भारतीय पक्षको दादागिरी ः रकम असुलेर नेपाली महिलामाथि निर्घात कुटपिट
मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस १३ ÷ रकम तिरेर घाँस दाउरा गर्न गएका नेपाली महिलाहरुलाई भारतीय पक्षका वन रक्षक प्रबेश कुमारले सोमबार दिउँसो निर्घात कुटपिट गरेका छन् । गुलरिया नगरपालिका–९ गोडियानपुरका पाँच जना महिलालाई भारतीय पक्षका वन रक्षकले निर्घात कुटपिट गरेका हुन् । पाँच जना मध्य तीन जनाको अबस्था सामान्य छ । भारतीय पक्षद्वारा कुटपिटमा परेका पाँच जना नेपाली महिला रहेका छन् । कुटपिटमा परेकी वनदेवी गोडिया र मुन्नी गोडिया घाईते भएका छन् । मुर्तिहा रेन्ज पोष्ट अन्र्तगत टेपरी बिट नम्बर १९ मा कार्यरत वन रक्षक प्रवेश कुमारले कुटपिट गरेको पिडित परिवारको आरोप छ ।

प्रवेशले नेपाली नागरिकसंग रकम असुल्ने गर्छन् र भारतीय जंगलका ठुला अधिकारी अनुगमनमा आउँदा उनीहरुको अगाडि आफैले कुटपिट गर्ने गरेको पिडित परिवारले बताए ।

भारतीय पक्षका वन रक्षक प्रवेशले सोमबार दिउँसो कुटपिट गरी दुवै जनालाई नियन्त्रणमा लिई जनही पाँच हजार रकम माग गरेको पिडित मुन्नी गोडियाले बताईन् ।

‘घरमा खबर पठाउँदा घरमा पनि रुपियाँ थिएन’ पिडित गोडियाले भनिन्,‘पाँच हजार मागेका थिए । आफन्तले गाउँमा सरसापट्टी गरी ल्याई जनही दुई हजारका दरले बुझाउँदा मात्र हामीलाई छोड्यो ।’ दुई जनाको सामान्य औषधि उपचार पछि भारतको चितलहवामा उपचार हुदैछ ।

गोडियानपुर गाउँ नेपाल भारतको सिमावर्तीमा पर्ने गाउँ हो । नेपाल तर्फ नजिकमा सामुदायिक वन नहुँदा भारतीय जंगलमा घाँस दाउराका लागि जानुपर्ने बाध्यता छ । सिमावर्ती गाउँ भएकै कारण भारतीय पक्षका नागरिक पनि आउँजाउँ गर्छन् । बाध्यताबस घाँस दाउरा गर्न भारतीय जंगल जाँदा नेपालीहरुलाई दुव्र्यवहार हुने गरेको छ ।

स्थानीयका अनुसार प्रतिव्यक्तिले १ हजारका दरले रकम बुझाउँदा मात्र जंगल जान पाउँछन् । मोटो रकम असुलेर पनि भारतीय जंगलका वन रक्षकले कुटपिट गर्ने गरेको स्थानीयले बताउँछन् । स्थानीयका अनुसार भारतीय जंगलबाट घाँस दाउरा ल्याउनलाई रकम तिर्नुका साथै दिनभरी मजदुरी गर्नुपर्छ । दिनभरी भारतीय जंगलका वन रक्षकले भने अनुसारको बाटोको छेउ सरसफाई गर्ने र पटान गर्ने काम गरेर घाँस दाउरा ल्याउनु पर्ने बाध्यता रहेको छ । रकम तिर्दा र काम गर्दा पनि पटक पटक भारतीय पक्षले नेपाल सिमावर्ती गाउँका नागरिक माथि निर्घात कुटपिट गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय