‘मन्त्री हेलिकप्टरमा आए तर राहत आएन’
सोमबार, पुष १९, २०७८ मा प्रकाशित

कैलाली, पुस १९ (फरकसमाचार) / मेरो नाम विष्णुदेवी चौधरी हो । मेरो घर कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ भुइयाँफाटा टोल हो । म ४५ वर्षकी भएँ । ३१ असोज २०७८ मा एक्कासी आएको वर्षा र बाढीले मेरो ६ बिघा खेतमा लगाएको धान सखाप पार्‍यो । हामीले काटेर सुकाएको बेला धान भित्र्याउन नपाउँदै बाढीले बगायो ।

त्यो धान नै हाम्रो सबैथोक थियो । त्यति दुःख गरेर लगाएको धान बाढीले बगाएपछि ३५ जनाको हाम्रो ठूलो परिवार वर्षभरि के खाने भनेर चिन्तामा छौं । हाम्रो कमाइ भनेकै त्यही धान हो । त्यसैले खान, लाउन र अरू खर्च पुर्‍याउनुपर्छ ।

खेतको सबै धान भित्र्याउन पाएको भए २२० क्वीन्टल जति हुन्थ्यो । एक बिघामा मात्रै धान लगाउन रु.२५ हजार खर्च लागेको हुन्छ । दुःख गरेर लगाएको धान भित्र्याउने मुखैमा बाढीले बगाएपछि खेती गर्न लागेको खर्च त खेर गयो नै अब वर्षभरि के खाने भन्ने समस्याले पनि हामीलाई पिरोलेको छ ।

हाम्रो ठूलो सगोलको परिवार छ । धान बेचेर बालबालिका पढाउने र अरू घरमा चाहिने खर्च टार्ने काम हुँदै आएको थियो । अब त्यो छैन वर्षभरि हामी कसरी चल्ने भन्ने चिन्ता पो थपियो । कतिसम्म भने यो वर्ष त रोटी खानका लागि गहुँ लगाउन, बीउ र मल किन्न समेत पैसा छैन ।

बाढीले हाम्रो मात्रै होइन यो टोलको सबैको हालत बिगारेको छ । नभए हुनेले नहुनेलाई दिएर पनि खाँचो टथ्र्यो होला । अब हामी कसैले कसैलाई सहयोग गर्न सक्ने अवस्था छैन । हाम्रो त गाउँमै हाहाकार हुने भयो ।

बाढी आएपछि हेलिकप्टर चढेर मन्त्रीज्यू हाम्रै गाउँमा आउनुभएको थियो । त्यो हेलिकप्टर हाम्रै टोलमा बसेको थियो । मन्त्रीजीले हामीलाई राहत दिने र सहयोग पठाउने भन्नुभएको थियो । तर बाढी गएको र उहाँ यहाँ आउनुभएको तीन महीना बितिसक्यो हामीले केही पाएनौं । हामीलाई कसैले केही दिएको छैन । सरकारले सहयोग गर्ने भनेर धेरै हल्ला गर्‍यो । तर दिने बेलामा केही पनि दिएन ।

गाउँपालिकाले अलिकति सहयोग गरे पनि अरू कसैले केही दिएको छैन । हामीलाई दिन्छु भनेर पनि किन नदिएको हामीले बुझेका छैनौं । अब घरमा धान नभएपछि के बेचेर बच्चा पढाउने, लुगाफाटो किन्ने, घर खर्च चलाउने भन्ने चिन्ताले श्रीमान् त काम खोज्न भारत गइसक्नुभएको छ ।

के गर्नु नपढाएपछि बच्चाको जिन्दगी बिग्रन्छ । अहिलेसम्म त माटोको भकारीमा अघिल्लो वर्ष राखेको धान थियो र त्यो खाइरहेका छौं । अब के खाने भन्ने चिन्ता छ । फेरि जहान यति ठूलो छ ।

सरकार हामी जस्ता किसानसँग किन झूटो बोल्छ ? जनतालाई सेक्ने मात्रै काम किन गर्छ ? सरकार कसको होला । हामीले आन्दोलन गर्नुपर्ने हो कि ! राहत दिने भनेर फारम भर्न लगायो । पछि नागरिकता नम्बर पनि माग्यो । फारम श्रीमान्को नाममा बुझाएका थियौं । जग्गा ससुराको नाममा छ । श्रीमान् भारतमा मजदूरी गर्न जानुभएको छ । अब अहिले आएर श्रीमान्को बैंकको खाता खुलाउनुपर्छ भन्छ । भारतमा काम गर्न जानुभएका श्रीमान्को खाता मैले यहाँ कसरी लेखाउने ? खालि नहुने काम मात्रै गर्ने !

अब हामीले भारतमा भएका श्रीमान् अहिले यहाँ कसरी ल्याउनू ? श्रीमान् नभई खाता खोल्न मिल्दैन ? यहाँका सबै मान्छेहरू अब सरकारको सहयोग आउँछ भनेर बसेका छौं । हाम्रो त फारम नभएकोले राहत पनि आउँदैन होला ।

अरू त के होला र खै तर सरकारले दिएको पैसाले रोटी खानका लागि गहुँ किन्न त पुग्छ कि भन्ने लागेको थियो । यो त हामीले केटाकेटीलाई स्कूल पठाउन फकाएको जस्तै सरकारले हामीलाई फकाएको मात्रै हो जस्तो लाग्यो । आउने वर्षको धान फल्ने बेलासम्म कसरी बाँच्ने हो भन्ने चिन्तामा छौं हामी ।साभार अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय