नगरलाई सुर्तीजन्य पदार्थबाट मुक्त गर्न १० बुदे प्रतिबद्धता
शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित

गुलरिया(बर्दिया) चैत ११ (फरकसमाचार) / सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि गुलरिया नगरपालिकाले दश बुदे प्रतिबद्धता जनाएको छ । गुलरिया नगरपालिकाले नगरलाई सुर्तीजन्य पदार्थ मुक्त गर्न अभियान चलाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रले आयोजना गरेको कार्यक्रममा गुलरिया नगरपालिकाले सुर्तीजन्य पदार्थ नियमन गर्न प्रतिबद्धता जनाएको छ । सुर्तीजन्य पदार्थ सेवनका कारणले मानिसहरुको दिनहुँ मृत्यु भईरहेको बेला नगरपालिकाले बिहीबार सुर्तीजन्य पदार्थ मुक्त गर्ने प्रतिबद्धता जनाई अभियान अघि बढाएको छ ।

 

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न दश बुदे प्रतिबद्धता उल्लेख गरिएको पत्रमा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटासहित जनप्रतिनिधिले हस्ताक्षर गरेका छन् । सरोकारवाला तथा साझेदार निकायसंग समन्वय गरी सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अभियान संचालन गर्ने, आजदेखि सुर्तीजन्य पदार्थ यस नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले सेवन गर्न छोड्छौ, पालिकाको सबै सार्वजनिक संस्थाहरुमा सुर्तीजन्य पदार्थ निषेध गरिने, इजाजत पत्र लिएका व्यवसायीले मात्र बिक्री गर्न पाउने, सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न अध्ययन र अनुसन्धान गर्ने, प्रयोग कर्र्तालाई सुर्तीजन्य पदार्थको लत छुटाउन राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रको समन्वयमा स्वास्थ्यकर्मीलाई तालिम दिने व्यवस्था गर्ने, जनसमुदाय तथा सरोकारवालासंग सुर्तीजन्य पदार्थ नियमनका लागि व्यापक छलफल गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न रणनीति तयार गर्ने, सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न निरन्तर अनुगमन तथा सुपरभिजन गर्ने र सुर्तीजन्य पदार्थ रहित पालिका घोषणा गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्त बहादुर केसीले बिहीबार संचारकर्मीलाई सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा परेको प्रभाव बारे जानकारी गराएका थिए । सोही अन्तरक्रिया कार्यक्रममा गुलरिया नगरपालिकाले सुर्तीजन्य पदार्थ नियमन गर्न प्रतिबद्धता जनाएको समेत खुलाए । नेपालमा एक वर्षको अवधिमा करिब २७ हजार १ सय ३७ जना मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरे । विश्वमा एक वर्षमा करिब ८० लाख मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थले हुने गरेको तथ्यांक देखाए ।

जसमा करिब १२ लाख मानिसले आफुले धुम्रपान सेवन नगरेपनि अरुले गरेको धुम्रपानको धुवाँको असरले मृत्यु हुने गरेको छ । मानिसले आफुले धुम्रपान सेवन नगरेपनि अरु मानिसले गर्दा नजिकैका मानिसलाई नै प्रत्यक्ष प्रभाव पार्छ । सुर्तीजन्य पदार्थ सेवनका कारणले विभिन्न किसिमका रोग लागी मानिसको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले देशको आर्थिक र वातावरणमासमेत असर पर्ने गरेको उनको भनाई छ । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन अभियानमा संचारकर्मीले भुमिका खेल्नुपर्ने डा.केसीले पटक पटक दोहो¥याएका थिए ।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन अभियानमा संचार माध्यमको महत्वपुर्ण भुमिका रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए । ‘आम नागरिकलाई सुर्तीजन्य पदार्थको सेवनले कस्तो हानी पु¥याउछ कतिपयलाई थाहा हुदैन’ निर्देशक शर्माले भने,‘संचार माध्यमबाट सुर्तीजन्य पदार्थको बेफाइदा हेरेर, पढेर, सुनेर आम नागरिकले थाहा पाउँन सक्छन् ।’ त्यसैले सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानीको बारेमा संचार माध्यमबाट सचेतना गराउन आग्रहसमेत निर्देशक शर्माले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय