सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या भयावह
शुक्रबार, माघ १४, २०७८ मा प्रकाशित

बर्दिया, माघ १४ (फरकसमाचार) / सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या भयावह रहेको छ । बिगत तीन वर्षदेखि सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यामा क्रमशः बृद्धि हुदै गएको हो । चालु आर्थिक वर्षको हालसम्म १४ जनाको सवारी दुर्घटनामा परी ज्यान गईसकेको छ । यो संख्या अधिक रहेको छ ।

आर्थिक बर्ष ०७५/०७६ मा ४९ सवारी दुर्घटनामा ३३ जनाको मृत्यु र ६९ जना घाइते, आर्थिक बर्ष ०७६/०७७ मा ८३ सवारी दुर्घनामा ३८ जनाको मृत्यु र १ सय २ जना घाइते भएको तथ्यांक जिल्ला ट्राफिक कार्यालयमा उल्लेख छ । त्यसैगरी आर्थिक बर्ष ०७७/०७८ मा ८९ सवारी दुर्घटनामा ३७ जनाको मृत्यु र १ सय ४० जना घाइते भएको रेकर्डले पुष्टि गर्छ । यसरी तीन वर्षको तथ्यांक हेर्दा दुर्घटनामा परी मृत्यु हुनेको संख्या क्रमशःबढ्दै गएको पाईएको छ । चालु आर्थिक बर्षको हाल सम्म ३० सवारी दुर्घटनामा १४ जनाको मृत्यु र ७१ जना घाइते भएको ट्राफिकको रेकर्डले देखाएको छ ।

दैवीक प्रकोप भन्दा पनि धेरै संख्यामा सवारी दुर्घटनाबाट ज्यान जाने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरीक्षक इश्वरी देवकोटाले बताए । ‘सवारी दुर्घटना बजार एरिया भन्दा पनि खुला ठाउँमा बढि हुने गरेको’ प्रमुख देवकोटाले भने, ‘खुला ठाउँमा सवारी साधन तिब्र गतिमा चलाउने भएकाले दुर्घटना बढि हुने गरेको छ ।’

आर्थिक बर्ष ०७५/०७६ देखि चालु आर्थिक बर्ष ०७८/०८९ सम्म सवारी दुुर्घटनाबाट बर्दिया जिल्लामा १ सय २२ जनाको मृत्यु भएको रेकर्डले देखाएको छ । सवारी दुर्घटनामा यति धेरै संख्यामा मृत्यु हुनु भयावह स्थिति रहेको देवकोटाको भनाई छ । ‘जबसम्म नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन्’ प्रमुख देवकोटाले भने,‘तबसम्म सवारी दुर्घटना न्युनीकरण गर्न कठिन हुने छ ।’ सवारी दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी निरन्तर लागिरहेको छ । सावरी दुर्घटना न्युनीकरण गर्न स्थानीय सरकार, सडक बिभाग र यातायात कार्यालयले सवारी दुर्घटना न्युनीकरण गर्न भुमिका खेल्नु पर्ने प्रमुख देवकोटाले सुझाए ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म ट्राफिक प्रहरीले ५२ लाख ४५ हजार राजश्व संकलन गरेको छ । छ महिनाको अवधिमा ट्राफिक प्रहरीले ९ हजार ५ सय ४३ सवारी साधनलाई कारवाहीको दायरामा ल्याएको रेकर्डमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय