उत्प्रेरणा कुनाले बालबालिकामा ल्याएको खुसी
मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित

बर्दिया, असार ७ (फरकसमाचार) / बालबालिकाको उत्प्रेरणाका लागि उत्प्रेरणा कुनाले बालबालिकाको सर्वागिण विकासमा सहयोग पु¥याएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा थारु महिला उत्थान केन्द्र द्वारा संचालित बालबालिकाको सपना परियोजनाले बालबालिकाको सर्वागिण विकासमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य चौकीमा बाल मैत्री उत्प्रेरणा कक्षको स्थापना गरेको हो । सोमबार राजापुर नगरपालिका–१० खैरीचन्दनपुर स्वास्थ्य चौकी र ठाकुरबाबा नगरपालिका–४ बगनाहा स्वास्थ्य चौकीमा संचालित उत्प्रेरणा कुनाको अनुगमन गरिएको छ ।

अनुगमन टोली राजापुर खैरीचन्दनपुर स्वास्थ्य चौकीमा पुग्दा स्वास्थ्य चौकीमा संचालित उत्प्रेरणा कुनामा रमाईरहेका बालबालिकाले जो कोहीको ध्यानाकर्षण गरेका थिए । स्वास्थ्य चौकीमा आउँदा छोरा घर जान मन नगर्ने खैरीचन्दनपुर मझराकी अस्मिता चौधरीले बताईन् । ‘बाबुलाई स्वास्थ्य चौकीमा खोप लगाएपनि खासै रुदैन’ चौधरीले भनिन्,‘यहाँ भएका खेलौना खेल्दै खुसी हुदै रमाउँछ ।’

बालबालिकालाई खोप वा अन्य सेवा लिन आएका आमा उत्प्रेरणा कुनामा बसेर आफ्नो बालबालिकालाई आकर्षक खेलौना खेलाएको देखियो । स्वास्थ्य चौकीबाट खोप लगाएर रुदै चिच्याउँदै निस्केका बालबालिका उत्प्रेरणा कुनामा राखिएको रंगिबिरंगी आकर्षक खेलौनाले बालबालिकाको मन लोभ्याउँ छ । उत्प्रेरणा कुनामा बालबालिकालाई प्रभावित गर्ने घोडा, रंगिबिरंगी बल, हातले बनाएको विभिन्न किसिमका खेलौना राखिएको छ । सेवा लिन आएका बालबालिका शान्त भएर खेल्ने गरेको खैरीचन्दनपुर स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट गंगाराम चौधरीले बताए ।

‘उत्प्रेरणा कुनाले बालबालिकामा सकारात्मक प्रभाव पारेको छ’ हेल्थ असिस्टेन्ट चौधरीले भने, ‘खोप वा अन्य सेवा लिएका बालबालिका एक छिन यहाँ बसेर खेल्दा केही साईड ईफेक्ट देखिए स्वास्थ्यकर्मीको निगरानीमा हुन्छन् ।’ बालबालिकाको सिकाईको रुपमा उत्प्रेरणा कुना सावित भएको छ । यसले बालबालिकालाई धेरै कुरा सिकाएको उनले विश्वास व्यक्त गरे । गैरसरकारी संस्थाको सहयोगमा बालबालिका उत्प्रेरणा कुनाको संचालन भएपनि यसलाई निरन्तरता दिन स्थानीय सरकारले ध्यान दिन जरुरी रहेको हेल्थ असिस्टेन्ट चौधरीको भनाई छ । वालमा बालबालिकाको विकासक्रम दर्साउने संकेतिक तस्विर राख्दा झन् प्रभावकारी हुने उनले सुझाए ।

बालबालिकाको सपना परियोजनाले गरेको काम उदाहरणीय रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । ‘बालबालिकाको उमेर अनुसार सिकाईको आवश्यक पर्छ’ प्रमुख गिरीले भने,‘परियोजनाले गरेको कामले बालबालिकामा सकारात्मक सोच ल्याउँछ ।’ उत्प्रेरणा कुनामा राखिएको आकर्षक खेलौनाले बालबालिकाको हिड्न, डुल्न, रंग र अकार प्रकार चिन्न प्रोत्साहन गर्छ । परियोजनाको कार्य अवधि सकिए पनि यसलाई निरन्तरता दिन स्थानीय सरकारलाई प्रमुख गिरीले आग्रहसमेत गरे ।

सन् २०२० देखि बालबालिकाको सपना परियोजना तीन वटा पालिकामा संचालन भएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्म सिंह थारुले बताईन् । ‘परियोजनाको कार्य अवधि यही जुनमा सकिन्छ’ कार्यकारी निर्देशक थारुले भनिन्, ‘कार्यक्रम दोस्रो चरणमा आउँला नआउला तर संचालन गरिएको उत्प्रेरणा कुनालाई निरन्तरता दिन जरुरी छ ।’ स्वास्थ्य चौकीमा संचालन भएका उत्प्रेरणा कुनाले बालबालिकाको विकासमा सकारात्मक प्रभाव पार्छ ।

बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी संस्थाले संचालन गरेको बालबालिका उत्प्रेरणा कुनालाई प्राथमिकतामा राखेर स्थानीय सरकारले न्युनतम बजेट बिनियोजन गरी निरन्तरता दिन निर्देशक थारुले आग्रह गरिन् । परियोजना संचालन भएका पालिकाका प्रतिनिधिले संस्थाको कार्य अवधि सकिएपनि बालबालिका उत्प्रेरणा कुनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

बालबालिकाको सपना परियोजनाले राजापुर नगरपालिकाको वडा नम्बर ६, ८,९ र १० मा ठाकुरबाबा नगरपालिकाको सबै वडामा र बारबर्दिया नगरपालिकाको वडा नम्बर १,२,३,४ र ५ मा संचालन भएको परियोजनाका सुपरभाईजर नरेश चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय