दुई दिनमा लागु औषधसहित चार पक्राउ

बर्दिया,माघ १ (फरकसमाचार)

दुई दिनको अन्तरमा प्रहरीले लागु औषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चारै जनाको साथबाट जम्मा १२ दशमलव ३ ग्राम लागु औषध ब्राउन सुगर फेला पारेको हो । भारतबाट लागु औषध लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा चारै जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाहिरी जिल्लाका तीन जना र बर्दियाका एक जना रहेका छन् । बर्दिया, बाँके र दैलेखका युवाहरु लागु औषधसहित बढैयाताल गाउँपालिकाको विभिन्न स्थानमा लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत बुधबार र बिहीबार प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । बर्दियामा लागुऔषध सेवनकर्ता शून्य पार्न प्रहरीले सर्च अप्रेशन जारी रहेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । ‘लागु औषध सेवनकर्ताको सर्चमा जिल्लाभर प्रहरी परिचालन भईरहेको छ’ प्रहरी उपरीक्षक कार्कीले भने,‘लागुऔषध सेवनकर्ता र ओसार पसार कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परिरहेका छन् ।’

नेपाल भारतको खुल्ला सिमानाका कारण बाहिरी जिल्लाका युवाहरु बर्दियाका नाका प्रयोग गरी नजिकै रहेको भारतको बजारमा लागु औषध लिन जान्छन् ।

 

बुधबार बढैयाताल गाउँपालिका–२ स्थितबाट बाँके खजुरा गाउँपालिका–२ का ३३ वर्षिय दिवश भण्डारी र वडा नम्बर ५ का २१ वर्षिय बिशाल परियारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दुवै जनाको साथबाट १ ग्राम ४ सय मिलिग्राम लागु औषध ब्राउनसुगर र २ थान मोबाइल बरामद गरेको छ । त्यसैगरी बिहीबार बढैयाताल गाउँपालिका–७ स्थितबाट जिल्ला दैलेख गँरास गाउँपालिका–३ का ३० वर्षिय तुलाराम शर्मा लागु औषधसहित पक्राउ परेका छन् ।

प्रहरीले शर्माको साथबाट ७ ग्राम ४ सय ४० मिलीग्राम लागु औषध, मोबाईल र मोटरसाईकल बरामद गरेको छ । त्यसैगरी बढैयाताल गाउँपालिका–८ स्थितबाट गुलरिया नगरपालिका–४ का २० वर्षिय बिपन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सुनारको साथबाट ३ ग्राम ४ सय ६० मिलीग्राम लागुऔषध, मोटरसाईकल र मोबाईल फेला पारेको छ । प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई लागु औषध कसुरमा अनुसन्धान गरिरहेको डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर