर छानबिन गर्दा परीक्षा केन्द्रको हाजिरी फारममा मनकला आचार्यको प्राथमिक तहको ‘ख’ खण्डको उत्तरपुस्तिका नम्बर लेखेर केरमेट गरेको भेटियो । आयोगले पनि परीक्षामा दुवैजनाले अनियमिता गरेको भनी प्रतिवेदन (पुछारमा हेर्नुहोस्) दियो ।

अख्तियारले त्यसपछि थप छानविन गर्‍यो अनि अनुसन्धानका लागि उत्तरपुस्तिका परिक्षणका क्रममा अर्को उपाय पनि अपनायो । मनिलाल आचार्यले प्राविको परीक्षा दिएको तीन दिनपछि १६ असोज २०७५ मा कञ्चनपुर पुगेर माविको सामाजिक विषयको पनि परीक्षा दिएका थिए र उतीर्ण पनि भएका थिए । अख्तियारले त्यो उत्तरपुस्तिका मगायो अनि मनिलाल र मनकलाको उत्तरपुस्तिकामा लेखिएको अक्षर भिडाउने प्रयास गर्‍यो । अख्तियारले उत्तरपुस्तिका परीक्षण गर्न २९ भदौ २०७७ मा विधि विज्ञान प्रयोगशाला खुमलटार पठायो ।

विधिविज्ञान प्रयोगशालाले उत्तरपुस्तिकामा हस्तलिपीहरु यथार्थ नभएको पुष्टि हुने प्रतिवेदन दियो । छानबिन गर्दा मनिलाल आचार्यको माध्यमिक तहको सामाजिक विषयको उत्तरपुस्तिकाको हस्तलिपीसँग उनले पत्नीसँगै परीक्षाकोठामा बसेर प्राविका लागि दिएको उत्तरपुस्तिकाको ‘ख’ र ‘ग’ को हस्तलिपी मिलेन । किनभने त्यो उत्तरपुस्तिकामा उनले नभई श्रीमती मनकलाले उत्तर लेखेकी थिइन् ।

मनिलालको सामाजिक विषयको उत्तरपुस्तिकाको हस्तलिपीसँग मनकलाको प्राविको उत्तरपुस्तिकाको ‘ख’ र ‘ग’ खण्डको हस्तलिपी मिल्यो । किनभने मनिलालले नै श्रीमती मनकलाको नामको कापीमा आफैंले उत्तर लेखेका थिए । प्रावि तहमा पहिलो खण्डमा वस्तुगत उत्तर लेखेपछि मात्रै खण्ड ‘ख’ र ‘ग’ का लागि विषयगत उत्तर लेख्न उत्तरपुस्तिका दिइएको थियो ।

पहिलोमा यथार्थ रुपमा नै उत्तर लेखेका उनीहरुले विषयगत उत्तर लेख्ने क्रममा रोलनम्बर साटफेर गरेको खुल्यो । अनि मनकलाले अन्तर्वार्तामा पेश गरेको नागरिकताको प्रमाणपत्र परीक्षण गर्दा दुवैजना पतिपत्नी रहेको पुष्टि भयो ।

अख्तियारले मनिलाल र मनकला दुवै उत्तरपुस्तिकामा एक अर्काको रोल नम्बर लेखेर चलखेल गर्न संलग्न भएको निष्कर्ष निकाल्यो । मनिलालले श्रीमतीलाई पास गराएको निचोडमा अख्तियार पुग्यो । अनि बर्दियाको राजापुर नगरपालिकामा मनकलाले लिएको पारिश्रमिक र सुविधाबारेको जानकारी माग्यो ।

राजापुर नगरपालिकाले ५ मंसिर २०७६ देखि हालसम्म मनकलाले तलबभत्ता लगायत ६ लाख ७४ हजार ५११ रुपैंया पारिश्रमिक लिएको भनी जवाफ दियो । अख्तियारले त्यही रकमलाई विगो मानी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । अनि भ्रष्टाचार निवारण ऐन अनुसार एकदेखि तीन महिना कैद सजाय र १० हजार जरिवाना पनि मागदावी गरेको छ ।

‘आ–आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी परिक्षा दिनुपर्नेमा झुठा विवरण उल्लेख गरी एकअर्काको नामवाट परीक्षा दिई सार्वजनिक पदमा नियुक्ति लिई भ्रष्टाचारजन्य वारदात पुष्टि हुन आयो’ अख्तियारको आरोप पत्रमा भनिएको छ, ‘एक अर्काको नामबाट परीक्षा दिई सार्वजनिक पदमा नियुक्ति लिने काम गरेको र त्यस्तो काम भ्रष्टाचारजन्य कसुर भएको स–प्रमाण पुष्टि हुन आएकाले सजायको मागदावी लिइएको छ ।’

अख्तियारले दुवैलाई प्रतिवादी बनाएकाले दुवैजना शिक्षक पदबाट निलम्बित भएका छन् । उनी सोही विद्यालयमा सञ्चालित अमर शहीद बहमुखी क्याम्पसमा अध्यापनसमेत गर्छन् ।

यो आरोपपत्र पुष्टि भएमा पत्नी मनकला शिक्षक पदबाट बर्खास्त हुने त करिव निश्चित छ । तर प्रतिस्पर्धामा नाम निकालेर सामाजिक विषयको माध्यमिक तहको शिक्षकमा नियुक्त भएका मनिलालले पनि आफ्नो जागिर जोखिममा पारेका छन् । किनभने भ्रष्टाचार गरेको पुष्टि भएमा सार्वजनिक पदमा रहेका व्यक्तिहरु जागीरबाट बर्खास्त हुन्छन् ।अनलाइनखबरबाट साभार

उत्तरपुस्तिका साटासाटको विषयमा अख्तियारले पत्र पठाएपछि शिक्षक सेवा आयोगले गठन गरेको टोलीले पेश गरेको प्रतिवेदनको नमुना हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय