वर्तमान सन्दर्भमा राष्ट्रिय एकता मेलमिलाप

विद्याप्रसाद खनाल
नेता नेपाली काँग्रेस बर्दिया ।

आजभन्दा ४५ वर्ष अघि आजैका दिन अर्थात २०३३ साल पौष १६ गते भारतमा ८ वर्ष लामो निर्वासित जीवनलाई त्यागी जननायक विश्वेश्वर प्रसाद कोइराला आफ्ना सहयात्री साथीहरुका साथ स्वदेश फर्किनु भएको थियो । स्वदेश फर्किदा वहाँले देशवासीको नाममा “राष्ट्रिय एकता तथा मेलमिलाप” को पक्षमा लाग्न अपील गर्नु भएको थियो । करिब ५८३ शब्दमा देशवासीका नाममा गरिएको उक्त अपील नेपाल काँग्रेसको जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा स्थापित रहेको छ ।

त्यो बेला नेपाली काँग्रेस प्रजातन्त्र पुनस्र्थापनाको कठिन संघर्षमा थियो । २०१७ साल पौष १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डललाई राजा महेन्द्रले बलात विघटन गरी देशको सम्पूर्ण बागडोर आफ्नो हातमा लिएका थिए । राजनैतिक दलहरुलाई प्रतिबन्ध लगाइएको थियो, नागरिकका मौलिक अधिकार माथि प्रतिबन्ध लगाइएको थियो, प्रजातन्त्रिक समाजवादका प्रणेता लोकप्रिय प्रधानमन्त्री वि.पि.कोइराला, नेपाली काँग्रेसका शीर्ष नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, महेन्द्रनारायण निधी योगेन्द्रमान शेरचन, गिरिजाप्रसाद कोइराला लगायतका नेतालाई जेल हालिएको थिया ।

वि.सं. २०१७ पौष १ गते नेपाल तरुण दलको थापाथलीमा भईरहेको राष्ट्रिय सम्मेलनबाट गिरफ्तार हुनु भएका, वि.वि. कोइराला, गणेशमान सिंह ८ वर्ष पछि २०२५ सालमा जेलमुक्त हुनु भएको थियो । वहाँहरुलाई देशमा बस्न सक्ने राजनैतिक वातावरण थिएन, बाध्य भै भारतको बनारसमा गै निर्वासित जीवन बिताउनु भएको थियो ।

नेपाली काँग्रेसले प्रजातन्त्रको पुनस्र्थापनाका लागि शान्तिपूर्ण र सशस्त्र दुवै ढंगबाट संघर्ष गरेको थियो । नेपाली काँग्रेसको आन्दोलनलाई दबाउनका लागि पञ्चायती व्यवस्थाले कुनै कसर बाँकी राखेको थिएन, प्रतिगामी सरकारको ध्येय वि.पि.को तेजोबध गर्न सकियो भने प्रजातान्त्रिक आन्दोलनलाई दबाउन सकिन्छ भन्ने थियो । त्यसैले ८ वर्ष जेलजीवन बिताई त्यसपछि भारतमा निर्वासित जीवन विताई रहेका वि.पि.कोइरालालाई ७।७ वटा राजकाज, हातहतियार र राज्य विप्लवको मुद्दा लगाएको थियो ।

वि.पि. प्रवासमा रहेको त्यही बेलामा साना साना राष्ट्रहरुको अस्तित्व संकटमा परिरहेको थियो । चीन र भारतका बीच विवाद चरम उत्कर्षमा थियो, सिक्किम जस्तो सानो पहाडी राष्ट्रलाई इन्दिरा गान्धीले बलपूर्वक भारतमा गाभेकी थिइन । नेपालको राष्ट्रियता माथि पनि कालो बादल मडारिएको थियो । हुन त २०१७ सालमा प्रजातान्त्रिक सरकारलाई राजा महेन्द्रले अपदस्थ गर्दा सरकार विदेशीको इशारामा नाचेको, राष्ट्रियता संरक्षण गर्न नसकेको आक्षेप राजा महेन्द्रले लगाएको थिए र राष्ट्रियताको चर्काे वकालत गर्दै राजाले शासनको सम्पूर्ण बागडोर आफ्नो हातमा लिएका थिए । राज्यसत्ता हत्याएको १६ वर्षको त्यो अवधिमा नेपालको राष्ट्रियता नारा नारामा मात्र सीमित थियो तर देशमा राष्ट्रिय संकट अझ गहिरिदै थियो ।

तत्कालीन समयमा देशमा मुख्य रुपमा दुईवटा राजनैतिक शक्ति भूमिकामा थिए, एक थियो राजाले नेतृत्व गरेको पञ्चायती व्यवस्था र अर्काे थियो नेपाली जनताको नेतृत्व गर्ने नेपाली काँग्रेस यी दुवै शक्तिबीच ठूलो टकराव थियो, एक सत्तामा थियो भने अर्काे जेल, सडक अनि निर्वासनमा थियो । यसका मुख्य नेता वि.पि. कोइराला भारतमा निर्वासित जीवन बिताइरहेको अवस्थामा वहाँ माथि राजाले नेतृत्व गरेको पञ्चायती व्यवस्थाले कुनै एक मुद्दामा हारेको अवस्थामा पनि फाँसीको सजाय हुन सक्ने ७।७ वटा मुद्दा नेपालमा लगाएको थियो ।

यस्तो विषम परिस्थितिमा पनि आफू माथि लागेको मुद्दाको कुनै प्रवाह नगरी नेपालमा देखिएको राष्ट्रिय संकटको सामना नेपालमा रहेका शक्तिहरु बीच एकताबाट मात्र सम्भव छ भन्ने ठानी वहाँले आफूमाथिको सम्भावित खतरालाई नजरअन्दाज गर्दै नेपाल फर्किने निर्णय गर्नुभयो । वि.स. २०३३ पौष १६ मा स्वदेश फर्किने क्रममा देशवासीलाई राष्ट्रिय एकताको सुत्रमा बाँधिनका लागि गर्नु भएको अपील नेपालको राजनीतिमा एक ऐतिहासिक दस्तावेजको रुपमा रहेको छ । वि.पि.कोइरालाको उक्त अपील देश भक्ति भावनाले ओतप्रोत छ । वहाँले देशबासीको नाउँमा उक्त अपीलमा भन्नुभएको छ, “हाम्रो देश आज राष्ट्रिय संकटमा छ, यता केही वर्षदेखि यो सकंट चर्कदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ।”

वि.पि.का अनुसार, “हाम्रो विचारमा अस्तित्वको संकट आइपर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो, राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ । कोरा नाराले मात्र हुने भए बितेका १६ वर्षमा राष्ट्रिय एकता त्यो यसरी छिन्न भिन्न भएर देशले यस्तो सोचनीय स्थितिमा पुग्नु पर्ने थिएन ।” नेपाली काँग्रेस र यस पार्टीका निष्ठावान कार्यकर्ताका हकमा वि.पि.ले नेपाली जनतालाई सम्बोधन गर्दै भन्नु भएको छ, “हिजो सम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ ।

आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली काँग्रेसलाई आज दोहोरो जिम्मेवारी आइ परेको छ त्यो दोस्रो जिम्मेवारी हो ‘देशको अस्तित्वको रक्षा गर्ने’ । प्रजातन्त्रको प्राप्ती र राष्ट्रको रक्षा गर्ने दुवै जिम्मेवारी नेपालीले लिनु परेको छ । “……..यदि हामीले प्रजातन्त्र प्राप्तीमा मात्र जोड दियौँ भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहदैँन । ……..हामीले केवल राष्ट्रियता मात्र चर्चा ग¥यौँ भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ र अधिनायकवादको पक्षधर हुन्छौँ ।”

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र उपर निर्मम एवं सांघातिक प्रहर गरेपछि नेपाली काँग्रेसले प्रजातन्त्रको पक्षमा मात्र संघर्ष ग¥यो त्यसैलाई मध्यनजर राख्दै वि.पि.ले भन्नु भयो “हिजो सम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो, त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ र आज देशका उपरको खतरा बुझेर हामीले यो अर्काे ऐतिहासिक निर्णय लिएका छौँ जुन निर्णय नेपाली काँग्रेसको परम्परा अनुरुप छ । नेपालको सार्वभौमिकता, स्वाधीनता, नेपाली जनताको सर्वाेच्चता प्रति प्रतिबद्ध देशभक्त जननायक वि.पि. कोइरालाले नेपाली जनतालाई सम्बोधन गर्दै उक्त सम्बोधनमा भन्नु भएको छ “प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ ।

हामीलाई लाग्छ आज नेपालमा त्यस्तो घडी आएको छ। हाम्रा शुभचिन्तकहरुले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरुलाई हाम्रो यो भन्नु छ कि हामी माथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामु नगण्य भन्ठानेर नै हामीले यो ऐतिहासिक निर्णय लिएका छौँ ।

यस राष्ट्रिय संकटका घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ र राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ । मलाई थाहा छैन देश भित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु म नेपाली काँग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी एकमत भएर लागौँ ।”

वि.पि. कोइरालाको यो कालजयी अपील नेपाली काँग्रसको मार्ग दर्शक सिद्धान्तको रुपमा रहेको छ । वि.पि.को यही दर्शनका आधारमा नेपाली काँग्रसले राष्ट्रको आवश्यकता अनुसार राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गर्दै आएको छ । २०४६ सालको ऐतिहासिक जनआन्दोलन होस् वा दोस्रो जनआन्दोलन २०६२।०६३ को सफलता संविधान सभाको निर्वाचन र संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ नेपाली काँग्रेसले अवलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका कारण सम्भव भएको छ।

राष्ट्रियता, लोकतन्त्र , समाजवाद सिद्धान्तका प्रणेता तथा राष्ट्रिय एकता तथा मेलमिलाप नीतिका व्याख्याकार श्रद्धेय वि.पि. कोइराला अमर रहून्, जय नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर