शेखर कोइराला भन्छन्- कांग्रेस सुधार्ने जिम्मा मेरो काँधमा आएको छ
शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

काठमाडौं, पुस २। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो  काँधमा आएको बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने प्रण पनि गरेका छन् ।

डा. कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।’

पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत आफूलाई प्राप्त भएको भन्दै कोइरालाले आफू र आफ्नो टिम पार्टीलाई परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृह हुने बताएका छन् ।

सभापति पदमा पराजित भए पनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न आफू सफल भएको कोइरालाको भनाइ छ । उनले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भए पनि राजनीतिक रुपमा लडाइँ जितेको कोइरालाले उल्लेख गरेका छन् ।

‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं, भरोसा र विश्वासको वृद्धि गराएका छौं,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं ।’अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर