बुस्टर डोज : कतै सुरु, कतै पुगेन
मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित

फरक समाचार  सोमबारदेखि मुलुकका विभिन्न जिल्लामा कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोज खोप दिन सुरु भएको छ । संघीय सरकारमार्फत प्राप्त खोप प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिन सुरु गरेको हो । तर, केही प्रदेशमा खोप नपुगेर बुस्टर अभियान सुरु भएको छैन भने केहीमा मंगलबारदेखि दिने तयारी भएको छ ।

मधेस प्रदेशमा फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई मात्रै सोमबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारदेखि प्रदेशका सबै सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठले सर्वसाधारणलाई बुस्टर डोज दिनका लागि तयारी भइरहेको बताए ।

‘हामी तयारीमा जुटेका छौं । केही दिनमै सर्वसाधारणलाई पनि बुस्टर डोज दिन सुरु गर्छौं,’ सचिव श्रेष्ठले भने । यता, धनुषा जनस्वास्थ्यका खोप अधिकृत राजदेव यादवका अनुसार खोप सामग्री उपलब्ध गराउन स्वास्थ्य आपूर्ति महाशाखालाई पत्र लेखेर अनुरोध गरिएको छ ।

प्रदेशमा अहिलेसम्म ४८ प्रतिशतले कोरोना भाइरसविरुद्धको दुवै खोप लिइसकेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ को धनुषा, सप्तरी र पर्साबाहेक ५ जिल्लाका ८० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाइसकेका छन् ।

 

वाग्मती प्रदेशमा काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामध्ये चार जिल्लामा सोमबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको छ । मकवानपुर, चितवन, काभ्रे र सिन्धुपाल्चोक गरी चार जिल्लामा बुस्टर डोज लगाउन थालिएको हो ।

रामेछाप, सिन्धुली, दोलखा र नुवाकोटमा बुस्टर डोज मंगलबारसम्म पुग्ने प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए । हेटौंडामा सोमबारदेखि यहाँका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र प्रशासन, अन्य फ्रन्टलाइनमा काम गर्नेलाई खोप लगाइएको छ । पहिलो दिनै १ हजार ३ सय जनालाई बुस्टर डोज लगाइएको स्वास्थ्यकर्मी भोला चौलागाईंले बताए । काभ्रेमा सोमबार १ हजार ९ सय ४५ जनालाई बुस्टर डोज लगाइएको छ । मंगलबारदेखि पालिकामा बुस्टर डोज लगाउने स्वास्थ्य शाखा काभ्रेले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरमा कोरोनाविरुद्धको तेस्रो खोप बुस्टर डोज लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पशुपति खनालका अनुसार दुई भेगमा सोमबार झन्डै चार सयलाई बुस्टर डोज लगाइएको हो ।

 

गण्डकीमा पर्याप्त

गण्डकी प्रदेशमा कोरोनाविरुद्धको तेस्रो मात्राको खोप (बुस्टर डोज) पर्याप्त छ । प्रदेशले सबै जिल्लामा खोप पठाइसकेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले झन्डै २५ लाख जनसंख्या रहेको प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहसमेत गरी १८ लाख जतिले खोप लगाइसकेको बताए । त्यसमध्ये दुवै खोप लगाएर ६ महिना पुगेका पहिलो चरणमा ७ लाखसम्म रहेको अनुमानका आधारमा बुस्टर डोजको खोप व्यवस्थापन गरिएको उनले बताए । ‘हामीलाई बुस्टर डोजको खोप पर्याप्त छ,’ उनले भने, ‘माघ १४ पछि ६० वर्षमाथिकालाई सुरु हुनेछ । अहिले जिल्लाहरूले योजना बनाएर खोप दिन सुरु गरेका छन् । केहीले योजना बनाउँदै छन् ।’

बागलुङ, गोरखा, पर्वतमा आइतबार र स्याङ्जामा सोमबारदेखि खोप लगाउन थालिएको छ । बागलुङमा ५ हजार खोप लगाउने योजना छ । ‘फेदीखोला गाउँपालिकाबाट बुस्टर डोज सुरु भएको छ, अब अन्य पालिकामा विस्तार गर्छौं,’ स्याङ्जा स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माले टेलिफोनमा भनिन् ।

म्याग्दी, लमजुङ, तनहुँ र कास्कीमा मंगलबारदेखि बुस्टर डोज सुरु हुँदै छ । मंगलबार स्वास्थ्यकर्मी र आगामी बिहीबारदेखि पालिकाका वडा तहबाटै खोप सुरु गरिने कास्की स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्यले बताए । तनहुँको दमौली अस्पतालमा दैनिक र अन्य पालिकामा आवश्यकतानुसार खोप लगाउने व्यवस्था मिलाइएको तनहुँ स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘बुस्टर डोज अभियान नियमितजस्तै सञ्चालन गरिनेछ,’ उनले भने ।

मनाङमा सोमबारमात्रै २ हजार मात्रा खोप पुगिसकेको छ । अहिले हिउँ परेकाले स्थानीय घर छाडेर बेंसीमा झरेकाले तत्कालै खोप लगाउने योजना नरहेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । ‘गाउँपालिकासँग सल्लाह गरी खोपको योजना बनाउँछौँ उनले भने । पूर्वी नवलपरासीमा मंगलबार बैठक बसेर खोपबारे निर्णय गरिने र मुस्ताङमा भने माघ दोस्रो सातापछि बुस्टर डोज दिइने भएको छ ।

लुम्बिनीमा ६० हजार बुस्टर डोज लगाइँदै

लुम्बिनी प्रदेशमा कोभिडविरुद्ध बुस्टर (तेस्रो) डोज दिन सुरु भएको छ । संघीय सरकारमार्फत प्राप्त खोप प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायतलाई बुस्टर डोज दिन सुरु गरेको हो । तर, मागअनुसार खोप प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

प्रदेशका सबै जिल्लामा बुस्टर डोज लगाइँदै छ । यसअघि पहिलो र दोस्रो मात्रा लगाएका कोभिसिल्ड, अस्ट्राजेनेका, भाइजरलगायतका खोपको बुस्टर डोज आएको स्वास्थ्य निर्देशक विनोदकुमार गिरीले बताए । अघिल्लो माघ १४ देखि २४ र फागुन २ देखि १० गतेसम्म प्रदेशका ७८ हजार व्यक्तिले कोभिसिल्ड र अस्ट्राजेनेका खोप लगाएका थिए । उनीहरूका लागि १८ हजार डोज खोप अपुग छ । संघीय सरकारलाई उक्त खोप पठाइदिन आग्रह गरेको गिरीले बताए । ‘छिटोढिलो हो, खोप अभाव हुन्न भन्नेछ,’ उनले भने, ‘संघीय सरकारले नै आवश्यक सबै खोप व्यवस्थापन गर्ने भनेको छ ।’

रूपन्देहीमा सबैभन्दा बढी १६ हजार बुस्टर डोज खोप लगाइनेछ । सबैभन्दा थोरै रुकुम पूर्वमा अग्रपंक्तिमा रहेर काम गर्ने १५ सय जनालाई खोप लगाउन थालिएको हो । स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीका अनुसार बाँके, कपिलवस्तु र पाल्पा जिल्लामा भने आइतबारदेखि खोप लगाउन सुरु भएको थियो । सोमबार बर्दिया र दाङमा सुरु भएको छ । रुकुम पूर्वबाहेकका अन्य ६ जिल्लामा मंगलबारदेखि बुस्टर डोज लगाउने तयारी छ । अग्रपंक्तिमा खटिनेलाई माघ १४ गतेसम्म खोप लगाइनेछ । यद्यपि, अपुग डोज कहिले कसरी आउने भन्नेबारेमा स्वास्थ्य निर्देशनालय नै अन्योलमा छ ।

भेरोसेल खोप लगाएकाका लागि भने माघ १४ पछि बुस्टर डोज लगाइनेछ । भेरोसेल धेरै व्यक्तिले लगाएकाले पहिलो चरणमा ६० वर्षमाथिका र दीर्घरोगीलाई बुस्टर डोज लगाउने तयारी गरेको फोकल पर्सन भण्डारीले बताए । ‘संघीय सरकारले दीर्घरोगी र ६० वर्षमाथिका व्यक्तिको तथ्यांक पठाउन भनेको छ । त्यसअनुसार प्रदेशभरको तथ्यांक संकलन हुँदै छ,’ भण्डारीले भने, ‘संख्याअनुसार नै संघीय सरकारले खोप पठाउने भनेर प्रतिबद्धता जनाएको छ ।’

लुम्बिनी प्रदेशमा १९ लाख ४२ हजार ५ सय ६३ जना अर्थात् ५२ प्रतिशत जनसंख्याले दोस्रो खोप लगाएका छन् । पहिलो खोपमात्र लगाउने ३१ लाख ५७ हजार २ सय ९७ जना छन् । प्रदेशका अधिकांश स्थानीय तहमा अहिले छुटेकालाई खोप लगाउने अभियान चलिरहेको छ । प्रदेशमा ४ लाख डोज खोप भण्डारणमा छ ।

सुदूरपश्चिममा पुगेन खोप

सुदूरपश्चिममा बुस्टर डोजका लागि खोप मौज्दात नै छैन । सामाजिक विकास मन्त्रालय धनगढीका अधिकारीहरूले हाल प्रदेशमा खोप मौज्दात नभएकाले आवश्यक खोपका लागि संघीय निकायमा माग गरिएको जनाएको छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बुस्टर डोजका लागि खोपको मौज्दात नरहेको बताएका हुन् । उनले मंगलबारसम्म प्राप्त हुने आश्वासन प्राप्त भएको बताए । ‘प्रदेशमा स्टक नभएकाले केन्द्रमा माग गरेका छौं,’ प्रवक्ता कार्कीले भने ‘आफूसँग मौज्दात हुने पालिकाहरूलाई तोकिएको मापदण्डअनुसार बुस्टर डोज लगाउन भनेका छौं ।’

खोप मौज्दात भएका स्थानीय तहलाई संघीय सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा बुस्टर डोज लगाउन भनिएको बताए । उनले कुनै पालिकाले बुस्टर डोज प्रदान गरे, नगरेको बारेमा भने जानकारी हुन नसकेको बताए । प्रदेशमा खोप प्राप्त हुनासाथ योजनाबद्ध रूपमा बुस्टर डोज प्रदान गर्ने कार्ययोजना तय गरिने उनको भनाइ छ ।

सुदूरपश्चिमका ७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप प्रदान गरिएको भए पनि अत्यधिक जोखिममा रहेको कैलाली र डडेलधुराका बालबालिकाले भने अझै खोप पाएका छैनन् । यी दुई जिल्लाका बालबालिकालाई फाइजर खोप लगाइने भनिएको थियो । खोप नआएकाले उनीहरूलाई अहिलेसम्म खोप प्रदान गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए । मन्त्रालयका अनुसार कैलाली र डडेलधुरामा उक्त उमेर समूहका लक्षित बालबालिकाको संख्या १ लाख २६ हाजर ४ सय ८४ छ ।साभार कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय