५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख खोप नेपाल आइपुग्यो
आइतबार, असार ०५, २०७९ मा प्रकाशित

काठमाडौं, असार ५। पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपको चेकजाँच भइरहेको छ । प्रदेशस्तरमा आवश्यक फाइजर खोप आजै पठाउने तयारी छ’, थापाले  भने ।
परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिकाका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ ।

पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ  । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । वाग्मती प्रदेशका ७ जिल्लामा आवश्यक पर्ने खोप टेकुमा राखी अरू जिल्लामा आइतबार नै पठाइने थापाले जानकारी दिए ।

 

यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने महाशाखाले जनाएको छ ।
‘आज पहिलो चरणको खोप आइपुगेको छ । भण्डारण कक्षको पनि अभाव हुने भएकाले हामीले चार पटकमा गरी ८४ लाख खोप ल्याउनेछौं’, थापाले भने । महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ ।

फाइजर खोपको पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ ।

पहिलो चरणमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, मधेश प्रदेशका सप्तरी, धनुषा, पर्सा, सिरहा र महोत्तरी, बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाकाले खोप पाउनेछन् ।

त्यसैगरी, लुम्बिनी प्रदेशका पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशका सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने परिवार कल्याण महाशाखाले जनाएको छ । अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय