बल प्रयोग गरेरै राजमार्ग फराकिलो बनाइने
शनिबार, फागुन १४, २०७८ मा प्रकाशित

फरक समाचार

नेपालगन्ज — रत्न राजमार्ग दायाँबायाँको क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काएर सडक फराकिलो बनाइने भएको छ । बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट कोहलपुरसम्मको २३ किलोमिटर क्षेत्र फराकिलो बनाउन लागिएको हो । यसअघि राजमार्गका ७ सय ४९ ठाउँमा गरिएको अतिक्रमण हटाउन एकमहिने सूचना जारी गरिएको थियो । उक्त अवधिमा संरचना खाली नगराएपछि बल प्रयोग गरेर भए पनि राजमार्ग फराकिलो बनाउन लागिएको हो ।

कोहलपुर–जमुनाह खण्डमा निजी घरका साथै सरकारी कार्यालयले समेत सडक अतिक्रमण गरेका छन् । सडक डिभिजन कार्यालय नेपालगन्जले गरेको सर्वेका क्रममा १४ वटा सरकारी कार्यालयका पक्की भवन सडक क्षेत्रफल मिचेर निर्माण गरेको पाइएको थियो । सडक डिभिजन नेपालगन्जका प्रमुख होमबहादुर एसीले कोहलपुरदेखि जमुनाहसम्म ७ सय ४९ स्थानमा सडक क्षेत्रफल मिचिएको तथ्यांक संकलन भएको जानकारी दिए ।

‘सडक ऐनअनुसार सडक क्षेत्रफल नाप्दा धेरै ठाउँमा संरचना बनेको पाएका छौं,’ उनले भने, ‘अब अगाडि काम के कसरी गर्ने भन्ने विषयमा चाँडो निर्णय गर्छौं ।’ कार्यालयका अनुसार ३५ वटा संघसंस्था, ५ वटा धार्मिक क्षेत्रले पनि सडक क्षेत्रमै संरचना बनाएको भेटिएको हो ।

‘सडकको क्षेत्र खाली गर्न सुरुमा सरकारी कार्यालय र संघसंस्थालाई सूचित गरेका छौं । उहाँहरू सकारात्मक नै हुनुहुन्छ,’ एसीले भने, ‘कानुनबमोजिम सबैको सहयोग लिएर सडक क्षेत्र खाली गरिनेछ ।’ सडक मिचेर संरचना बनाउनेमा अख्तियार, आन्तरिक राजस्व, खाद्य तथा व्यापार कम्पनी, कर्णाली प्रदेश प्रहरी, संघीय प्रहरी इकाइलगायत सरकारी कार्यालय पनि छन् । सडक डिभिजनले निजी क्षेत्रबाट सञ्चालित संघसंस्थालाई पनि सडक अतिक्रमण गरी संरचना बनेकोबारे सूचित गरेको छ । ‘सार्वजनिक सूचना जारी गर्‍यौं । सरकारी तथा संघसंस्थालाई पनि जानकारी दियौं,’ एसीले भने, ‘आवश्यकताअनुसार अन्यलाई पनि सूचित गर्दै जान्छौं ।’ उनले अतिक्रमित सडक खाली गर्न सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ अनुसार २०३४ असार २० मा प्रकाशित राजपत्रमा रत्न राजमार्गअन्तर्गत जमुनाहदेखि कोहलपुरसम्मको २३ किलोमिटर सडक ३१ मिटर चौडा बनाइने भनिएको छ । तर, २०६९ असोज ४ मा मन्त्रिपरिषद् बैठकले अतिक्रमण तथा कब्जा गर्नेलाई संरक्षण गर्दै २५ मिटरभित्र निर्माण गरिएका संरचना मात्र भत्काउन भनेको थियो । त्यतिबेला राजमार्ग विस्तार गर्दा ३१ मिटरभित्र पर्ने सबै संरचना नभत्काइएको तर त्यसयता लगातार अतिक्रमण बढिरहँदा राजमार्ग सानो भई दुर्घटना बढेपछि अतिक्रमित संरचना हटाउने पुनः निर्णय भएको हो । सुर्खेत रोड विस्तारका क्रममा बिल्डअप एरियामा २१ मिटरभित्र रहेका संरचनासमेत भत्काइएका थिएनन् । तर, अहिले सडक क्षेत्र खाली गराउन सडक डिभिजनले पत्राचार गरेपछि असन्तुष्टि बढेको छ ।

डिभिजन कार्यालयले भने विभिन्न बहानामा सडक क्षेत्र अतिक्रमण हुँदा सडक साँघुरो हुँदै गएको र त्यसले भोलिका दिनमा समस्या निम्तिने, दुर्घटना बढ्ने, पार्किङको समस्या हुने भन्दै सडक ऐनबमोजिम खाली गर्न सूचित गरेको स्पष्ट पारेको छ । ‘स्थानीयको सहजताका लागि सडक फराकिलो बनाउने हो । बिल्डअप एरियाका बारेमा बुझ्दै छौं,’ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने, ‘बल प्रयोग गरेर भए पनि सरकारी मापदण्डअनुसार बाटो फराकिलो बनाइनेछ ।’

सर्वदलीय बैठक राखेर विवाद नहुने गरी काम गर्नुपर्ने नागरिक समाजका अगुवा कृष्ण श्रेष्ठले बताए । ‘सवारीसाधनहरू बढ्दै छन् । बटुवालाई हिँड्ने बाटो पाउन मुस्किल छ,’ उनले भने, ‘सडक फराकिलो बनाउने भनेको स्थानीयका लागि हो ।’ सडक डिभिजनले कसैको दबाब र प्रभावमा नपरी सरकारी मापदण्डअनुसार काम गर्नुपर्ने उनको सुझाव छ ।साभार कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय