गुलरियामा चार वडामा मतगणना हुँदा काँग्रेस र एमालेको बराबरी जित
आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित

बर्दिया, जेठ १ (फरकसमाचार) / गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हँुदा नेपाली काँग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन् । गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा काँग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन् । गुलरिया नगरपालिका–१ र ४ मा वडा अध्यक्षमा नेपाली काँग्रेसले जितेको छ भने वडा नम्बर २ र ३ मा एमालेले जितेको छ ।

गुलरिया नगरपालिका–१ मा काँग्रेसबाट वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ । थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले १ हजार ३ सय ७३, दलित महिला सदस्यले ३ हजार १ सय २६, खुल्ला सदस्य(१)ले १ हजार २ सय ८६ र खुल्ला सदस्य (२)ले १ हजार २ सय ६४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर १ मा ३ हजार ८८ मत खसेको थियो जसमा ९८ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–२ मा एमालेबाट वडा अध्यक्षमा टंक प्रसाद अधिकारीको प्यानल विजयी भएको छ । अधिकारीले ८ सय ५२ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले ७ सय ८३, दलित महिला सदस्यले ७ सय ८९, खुल्ला सदस्य(१)ले ७ सय ८३ र खुल्ला सदस्य (२)ले ७ सय ४४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर २ मा २ हजार ५ सय १० मत खसेको थियो जसमा ५७ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–३ मा एमालेबाट वडा अध्यक्षमा सर्वजित यादव निर्वाचित भएका छन् । यादवले ७ सय ९७ मत प्राप्त गरी विजयी भएका हुन् । महिला सदस्यले ७ सय ७४, दलित महिला सदस्यले ७ सय ८५, खुल्ला सदस्य(१)ले ७ सय ६५ र खुल्ला सदस्य (२)ले ७ सय १९ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर ३ मा २ हजार ३ सय ९४ मत खसेको थियो जसमा १ सय १५ मत बदर भएको छ ।
गुलरिया नगरपालिका–४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा सुरेश गौतम निर्वाचित भएका छन् । निर्वाचित गौतमले १ हजार ४ सय ५३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । काँग्रेसबाट महिला सदस्यले १ हजार २ सय ३२ र दलित महिला सदस्यले १ हजार १ सय ८६ मत प्राप्त गरी निर्वाचित भएका छन् भने एमालेबाट खुल्ला सदस्य(१)ले १ हजार १ सय ३७ र खुल्ला सदस्य (२) ले १ हजार १ सय २५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

गुलरिया नगरपालिकाको चार वटा वडाको मतगणना सम्पन्न हुँदा नगर प्रमुख पदमा नेपाली काँग्रेसले ३ हजार ४ सय ५० र एमाले ३ हजार ७३ मत प्राप्त गरेको छ । एमालेलाई पछि पार्दै नेपाली काँग्रेसले ३ सय ७७ मतले अग्रता लिएको छ । बाँकी वडाको मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय