बर्दियामा टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु हुँदै
मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, चैत २२ / जिल्लामा टाइफाइड रोगको जोखिम न्युनिकरण गर्न टाइफाइड विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुने भएको छ । टाइफाइड विरुद्धको खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।

जिल्लामा १५ महिनादेखि १५ वर्ष मुनिका १ लाख २८ हजार बालबालिकालाई खोप लगाईने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

‘टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात’ विषयमा संचारकर्मीसंग सोमबार गरिएको अभिमुखीकरण कार्यक्रममा प्रमुख गिरीले खोप अभियानको बारेमा बताए । ‘विगतमा जसरी हात्ती पाईले रोग विरुद्धको औषधी खाएर जिल्लालाई हात्ती पाईले रोगबाट निवारण गर्न सफल भएका छौं’ प्रमुख गिरीले भने,‘त्यसैगरी टाइफाइड विरुद्धको खोप लगाएर यस अभियानलाई सफल बनाऔं ।’ जिल्लामा रहेका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरु नछुट्ने हिसाबले प्रचार प्रसार गरिदिन संचारकर्मीलाई आग्रह गरे ।

१५ वर्ष मुनिका २ सय भन्दा बढी विद्यार्थी रहेका विद्यालयमा खोप केन्द्र तोकिएको छ । १५ वर्ष मुनिका विद्यार्थी संख्या कम भएका विद्यालयहरुको हकमा पायक पर्ने नजिकको खोप केन्द्रमा खोप लगाउने वातावरण मिलाईएको छ । जिल्लामा रहेका विद्यालय मध्य ३ सय ३ वटा विद्यालय र ७५ वटा स्वास्थ्य संस्था गरी जम्मा ३ सय ७८ स्थानमा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक सुचना अधिकारी कृष्ण गोपाल चौधरीले जानकारी दिए ।

चैत २३ गतेदेखि २७ गतेसम्म विद्यालयमा र २८ गते स्वास्थ्य संस्थामा खोप केन्द्र संचालन हुनेछन् । पायक पर्ने नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन सकिने उनले सुनाए । खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् । टाइफाइड विरुद्धको खोप अभियानमा १ हजार २ सय ८९ जनशक्ति परिचालित हुने जनस्वास्थ्य निरीक्षक चौधरीले जानकारी दिए ।

टाइफाइड विरुद्ध हाल नेपालमा लगाईने खोप ‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ हो । यो खोप १५ महिना देखि २३ महिनाको बच्चालाई बायाँ तिघ्रामा र २ वर्ष देखि १५ वर्ष मुनिका बालबालिकालाई बायाँ पाखुरामा लगाईन्छ ।

नेपालमा टाइफाइड रोगको उच्च जोखिम छ । जोखिमलाई न्युनिकरण गर्न टाइफाइड रोग विरुद्धको खोप अभियान सुरुवात गरिएको छ । निर्धारित अवधिमा पायक पर्ने खोप केन्द्रमा आफ्ना बालबालिकालाई खोप लगाउन सकिने छ । टाइफाइड संक्रमण सबै उमेर समुहमा हुने तर १५ वर्ष मुनिका बालबालिकामा करिब ११ गुणा बढी संक्रमण पुष्टि भएको छ ।

पाटन एकेडेमी फर हेल्थ साइन्सको अध्ययन अनुसार प्रति १ लाख जनसंख्यामा १ हजार ६२ जनामा टाइफाइडको संक्रमण देखिएको र १५ वर्ष मुनिका बालबालिकामा प्रति १ लाख जनसंख्यामा १० हजार ९ सय ६० जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय