चौतारी झल्काउने सहायता कक्ष
मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित

बर्दिया, पुस १३ (फरकसमाचार) / सात महिना अघि सरुवा भएर जिल्ला आएका प्रहरी उपरीक्षक ईश्वर कार्की एकाबिहानै गुलरिया बजार घुम्छन् । सडक विस्तारसँगै ठूल्ठूला घर निर्माण भएको देखिन्छ । न बस्ने चौतारी छ त न बिसाउने बिसौनी । सुरक्षा जिम्मेवारी लिएर जिल्ला आएका उनले मनमा आफ्नो जिम्मेवारी भन्दा माथि उठेर कल्पना गर्छन्, ‘एउटा रुख वा चौतारी भएको भए कस्तो हुनथ्यो होला ।’

उनको मनमा साँझा चौतारी वा बिसौनी बनाउने योजना बुनिँदै थियो । सोही अनुसार उनले अर्काे दिन यहाँका ज्येष्ठ नागरिकसँग छलफल गरे । तर, पहिला चौतारी थियो । जिल्ला प्रहरी कार्यालयको संरचना निर्माण गर्दा मासिएको प्रतिक्रिया पाएपछि उनले त्यसको सट्टा गन्तव्यमा हिँडेका नागरिकलाई बिसौनी बनाउन नागरिक सहायता कक्ष निर्माण गर्ने सोच बनाए र, सोहीअनुसार कामलाई तिव्रता दिए ।

अहिले एसपी कार्कीको पहलमा जिल्ला प्रहरी कार्यालयको हाताभित्र सहायता कक्ष निर्माण भएको छ । यसले यहाँका ज्येष्ठ नागरिक तथा अन्यलाई बिसौनीका लागि सहज भएको छ । उक्त सहायता कक्षमा पत्रपत्रिका, टेलिभिजनलगायत सामग्री राखिएको छ । एसपी कार्कीले गुलरिया नगरपालिका–६ को आर्थिक सहयोगमा सुबिधा सम्पन्न भवनलाई चौतारोको रुपमा निर्माण गरेका हुन् ।

नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनार, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, गुलरिया नगरपालिका–६ का वडाध्यक्ष निरज शर्माको उपस्थितिमा प्रमुख अतिथि, विशिष्ट अतिथिबाट संयुक्त रुपमा सुविधा सम्पन्न सहायता कक्षको भवन उद्घाटन भएर सञ्चालनमा आएको छ ।

एसपी कार्कीको नविनतम् योजनाअनुरुप छोटो समयमा सुविधा सम्पन्न सहायता कक्ष निर्माण भएको प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले बताए । जिल्लाको जेठो नगरपालिका गुलरियामा पुर्खाहरुको साक्षीको रुपमा पुस्तकालयसहित सहायता कक्षको निर्माण गर्दा बर्दियावासी बीचमा आत्मिय भावना साटेको उनले अनुभव सुनाए ।

विगत बसाइँ सम्झने गरी बस बिसौनी बस्ने अग्रजका लागि गफ गर्ने थलो, टिभी, पुस्तक वा पत्रपत्रिका पढेर ज्ञान साट्ने गरी, फ्रि वाइफाइ र प्रहरीको सेवा लिन दुःख पाउने अवस्थालाई चिर्न यस भवन प्रयोगमा ल्याउन जरुरी रहेको एसपी कार्कीको ठहर छ । वडा कार्यालयको १६ लाख ६८ हजार ६ सय ९० रूपैयाँको लागतमा तयार भएको सहायता कक्षको भवन सुविधा सम्पन्न छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय