गुलरिया सहित चार पालिकामा काँग्रेस विजयी एक एकमा माओवादी र एमाले
बुधबार, जेठ ०४, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ४ (फरकसमाचार) / गुलरियासहित चार पालिकामा नेपाली काँग्रेसले विजयी प्राप्त गरेको छ । गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिकामा काँग्रेस, बाँसगढी नगरपालिकामा एमाले र राजापुर नगरपालिकामा माओवादी केन्द्रले जित निकालेको छ । ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिकामा बुधबार बिहान ७ बजेसम्म मतपरिणाम आएको छैन । गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले विजयी प्राप्त गरेको छ । गुलरिया नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् । नगर प्रमुखमा मुक्तिनाथ यादव पुनः दोरोहिएका छन् भने उप–प्रमुखमा सावित्रा गौतम विजयी भएकी छन् । उप–प्रमुख गौतम गुलरिया नगरपालिका–५ की निर्वतमान वडा अध्यक्ष हुन् ।

नगर प्रमुखमा विजयी भएका यादवले ७ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । उनको प्रतिस्पर्धी एमालेका अमर खड्काले ७ हजार ८ सय ११ र माओवादी केन्द्रका गेहेन्द्र ढकालले ५ हजार १० मत पाएका छन् ।

त्यसैगरी उप–प्रमुखमा विजयी भएकी गौतमले ८ हजार २ सय ७ मत प्राप्त गरेकी छन् । उनको प्रतिस्पर्धी एमालेकी टिका समसेली मगरले ७ हजार ४ सय ६२ र माओवादी केन्द्रकी इन्दिरा सुवेदीले ४ हजार ३९ मत पाएकी छन् ।

गुलरिया नगरपालिकाको वडा नम्बर १,४,६ र ७ मा नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर २,३ र ५ मा एमालेले र वडा नम्बर ८, ९ र १२ मा माओवादीले, वडा नम्बर ११ मा जनता समाजवादी र वडा नम्बर १० को वडा अध्यक्षमा जनमत पार्टीले जित निकालेको छ ।
राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार नगर प्रमुख र उप–प्रमुखमा निर्वाचित भएका छन् । नगर प्रमुखमा दिपेश थारु र उप–प्रमुखमा मनकला कुमारी चौधरी विजयी भएका छन् ।

लुम्बिनी सांसद पदबाट राजीनामा दिई नगर प्रमुख पदमा लडेका थारु विजय भएका छन् । उप–प्रमुखमा चौधरी दोस्रो कार्यकालको लागि पुनः दोहोरिएकी छिन् । माओवादी केन्द्रबाट नगर प्रमुख थारुले ९ हजार ८ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । थारुको प्रतिस्पर्धी नेपाली काँग्रेसका दीपक जङ्ग शाहले ९ हजार ७ सय ६० र एमालेका पहारी चौधरी ६ हजार ७२ मत पाएका छन् ।

त्यसैगरी उप–प्रमुखमा चौधरीले १० हजार ८६ मत ल्याएर दोस्रो कार्यकालको लागि निर्वाचित भएकी छिन् । उनको प्रतिस्पधी काँग्रेसकी १० हजार ४५ र एमालेकी सावित्रि शर्मा बख्रेलले ५ हजार ४ सय २२ मत पाएकी छिन् ।
गेरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जमान सिंह केसी र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्वाचित भएका हुन् ।

अध्यक्षमा केसी ७ हजार ६ सय ९८ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वबहादुर थारुले ६ हजार ६ सय २० मत पाए । एमालेका उम्मेदवार भरतबहादुर धामीले १ हजार ८ सय ५१ मत पाए ।
यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी लक्ष्मी कुमारी चौधरी ७ हजार १ सय ५३ मतसहित निर्वाचित भइन् । माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५ सय ८३ मत पाउँदा एमालेकी मञ्जु शर्माको पक्षमा २ हजार २ सय ४३ मत परेको छ ।

बाँसगढी नगरपालिका प्रमुख, उप–प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा एमालेका खड्ग बहादुरले १० हजार ६१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माओवादीका भवन कुमार थारुले ८ हजार ५ सय ७७ र कांग्रेसका सविन कुमार थारुले ६ हजार ७ सय ११ मत प्राप्त गरेका छन् ।

त्यस्तै उप–प्रमुखमा पनि एमालेकी इन्दिरा चौधरी विजयी भएका छिन् । उनी ९ हजार ६ सय ९९ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्दी माओवादीका भोमी बितालुले ७ हजार ४ सय ३६ र कांग्रेसका आकाश थारुले ७ हजार १ सय ५१ मत प्राप्त गरेका छन् ।
माओवादीको गण बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा छबिलाल थारु र उप–प्रमुखमा रत्न कुमारी पाण्डे निर्वाचित भएका छन् । ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीले नगर प्रमुख र उप–प्रमुखमा जित निकालेको थियो । यस पटक माओवादीको गणमा काँग्रेसले जित निकाल्न सफल भएको छ ।

काँग्रेसबाट नगर प्रमुखमा निर्वाचित थारुले १३ हजार ६ मत पाएर निर्वाचित भएका छन् । थारुको प्रतिस्पर्धी एमालेका उम्मेदवार पदम प्रसाद ढकालले १० हजार ३ सय ५१ र माओवादी केन्द्रका उम्मेदवार दशरथ थारुले ९ हजार १ सय ९ मत प्राप्त गरेका छन् । त्यसैगरी उप–प्रमुखमा १२ हजार ४ सय ९१ मत प्राप्त गरी काँग्रेसबाट पाण्डे निर्वाचित भएकी छन् । उनको प्रतिस्पर्धी एमालेकी नारयाण्ी चौधरीले १० हजार ८ सय ५५ र माओवादी केन्द्रकी शोभा थारुले ९ हजार २९ मत प्राप्त गरेकी छन् ।

बारबर्दियाको ११ वडा मध्ये ६ वडामा नेपाली काँग्रेस, ३ वडामा नेपाल कम्युनिष्ट पार्टी र २ वडामा माओवादी केन्द्रले वडा अध्यक्षमा जित निकालेको छ । माओवादीले यस पटक बारबर्दियामा आफ्नो बिरासत जोगाउन सकेन । माओवादीको गण बारबर्दियामा माओवादीले तेस्रो स्थान प्राप्त गरेको छ ।

मधुवन नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा तेज बहादुर भाट र उप–प्रमुखमा अनिता चौधरी निर्वाचित भएका हुन् । काँग्रेसका भाटले ८ हजार ७ सय ७५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रका लक्ष्मि प्रसाद शर्माले ७ हजार ९ सय ३१ मत पाएका छन् । त्यसैगरी काँग्रेसकी उप–प्रमुख चौधरीले ८ हजार ३ सय ३५ मत प्राप्त गरी विजयी भएकी छन् । उनको प्रतिस्पर्धी माओवादी केन्द्रकी शुभद्रा थारुले ७ हजार ८ सय ९९ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर