भोलीदेखि स्कूल कप टुनामेन्ट सुरु हुँदै
शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

बर्दिया, चैत ११ (फरकसमाचार) / गुलरियामा स्कूल कप क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुने भएको छ । बर्दिया क्रिक्रेट संघ र बर्दिया क्रिकेट एकेडेमीको संयुक्त आयोजनामा स्कूल कप टुनामेन्ट सुरु हुँदैछ ।

गुलरिया नगरपालिका–४ स्थित खेलकुद मैदानमा प्रतियोगिता सुरु हुने भएको छ । स्कूल कप टुनामेन्टमा पाँच वटा विद्यालयले सहभागिता जनाएको बर्दिया क्रिकेट संघका अध्यक्ष बिनयराज भण्डारीले बताए । ‘दश वर्षपछि स्कूल कप प्रतियोगिताको आयोजना गरिएको छ’ अध्यक्ष भण्डारीले भने,‘स्कूल कप टुनामेन्टले स्कूल लेबलबाट क्रिकेट खेलाडी उत्पादन गर्नेछ ।’

भविष्यमा स्कूल स्तरीय प्रतियोगिताबाट बर्दिया क्रिकेट संघले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उनले दावी गरे । ‘जिल्लाका सबै स्कूललाई समेट्ने योजना रहेको थियो’ अध्यक्ष भण्डारीले भने, ‘विभिन्न कारणले जिल्लाका सबै विद्यालयलाई सहभागिता गराउन सकिएन ।’ आगामी दिनमा क्रिकेट संघले सबै विद्यालयलाई समेट्ने विश्वास व्यक्त गरे । क्रिकेट खेललाई प्रोत्साहन गर्न सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उनले आग्रहसमेत गरे । खेलप्रेमी साथीभाई र बैंकहरुको आर्थिक सहयोगबाट स्कूल कप टुनामेन्टको आयोजना गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

स्कूल कप टुनामेन्टमा मकदे मावि, बंगलामुखी मावि, शम्भुशरण मावि, जनज्योति मावि र मधुवनको जिजिएन बोडिङ स्कूलले सहभागिता जनाएका छन् । खेल चैत १२ गते देखि सुरु भई चैत १९ गतेसम्म हुनेछ । पाँच वटै स्कूलका टिम बिच खेल हुनेछ । फाइनल खेलमा प्रवेश हुने दुई टिम बिच चैत १९ गते फाइनल खेल हुनेछ । प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु ३१ हजार र दोस्रो हुने टिमलाई रु २१ हजारले पुरस्कृत गर्ने बर्दिया क्रिकेट एकेडिमीका संचालक सिद्धार्थ श्रेष्ठले जानकारी दिए । साथै म्यान अफ द म्याच, बेस्ट बलर र ब्याटरलाई ५/५ हजारले पुरस्कृत गरिनेसमेत उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय