लामो समय पछि नयाँ घर ठडिदाँ बाढी पिडितको अनुहारमा चमक देखियो
आइतबार, असार ०५, २०७९ मा प्रकाशित

बर्दिया, असार ५ (फरकसमाचार) / खुला आकाश र त्रिपाल मुनि सात वर्ष बिताएका बाढी पिडितको नयाँ घर ठडिदाँ अनुहारमा चमक देखिएको छ । गुलरिया नगरपालिका–४ रामपुरटापु र कैलाशनगरका बाढी पिडितको लागि ४२ वटा घर ठडिएको हो । सो स्थानका बाढी पिडितले सात वर्ष खुला आकाश र त्रिपालको साहारामा कठ्याङग्रिदो जाडो, प्रचण्ड गर्मि र बर्खा बिताउदै आएका थिए । २०७१ साल साउन अन्तिम साता बबईमा आएको बाढीले गुलरिया नगरपालिका –४ रामपुरटापुका ४१ घर डुबायो । एकै गाउँका ६ जना मानिस बाढीमा बगे । तुल्सीपुरको फुटबल मैदानमा लामो समय आश्रय स्थल बनाएका बाढी पिडितले नयाँ घर पाएपछि अनुहारमा चमक देखिएको छ । बाढी पिडितका लागि ठडिएको नयाँ घरको अनुगमनमा जाँदा उनीहरुको अनुहार खुसी देखिएको छ । बाढी पिडित परिवारलाई निर्माण घर छिट्टै हस्तान्तरण हुदैछ ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलासहितको टोलीले बाढी पिडितको लागि निर्माण भएको घरको अनुगमन गरेको छ । बाढी पिडितका लागि स्थानीय सरकार, कारितास नेपालको आर्थिक सहयोग र जिल्ला प्रशासनको समन्वयमा घर निर्माणको कार्य ९५ प्रतिशत सम्पन्न भईसकेको बताए । ‘बाढी पिडितको लागि घर निर्माण गरेको कार्य सह्रानिय छ’ प्रजिअ बास्तोलाले भने,‘यस्तो नमुना कार्यले नमुना बस्ती बनाएको छ ।’ पिडितको लागि गरिएको यो कार्य प्रशंसा योग्य रहेको प्रजिअ बास्तोलाले सुनाए ।

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले गत पुस महिनामा उक्त घरको शिलान्यास गरेका थिए । ६ महिनाको अवधिमा घर निर्माणको कार्य अन्तिम चरणमा रहेको नगर प्रमुख यादवले बताए । ‘बाढी पिडितको लागि घर निर्माणको कार्य पुरा भईसकेको छ’ नगर प्रमुख यादवले भने,‘अब ढोका लगाउन मात्र बाँकी छ ।’ बाँकी काम सम्पन्न गरि बाढी पिडित परिवारलाई घर हस्तान्तरण गर्ने तयारीमा रहेको नगर प्रमुख यादवले जानकारी दिए । सोही ठाउँमा केही बाढी पिडितहरु छुटेका छन् । छुटेका बाढी पिडितको लागि घर निर्माणको लागि आफुले पहल गर्ने नगर प्रमुखको भनाई छ ।

गुलरिया नगरपालिका र कारितास नेपालको आर्थिक सहयोगमा बाढी प्रभावित परिवारका ४२ वटा घर निर्माण भएको छ । कारितास नेपालको रु ६६ लाख र गुलरिया नगरपालिकाको रु १ करोड २६ लाखको लागतमा निर्माण भएको ४२ वटा घर बाढी पिडितलाई छिट्टै हस्तान्तरण गर्ने तयारीमा रहेको नगर प्रमुख यादवले जानकारी दिए ।

१२/१२ को दुई कोठा, ७/७ को भान्साघर र पालीसहितको घर भुकम्प प्रतिरोधात्म रहेको कारितास नेपालका रिजिनेल मेनेजर जनक शर्माले बताए । बाढी पिडितको लागि घर निर्माणको कार्य सम्पन्न हुँदा आत्म सन्तुष्टि मिलेको रिजिनेल मेनेजर शर्माको भनाई छ ।

गुलरिया नगरपालिका–४ रामपुरटापुकी ममिता शाहीले सात वर्षपछि घर पाउँदा धेरै खुसी भएको बताईन् । लामो समय त्रिपाल मुनि खुला आकास मुनि बितायो । लामो संघर्षपछि नयाँ घर पाउँदा खुसीको अनुभुति भएको सुनाईन् । घर निर्माणमा आफ्नै करिब २ लाख लागत लागेको उनले जानकारी दिईन् । लामो सयमको संघर्षपछि हाम्रो सपना पुरा भएको रामपुरटापुकी बिमला बिकले बताईन् । ‘सात वर्षको त्रिपाल मुनि कठ्याङग्रिदो जाडो, प्रचण्ड गर्मि र बर्खा बिताएको पिडा आफुसंगै रहेको छ’ बिकले भनिन्, ‘अब नयाँ घर पाउँदा सबै पिडा भुलिदै गएको छ ।’ खुसी हुँदै बिकले सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरिन् ।

बाढी पिडितका लागि निर्माण भएको घरको अनुगमन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्री गौतमलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय