शिक्षाको गुणस्तर प्रभावकारी बनाउन सरोकारवालाले देखाए चासो
सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित

बर्दिया, बैशाख २६ (फरकसमाचार) / गुलरिया नगरपालिका अन्र्तगत विद्यालयका शिक्षाको गुणस्तर प्रभावकारी बनाउन सरोकारवालाले चासो देखाएका छन् । सुचना र मानव अधिकार अनुसन्धान केन्द्र द्वारा संचालित पारस्परिक जवाफदेहिता परियोजनाले आइतबार सरोकारवालासंग समन्वय बैठक गरी शिक्षा, स्वास्थ्य र कृषि समस्याका बारेमा व्यापक छलफल गरेको हो ।

परियोजनाले स्थानीय नागरिक समाज, गैरसरकारी संस्था महासंघ, गुलरिया नगरपालिका स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, संचारकर्मीहरुको उपस्थितीमा छलफल गरेको छ । सरोकारवालाको उपस्थितमा परियोजनाले छलफल गरेका विषय वस्तु मध्य शिक्षालाई प्राथमिकता दिई शिक्षाको गुणस्तरलाई प्रभावकारी बनाउन शिक्षामा देखिएका समस्यको अध्ययन अनुगमन गरी सुधार गर्न सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने भएको छ । स्थानीय तहको निर्वाचन लगत्तै सरोकारवालाले शिक्षा क्षेत्रको अध्ययन अनुगमन गरी सुधारको लागि सम्बन्धित निकायलाई दबाब सिर्जना गर्ने जनाएका छन् ।

बैठकमा गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले नगर अन्र्तगत शिक्षामा देखिएका समस्याका बारेमा जानकारी गराएका थिए । गुलरिया नगरपालिकामा शिक्षक दरबन्दी अपुग रहेको बताए । ‘हामीले केन्द्रमा पटक पटक शिक्षक दरबन्दीको समस्याको बारेमा जानकारी गराएका छौं’ शिक्षा शाखाका प्रमुख यादवले भने,‘केन्द्रले नै शिक्षक दरबन्दीको समस्या समाधान नगर्दा शिक्षक दरबन्दी अगुग भएको छ ।’ शिक्षाको गुणस्तर प्रभावकारी बनाउन केन्द्रले दरबन्दीको समस्या समाधान गर्नुपर्छ । नगरको शैक्षिक गुणस्तर माथि उठाउन वडा र पालिकाले निश्चित बजेट छुट्याउन आग्रह गरे ।

केन्द्रबाट आएको बजेट तोकिएको शिर्षकमा खर्च गर्नुपर्छ । शिक्षाको गुणस्तर माथि उठाउने कार्यको लागि स्थानीय पालिकाले बजेट छुट्याउन आवश्यक रहेको छ । त्यसैगरी विद्यालयमा विद्यार्थी भर्नाको संख्या बढी देखिएपनि वास्तवमा विद्यार्थी विद्यालयमा नदेखिएको शाखा प्रमुख यादवले सुनाए । विद्यार्थीलाई विद्यालयमा टिकाउने चुनौती रहेको सुनाए । विद्यालयमा विद्यार्थी टिकाउन अभिभावकलाई शिक्षाको महत्व बुझाउने कार्यक्रम गर्नुपर्ने सुझाए । तर बजेटको अभावमा त्यस किसिमको कुनै पनि कार्यक्रम संचालन नभएको शाखा प्रमुख यादवले जानकारी दिए ।

आगामी दिनमा स्थानीय पालिकाले बजेट छुट्याई अभिभावकलाई शिक्षाको महत्व दर्साउने कार्यक्रम ल्याई बालबालिकालाई अध्ययनको लागि विद्यालयमा उपस्थित गराउन जरुरी रहेको बैठकमा शाखा प्रमुख यादवले सुझाएका थिए ।
त्यसैगरी गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डेले नगरमा देखिएका स्वास्थ्य सम्बन्धि समस्याका बारेमा जानकारी गराएका थिए ।

बैठकमा पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्य, गुलरिया नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुनिल पाण्डे, शिक्षा शाखाका प्रमुख सतिश यादव, गैसस महासंघका लक्ष्मण घिमिरे, सुचना र मानव अधिकार अनुसन्धान केन्द्र बर्दियाका फोकल प्रर्सन कमलराज पौडेल, पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक प्रताप चौधरीलगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय