जनताको मतसंग काँग्रेस सभापति खुसी
बिहिबार, जेठ ०५, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ५ (फरकसमाचार) / नेपाली काँग्रेसलाई विश्वास गरी पाँच पालिकामा विजयी गराएकोमा नेपाली काँग्रेस बर्दियाका सभापति अरुण प्रकाश सिंह राठोर खुसी हुँदै धन्यवाद व्यक्त गरेका छन् । गुलरिया नगरपालिकामा काँग्रेसका उम्मेदवार नगर प्रमुखमा मुक्तिनाथ यादव र उप–प्रमुखमा सावित्रा गौतम निर्वाचित भई निकालिएको विजयी ¥यालीको कोणसभालाई सम्बोधन गर्ने क्रममा सभापति राठोरले जिल्लावासीलाई धन्यवाद व्यक्त गरेका हुन् ।बुधबार गुलरियामा निकालिएको विजयी ¥यालीमा काँग्रेस समर्थकको ठुलो सहभागिता रहेको थियो । गुलरिया नगरपालिकाका नगर प्रमुख यादव र उप–प्रमुख गौतमले नगरवासीसंग भेटघाट गरी विजयी ¥याली राधाकृष्ण चोकमा कोण सभामा परिणत भएको थियो । विजयी ¥यालीको कोण सभालाई सम्बोधन गर्दै काँग्रेसलाई विजयी गराउन मतदान गर्ने सबैलाई धन्यवाद दिए । ‘काँग्रेसले जे बोल्छ त्यो गर्छ’ सभापति राठोरले भने,‘ त्यसैले तपाईहरुको विश्वास तोड्ने काम काँग्रेसले गर्दैन ।’

नेपाली काँग्रेसबाट गुलरिया नगरपालिकाको नगर प्रमुखमा यादव पुनः दोहोरिएका छन् भने उप–प्रमुखमा गौतम निर्वाचित भएकी छन् । गुलरिया नगरपालिका–५ की गौतम निर्वतमान वडा अध्यक्ष हुन् ।

गेरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा जमान सिंह केसी पुनः दोहोरिएका छन् भने उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी निर्वाचित भएकी छन् । गेरुवा गाउँपालिकामा निर्वाचित सम्पुर्ण पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले बुधबार प्रमाणपत्र उपलब्ध गराईसकेको छ ।

बारबर्दिया नगरपालिकामा नगर प्रमुख र उप–प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा छबिलाल थारु र उप–प्रमुखमा रत्न कुमारी पाण्डे निर्वाचित भएका छन् । माओवादीको गणमा काँग्रेसले जित निकाल्न सफल भएको छ ।
मधुवन नगरपालिकाको नगर प्रमुख र उप–प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा तेज बहादुर भाट र उप–प्रमुखमा अनिता चौधरी निर्वाचित भएका छन् ।

ठाकुरबाबा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट र उप–प्रमुखमा नेकपा एमालेकी उम्मेदवार निर्वाचित भएकी छन् । नगर प्रमुखमा तिलकराम लम्साल र उप–प्रमुखमा बिना कुमारी भट्टराई विजयी भएका छन् ।
बाँसगढी नगरपालिका प्रमुख, उप–प्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा एमालेका खड्ग बहादुर खड्का र उप–प्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् ।

राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार नगर प्रमुख र उप–प्रमुखमा निर्वाचित भएका छन् । नगर प्रमुखमा दिपेश थारु र उप–प्रमुखमा मनकला कुमारी चौधरी विजयी भएका छन् ।

बढैयाताल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष र एमालेबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा हिमालय त्रिपाठी र उपाध्यक्षमा लक्ष्मी अधिकारी विजयी भएकी छन् ।

जिल्लाको आठ स्थानीय तह मध्ये ५ वटा पालिकाको प्रमुखमा नेपाली काँग्रेसले जितेको छ भने दुई पालिकाको प्रमुखमा माओवादी केन्द्र र एउटा पालिकाको प्रमुखमा मात्र एमालेले जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर