परिवार नियोजनका साधनको उपलब्धता हुँदा हुँदै प्रयोगमा आएन
मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित

बर्दिया, जेठ ३१ (फरकसमाचार) / परिवार नियोजन साधनको उपलब्धता हुँदा हुँदै प्रयोगमा नआएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताएका छन् । सोमबार बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरले आयोजना गरेको परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख गिरीले बताएका हुन् । परिवार नियोजनका स्थायी र अस्थायी साधनको उपलब्धता स्वास्थ्य संस्थाहरुमा रहेको छ । ‘परिवार नियोजनका साधनहरु उपलब्ध हुँदा हुँदै सर्वसाधारणले प्रयोग नगरेको देखिन्छ’ प्रमुख गिरीले भने, ‘परिवार नियोजनका साधन प्रयोग नगरी गर्भनिरोधक इमेरजेन्सी चक्की बढी प्रयोग गरेको पाईन्छ ।’ परिवार नियोजनका साधन उपलब्ध हुँदा हुँदै गर्भनिरोधक चक्कीको प्रयोग गर्नु उपयुक्त नरहेको उनले सुनाए ।

सन्तानको रहर पुगेका दाम्पत्तिले परिवार नियोजनका साधन प्रयोग नगर्दा गर्भधारण गर्ने र सुचिकृत नभएका स्वास्थ्य संस्थामा गई गर्भपतन गराउन औषधी सेवन गर्नले अनावश्यक रक्तश्राव भई महिलाको ज्यानसमेत जाने जोखिम हुन्छ । जसले गर्दा परिवार योजना अनुसार दाम्पत्तिले आवश्यकता अनुसार स्थायी अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्न स्वास्थ्य प्रमुख गिरीले अनुरोध गरे ।

मातृ मृत्युदर, शिशु मृत्युदर कम गर्न स्वास्थ्य कार्यालयले प्रयास गरिरहेको जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए । सचेतना मुलक कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या बढेको छ । ‘जसले हाम्रो प्रयास सफल हुँदै गएको देखिन्छ’ जनस्वास्थ्य निरीक्षक चौधरीले भने, ‘पहिलाको दाजोमा अहिले सचेत भई स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका छन् ।’ स्वास्थ्य संस्थामा सुत्केरी गर्न आएका महिला र शिशु दुवै चिकित्सकको निगरानीमा हुन्छन् र सुरक्षित हुन्छन् । कहि कतै घरमा सुत्केरी गराएको पाईन्छ । त्यसलाई कम गर्न हाम्रो प्रयास जारी रहेको जनस्वास्थ्य निरीक्षक चौधरीले जानकारी दिए ।

उमेर पुगेकी स्वास्थ्य आमाले शिशु जन्माउँदा स्वास्थ्य शिशु जन्मिने र जन्मेको शिशुको वृद्धि विकास पनि छिट्टै हुने बर्दिया अस्पतालका बाल विशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताए । ‘उमेर नपुगेकी आमाले गर्भधारण गर्दा आमा र शिशुलाई बढी जोखिम मोल्नुपर्छ’ बाल विशेषज्ञ डाक्टर शाहले भने,‘ तौल नपुगेको कमजोर शिशु जन्मिदा शिशुले अनेक समस्यासंग सामना गर्नुपर्छ ।’ सुत्केरी भएको ४८ घण्टाभित्र बढी रक्तश्राव भई सुत्केरीको मृत्यु हुने गरेको उनले जानकारी दिए ।

नेपालमा परिवार नियोजनका साधन अझै ४७ प्रतिशतले प्रयोग नगरेको बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरका सहजकर्ता लक्ष्मी नारायण देवले बताए । ‘स्वास्थ्य संस्थामा ९ किसिमका आधुनिक परिवार नियोजनका साधन उपलब्ध छन्’ सहजकर्ता देवले भने,‘परिवार नियोजनका साधनले कुल प्रजनन दर घटाएको छ ।’ दुर्गम स्थानमा लामो अवधिको परिवार नियोजनको साधनको पहुँचमा बृद्धि र परिवार नियोजन सेवामा नविन तथा सिर्जनात्मक अभ्यास सुवात भएको छ । मातृ तथा शिशु मृत्युमा उल्लेख्य रुपमा कमि आएको उनले जानकारी दिए ।

स्वास्थ्य सेवाको प्रयोग गरि परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धि सुचाकंहरु मातृ मृत्युदर, शिशु मृत्युदर र बालमृत्युदर कम गर्ने उदेश्यले संचारकर्मीसंग सोमबार अन्तरक्रिया गरिएको हो । बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टर राजविराज, सप्तरीको आयोजना र स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यमा आइपर्ने समस्याहरुमा संचारमाध्यमबाट कसरी जनचेतना फैलाउने उदेश्यले व्यापक छलफल गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा बुद्ध हेल्थ प्रोमोशन एजुकेशन सेन्टरका कोषाध्यक्ष दुर्लभ देव, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय