ओमिक्रोनको त्रासका बीच नेदरल्याण्डमा अहिलेसम्मकै कडा लकडाउनको घोषणा

एजेन्सी, पुस ४ / नेदरल्याण्डले ओमिक्रोनको त्रासका बीच क्रिसमसमा कडा लकडाउनको घोषणा गरेको छ । अति आवश्यकमा नपरेका पसल, बार, जिम, हेरयड्रेसर र अन्य सार्वजनिक संस्था जनवरीको मध्यसम्म बन्द हुनेछन् । चार दिनको बिदामा प्रत्येक घरमा दुईजना व्यक्तिलाई पाहुना लाग्न अनुमति दिइने छ ।

प्रधानमन्त्री मार्क रुथले यी उपायहरु अपरिहार्य भएको बताए । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट अत्यधिक रुपमा फैलिन सुरु भएपछि युरोपेली देशले प्रतिबन्धलाई कडा पारेका छन् ।

हालसम्मकै सबैभन्दा कडा मानिएको नेदरल्याण्डको नयाँ नियम आइतबारदेखि लागू हुनेछ । ‘म आज यहाँ निकै उदास मूडमा उभिइरहेको छु, मलाई हेरिरहेका धेरै मानिसले पनि यस्तै महसुस गर्नेछन्,’ रुथले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने । ‘यसलाई एक शब्दमा भन्नुपर्दा, नेदरल्याण्डमा भोलिदेखि लकडाउन लागू गरिनेछ ।’

नयाँ नियम अनुसार मानिसलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरिएको छ । १३ वर्ष र सोभन्दा माथिका दुई जनालाई आफन्तकोमा जान अनुमति दिइनेछ । यस्तै २४ र २६ डिसेम्बर र नयाँ वर्षको पूर्व सन्ध्या र नयाँ वर्षको दिनमा चारजना व्यक्ति आफन्तको घरमा जान पाउनेछन् ।

अन्तिम संस्कार, ग्रोसरी बेच्न साप्ताहिक रुपमा लाग्ने बजार र दर्शक बिनाका व्यावसायिक खेल प्रतियोगिताबाहेक अन्य कार्यक्रमका लागि अनुमति दिइने छैन । जनवरी ९ सम्म सबै स्कूल बन्द हुनेछन् भने लकडाउनका अन्य प्रतिबन्ध १४ जनवरीसम्म लागू हुनेछ ।

रेष्टुरेन्ट टेकअवे सेवाका लागि खुल्ला रहन सक्नेछ र अति आवश्यकतामा नपरेका पसलले ‘क्लिक एण्ड कलेक्ट’ को अफर प्रदान गर्न सक्नेछन् । ‘मैले अब नेदरल्याण्डको सुस्केरा पूर्ण रुपमा सुन्न सक्छु । यो समय क्रिसमसको ठ्याक्कै एक हप्ता अघिको हो । यो यस्तो क्रिसमस हो जुन हामीलाई मनपर्ने भन्दा ठिक विपरित छ,’ रुथले भने ।

उनले थपे, ‘तर यसो नगरिएको खण्डमा अस्पतालमा अव्यवस्थित स्थिति निम्तिन सक्छ ।’ केही हप्तासम्म नेदरल्याण्डका हस्पिट्यालिटी एण्ड कल्चरल भेन्यूमा कर्फ्यू नै लगाइएको थियो ।

डच नेशनल इन्स्टिच्यूट फर पब्लिक हेल्थले कोरोना महामारी सुरु भएदेखि यहाँ २९ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको र २० हजार बढीको मृत्यु भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर