बैशाख २७ / ग्रामीण यातायात" />
झुटो बिल भरपाई बनाएर ६६ लाखभन्दा बढी भुक्तानी गरेको आरोपमा ६ जनाविरुद्ध आरोपपत्र दायर
मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित

काठमाडौं, बैशाख २७ / ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसम्भार र रुख बिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याई भुक्तानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कर्मचारी तथा निर्माण व्यवसायी गरी ६ जनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

आयोगका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले वास्तविक रुपमा भए गरेको कामभन्दा बढी परिमाणको काम गरेको भनी काम नै नगरेको विवरणसमेत गलत रुपमा उल्लेख गरी झुट्टा बिल भरपाई बनाई ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा भुक्तानी गरेको पाइएपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको हो ।

आफूलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पु-याउने कार्यसमेत गरेको देखिएको हुँदा जिल्ला प्राविधिक कार्यालयका कर्मचारी एवं निर्माण व्यवसायी उपर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै, माँ जानकी निर्माण सेवाका प्रोपाइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादव, अन्नपूर्ण कन्सट्रक्सनका प्रोपाइटर ममतादेवी यादवविरुद्ध पनि आयोगले आरोपपत्र दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख जिल्ला इन्जिनियर गोइत र पाठक विरुद्ध ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा बिगो दाबी गरेको छ भने तत्कालीन लेखापाल श्रेष्ठविरुद्ध २ लाख ५४ हजार ७१९ रुपैयाँ ७६ पैसा, निर्माण व्यवसायी भुपेन्द्रविरुद्ध २१ लाख २४० रुपैयाँ ९७ पैसा, विजयकुमार यादवविरुद्ध २६ लाख ५४ हजार २१४ रुपैयाँ ४५ पैसा र ममतादेवी यादवविरुद्ध १९ लाख १० हजार २३६ रुपैयाँ ७९ पैसा बिगो दाबी गरेको छ । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय