स्वर्गिय अजय श्रेष्ठको सम्झनामा क्रिकेट प्रतियोगिता हुँदै
बुधबार, चैत २३, २०७८ मा प्रकाशित

बर्दिया, चैत २३ (फरकसमाचार) / स्वर्गिय अजय श्रेष्ठको सम्झनामा श्रेष्ठ परिवारले क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । क्रिकेट प्रतियोगिता बिहीबार सुरुभई सोमबारसम्म हुनेछ । स्व.अजय श्रेष्ठको बैदेशिक रोजगारको क्रममा गत फागुन ४ गते माल्टामा सडक दुर्घटनामा निधन भएको थियो । श्रेष्ठ क्रिकेट खेलाडी पनि थिए । क्रिकेट खेलको विकासका लागि सधैं चासो राख्थे । बैदेशिक रोजगारको क्रममा जिल्लाको क्रिकेट खेलको विकासका लागि सहयोग गर्दै आएका थिए ।

बैदेशिक रोजगारीबाट फर्किएपछि क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भाईको ठुलो सपना रहेको उनको दाई अनिल श्रेष्ठले बताए । ‘भाई हामीलाई छोडेर गएका छौं’ उनको दाईले भने,‘भाईले आफ्नो सपना पुरा गर्न सकेन ।’ भाईको सपना पुरा गर्न श्रेष्ठ परिवारले क्रिकेट प्रतियोगिताको आयोजना गरेको सुनाए । स्व. श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष श्रेष्ठ परिवारले क्रिकेट प्रतियोगिताको आयोजना गर्ने उनले जनाए । स्व.भाईको सपना पुरा गर्ने उदेश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरेका छौं यस कार्यले श्रेष्ठ परिवारलाई आत्मसन्तुष्टि मिल्ने उनले विश्वास व्यक्त गरे । श्रेष्ठ परिवारले आफ्नै खर्चमा आयोजना गरेको क्रिकेट प्रतियोगितामा करिब ४ देखि ५ लाखसम्म खर्च गर्ने योजना रहेको अनिल श्रेष्ठले जनाए ।

क्रिकेट प्रतियोगितामा सहभागिता जनाएका टिमसंग कुनै इन्ट्री शुल्क लिएको छैन । त्यसैगरी श्रेष्ठ परिवारले आफ्नै खर्चमा टिमका खेलाडीहरुलाई खाजा पनि दिनेछ । खेलाडीले कुनै पनि खर्च व्यहोर्नु नपर्ने जनाईएको छ ।

क्रिकेट प्रतियोगितामा चार टिमले सहभागिता जनाएका छन् । बर्दिया क्रिकेट एकेडेमी, ज्योती स्पोर्ट एकेडेमी, कोहलपुर स्पोर्ट एकेडेमी र इन्डियन हन्टर्स टिमले एकअपासमा प्रतिस्पर्धा गर्नेछन् । एकअपासमा विजय भएका टिमले फाईनलमा प्रतिस्पर्धा गर्नेछन् । फाईनल खेलमा प्रथम हुने टिमलाई रु ५१ हजार र ट्रफीले पुरस्कृत गर्ने आयोजक श्रेष्ठ परिवारले जनाएको छ भने दोस्रो हुने टिमलाई रु २६ हजारले पुरस्कृत गर्ने जनाईएको छ ।

बिहीबार उद्घाटन खेल ज्योती स्पोर्ट एकेडेमी र इन्डियन हन्टर्स बिच हुने बुधबार पत्रकार सम्मेलनमा जनाईएको छ । बिहीबार दिउँसो १ बजे क्रिकेट प्रतियोगिताको उद्घाटन हुनेछ । गुलरिया नगरपालिका–४ स्थित खेलकुद मैदानमा खेल हुने जनाईएको छ । पत्रकार सम्मेलनमा बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारी, बर्दिया क्रिकेट एकेडेमीका संचालक सिद्धार्थ श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष यादव आचार्यलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय