जसले वास्तवमा कृषि क्रान्ति गर्दैछन्

राम प्रसाद चौहान
बर्दिया, पुस २९ /मधुवन नगरपालिका–४ का युवा उद्यमी सुरेश पन्थले कृषिमा आर्थिक लगानी गरि कृषिलाई व्यवसायिक रुपमा बढावा दिने गरी कृषि खेती सुरु गरेका छन् । पन्थले आधुनिक तरिकाले कृषि व्यवसाय सुरु गरि युवाहरुलाई कृषि तर्फ आकर्षण गर्ने महोल सिर्जना गर्दैछन् । पन्थको कृषि क्षेत्रमा रहेको योगदानले जिल्ला नै कृषिका लागि रिर्सच सेन्टर बन्ने विश्वास स्थानीयले लिएका छन् ।

यूवा पुस्ता बैदेशिक रोजगारीको लागि पलायन भईरहेका बेला कृषि क्षेत्रलाई विस्तार गर्दै नमुना कृषि फर्मको लागि गुलरिया स्थित कृषि फर्ममा काम अघि बढेको छ ।

नयाँ प्रोजेक्ट नेपाल एग्रो फरेष्ट्री एन्ड रिसोर्स प्राली स्थापना गरी २१ बिघामा कृषि कर्म गर्न पन्थले काम अघि बढाएका छन् । गुलरिया नगरपालिका वडा नं. ३ मा रहेको बाजो जमिनमा कृषि कर्मका लागि पन्थको रोजाईमा परेको छ । पहिलो चरणमा सुन कागति, वाटर मेलन (तरभुजा) विरुवा धमाधम रोप्ने कार्य भईरहेको छ भने, कडक नाथ कुखुराको व्यबसायीक पालन र पाडा पाल्नका लागि उक्त फर्ममा काम सुरु भईसकेको छ ।

कृषि क्रान्ति भन्दै भाषण गर्ने नेता धेरै भेटिएपनि बर्दियाको मधुवन र गुलरियामा गरी करिब ३० विघा जमिनमा कृषि कर्ममा आट गर्ने पन्थ एक्ला व्यक्ति हुन् । उनले देशको भबिष्य नै कृषिमा देख्छन् । उक्त फर्म करिब एक किलोमिटर लामो घोलमा माछा पालनको लागि तयारी समेत भईरहेको छ । माछा पाल्ने र एग्रो टुरिज्मका आर्कषण गर्ने फर्मले लक्ष्य लिएको छ । आन्तरिक र बाह्रय पर्यटकलाई आर्कषण गर्न लक्ष्य लिएर बोटिङ समेत प्रबन्ध गर्ने तयारीले वास्तवमै उजाड पाखो हरियालि बन्दैछ ।

कृषि पेशामा लाग्नेको संख्यामा गिरावट आउँदै गरेको अवस्थामा तीन बर्ष अघि देखि पन्थले आधुनिक तरिकाले कृषिमा हात हालेका छन् । कृषि पेशाले युवा पुस्तालाई सन्देश दिने उदेश्यले कृषि पेशामा हात हालेको युवा उद्यमी पन्थले बताए । ‘विषेश गरी युवा जनशक्ति विदेशीने क्रम जारी छ’ पन्थले भने,‘युवा जनशक्तिले स्वदेशमै कृषि क्षेत्रमा लाग्नु पर्छ भन्ने उदेश्य हो ।’

युवा जनशक्ति विदेश नगएर कृषि क्षेत्रमा मेहनत गर्दा राम्रो मुनाफा हुने उनको बुझाई छ । कृषि क्षेत्रमा युवा जनशक्तिलाई आकर्षण बढाउन पन्थले मधुवन र गुलरियामा आधुनिक तरिकाले कृषि गरिरहेका छन् । मधुवनमा ५ बिघा र गुलरिया नगरपालिका–३ मा ५ बिघा गरि १० बिगाहामा सुन कागतीको खेती गरेका छन् । नेपालमा सुन कागतीको माग बढी रहेको आफुले कागती खेतीमा लागेको उनले सुनाए ।

बाँकी १५ बिघा जमिन कुखुरा र पाडाको व्यबसायीक उत्पादनका धमाधम संरचना बनिरहेको छ । आधुनिक तरिकाले खेती गर्दा कम जनशक्ति लाग्ने पन्थको भनाई छ । पन्थले लगाएको कागतीका बिरुवा यतिबेला हुर्कदै छ । कागतीको बोटमा सिँचाई गर्न थोपा सिचाई मेसिन जडान गरेका छन् । बोटमुनि कालो प्लाष्टिक बिछाईएको छ । यसले गर्दा घाँस उम्रिदैन र मल उड्न नपाउँने बिज्ञले सुझाएर गरिरहेको कामले भविष्य उज्वल देखिन्छ । बिरुवालाई चाहिने औषधी थोपा सिँचाईको माध्यमबाट पु¥याइदा जनशक्ति कम लाग्ने गरेको पन्थले सुनाए ।

अगामी दिनमा कागतीलाई हानी नपु¥याउने जातको कुखुरा पाल्ने योजना रहेको जानकारी दिए । कुखुरा पाल्ने योजना अनुसार खोर निर्माण गरिरहेका छन् । कुखुरालाई सुन कागती खेतीमा चराउदा कम लागत लाग्ने उनले अनुमान गरेका छन् । बाँजो जग्गाको सदुपयोग गर्दै सुन कागती लगाई सकेको र कुखुरा पालन, माछा पालन र भैंसी पालनको तयारीमा रहेको पन्थले जानकारी दिए ।

कृषि फर्ममा विद्यार्थीलाई रोजगारी उपलब्ध गराउने समेत उनले सुनाए । कृषि पढ्दै गरेका विद्यार्थीलाई पढ्दै कमाउदै महोल सिर्जना गर्ने तर्फ लागेका छन् । यसले गर्दा कृषि सम्बन्धि अध्ययनरत विद्यार्थीलाई पढाईको साथसाथै सिकाई हुने र आर्थिक लाभ पनि हुनेछ । कृषि सम्बन्धि अध्ययनरत विद्यार्थीहरुलाई रोजगारी उपलब्ध गराउने उनको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर