उत्साहपुर्वक बर्दियामा आज मतदान हुँदै
शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित

बर्दिया, बैशाख ३०(फरकसमाचार) / स्थानीय तहको निर्वाचनको लागि आज मतदान हुँदैछ । पाँच वर्षपछि नागरिकले स्थानीय तहको जनप्रतिनिधि छनौट गर्नका लागि हर्षित हुँदै मतदान केन्द्र गएर मतदान गर्देछन् । जिल्लाको आठ वटै पालिकामा आज उत्साहपुर्वक मतदान हुँदैछ ।

स्थानीय तहको नयाँ प्रतिनिधि चयन गर्न मतदाताहरु उत्साहित देखिएका छन् । जिल्लामा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न दुई दिन आवगै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाईएको छ । जसले गर्दा आज हुँदै गरेको निर्वाचन शान्तिपुर्ण हुने स्थानीयले विश्वास लिएका छन् । सबै मतदान केन्द्रहरुमा मतदाताले सहज रुपमा मतदान गर्ने गरी सुरक्षा व्यवस्था मिलाईएको एसपि विरेन्द्र बहादुर शाहीले बताए । सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालित भएका छन् ।

जिल्लामा ३ लाख ११ हजार ४ सय १० मतदाता संख्या रहेको छ । जिल्लामा ३ सय ७१ मतदान केन्द्रमा मतदान हुदैछ । मतदान केन्द्रमा मतदाताहरुको उत्साहपुर्वक उपस्थिती हुने आँकलन गरिएको छ ।

गुलरिया नगरपालिकामा ५० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । गुलरियामा २२ हजार ५ सय २६ पुरुष र २० हजार ६ सय ७९ महिला गरी जम्मा ४३ हजार २ सय ५ मतदाता संख्या रहेको छ ।

मधुवन नगरपालिकामा ४२ वटा मतदात केन्द्र निर्धारण गरिएको छ । मधुवनमा जम्मा ३५ हजार २ सय ९५ मतदाता संख्या रहेको छ । राजापुर नगरपालिकामा ५५ वटा मतदान केन्द्र तोकिएको छ । राजापुरमा जम्मा ४३ हजार ५ सय ५३ मतदाता संख्या रहेको छ । गेरुवा गाउँपालिकामा ३२ वटा मतदान केन्द्र छन् । गेरुवामा जम्मा २५ हजार ७ सय ६१ मतदाता संख्या रहेको देखिएको छ । ठाकुरबाबा नगरपालिकामा जम्मा ३३ हजार ५ सय ५७ मतदाता संख्या रहेको छ ।

जहाँ ३६ वटा मतदान केन्द्र तय गरिएको छ । बाँसगढी नगरपालिकामा जम्मा ४३ हजार ४ सय ६४ मतदाता रहेका छन् र ४९ वटा मतदान केन्द्र तोकिएको छ । बारबर्दिया नगरपालिकामा जम्मा ४९ हजार ५ सय ३६ मतदाता रहेका छन् र ६० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । त्यसैगरी बढैयाताल गाउँपालिकामा ३७ हजार ३९ मतदाता रहेका छन् भने ४७ मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्यांकले पुष्टि गरेको छ । मतदाताले आफुले चिताएको उम्मेदवारलाई भयरहित वातावरणमा मतदान गर्न सक्ने सुरक्षा निकायले व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय