अबैध काठ र किराना सामान बरामद
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

बर्दिया, जेठ १२ (फरकसमाचार) / भारतबाट भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको काठ, किराना सामान, माछा प्रहरीले बरामद गरेको छ भने अबैध रुपमा लैजादै गरेको गाईगोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी चौकी मथुरा, प्रहरी चौकी कालिका र प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले अबैध काठ,सामान बरामद र गाईगोरु लिएको हो ।
सोमबार, मंगलबार र बुधबार प्रहरीले लगातार तीन दिनको अन्तरालमा रु १ लाख ६१ हजार ५ सय ६७ बराबरको अबैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट बुधबार खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–१० स्थितबाट ३ वटा साईकलमा लोड गरी भारतबाट ल्याउँदै गरेको १२.५७ क्युफिट सागुन जातको काठ बरामद गरेको छ । प्रहरीका अनुसार बरामद काठ मुल्य रु ३० हजार बराबरको छ । बरामद काठ कारवाहीको लागि डिभिजन वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–९ जनतानगर स्थितबाट अबैध रुपमा बाँके तर्फ लैजादै गरेको मुल्य रु ८० हजार बराबरका ६ जिउँ गाई र ३ जिउँ गोरुसहित २ जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी चौकी मथुरा र प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको छ । बरामद सामानमा किराना, सुर्तिजन्य, कस्मेटिक, धानको बिउँ र माछा रहेको प्रहरीले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ । बरामद सामान मुल्य रु ५१ हजार ५ सय ६७ बराबर रहेको प्रहरीले जनाएको छ ।

बरामद माछा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितीमा नष्ट गरिएको छ भने अन्य सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय