समस्या ग्रस्त पाटे बाघ नियन्त्रण लिएर छाडिएको निकुञ्ज प्रशासनलाई आरोप
शुक्रबार, असार १०, २०७९ मा प्रकाशित

बर्दिया, असार १० / कैलालीको टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनमा मृत भेटिएको पाटेबाघ गुपचुप मै गाडिएको तथ्यसँगै बर्दियामा समस्या ग्रस्त भएर नियन्त्रणमा लिएका पाटे बाघ पुन छाडिएका बर्दिया निकुञ्ज प्रशासनलाई आरोप लागेको छ । कैलालीको टिकापुर स्थित सामुदायिक वनमा चोरी शिकारी वा पासोमा परेर मृत अवस्थामा भेटिएको पाटे बाघमा रेडियो कलर जडान भएको फेला परेपछि निकुञ्ज प्रशासनलाई त्यस्तो आरोप लागेको हो ।

मृत अवस्थामा फेला परेको बाघको विषयमा बर्दिया राष्ट्रिय निकुञ्जबाट खटिएको टोलीले घटना सार्वजनिक नगर्न दबाब दिएको स्थानीयले आरोप लगाएका छन् । समस्या ग्रस्त बाघ बर्दियाको रम्बापुर, निकुञ्जको मुख्य कार्यालय, चितवनको खोरमा राखिएको एनटिएनसिका प्रमुख डा रविन कडरियाले बताए । ‘बर्दियाबाट नियन्त्रणमा लिएको एउटा बाघ बाँकेको खोरबाट भाग्यो’ उनले भने ।

आइतवार घटनास्थल कैलाली पुगेको टोलीले उपस्थित कसैलाई पनि मृत पाटेबाघको फोटो नखिच्न भनेको एक सहभागीले जानकारी दिए । उनले टोलीले पाटे बाघ मृत भेटिएको कुरा सामाजिक सञ्जाल र मिडियामा समेत आउन नहुने भनेको बताए । ‘पाटेबाघ विश्वमै दुर्लभ हो, यो मरेको कुरा कतै नआओस्, हामीलाई समस्या पर्छ,’ घटनास्थलमा उपस्थित एक सामुदायिक वनका अध्यक्षले भने, ‘यसको समाचार आए, तपाईहरुलाई समेत समस्या पर्छ ।’

सव डिभिजन वन कार्यालय टीकापुरका प्रमुख मोहम्मद, ताहाँ हुसेन मिकरानीले समेत टोलीले फोटो नखिच्न भनेको बताए । डिभिजन वन कार्यालयले तयार गरेको मुचुल्कामा उक्त पाटेबाघ झण्डै १२ वर्षको वयस्क भाले भएको उल्लेख छ । ‘अन्दाजी १२ वर्षको वयस्क भाले पाटेबाघ बेतबाँसको झाडीमा घाँटीमा तारले पासो लागेर मरेको अवस्थामा फेला परेको हो,’ मुचुल्कामा भनिएको छ ।
स्थानीयका अनुसार वनभित्र घाँटीमा फलामे तारको पासोमा फसेको पाटेबाघ सामुदायिक वनको बेतबाँसको झाडीमा मृत फेला परेको हो । मिकरानीले घाँटीमा फलामे तारको पासोसहित झण्डै तीन फिट लामो काठसहित पाटेबाघ मृत अवस्थामा फेला परेको बताए ।
‘पाटे बाघको घाँटीमा मोटरसाइकलको क्लोज तार जस्तै फलामे डोरीको पासो थियो, तीन फिट ठूलो काठ पनि सँगै थियो,’ उनले भने, ‘सायद अन्तै पासोमा फसेर आएको बाघ बेतघारीमा घाँटी कसिएर मरेको हुनसक्छ ।’

निकुञ्जको टोलीले आइतबार मृत अवस्थामा फेला परेको पाटेबाघलाई डिभिजन वन कार्यालय टीकापुरका प्रतिनिधि, सामुदायिक वनका अध्यक्षहरु, वडाध्यक्ष र प्रहरीको रोहवरमा मुचुल्का बनाएर शव उठाएको थियो ।

मृतअवस्थामा फेला परेको बाघ टीकापुरबाट १४ किलोमिटर पूर्व पर्ने सव डिभिजन वन कार्यालय लम्कीको प्रांगणमा गाडिएको छ । मिकरानीले निकुञ्जको टोलीको रोहवरमा सुरक्षाका दृष्टिकोणले लम्कीस्थित कार्यालयको प्रांगणमा पाटेबाघ गाडिएको बताए ।
‘हाम्रो यहाँ हतियारसहितको सुरक्षा टोली छैन, त्यसकारण हामीले उतै लगेर गाडेका हौं, त्यहाँ हाम्रो हतियारसहितको टोली बस्छ’ उनले भने ‘घटनास्थलमा हेर्दा तीन दिनअघि मरेको, पुरै सुन्निएको र गन्हाउने अवस्थामा थियो ।’

शितल सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले विश्वमै दुर्लभ मानिएको पाटेबाघ पासो लागेर मृत अवस्थामा फेला पर्नु दुःखद् घटना भएको बताए । ‘बाघको संरक्षणका लागि यत्रो पहल भइरहेको छ, तर पनि पासोमा बाघ फेला पर्नुले यसको संरक्षणमा थप चासो दिनुपर्ने देखियो,’ उनले भने ।

आइतबार मध्यान्ह जीपिएस ट्रयाक गरिएको उक्त पाटेबाघ खोज्दै बर्दिया राष्ट्रिय निकुञ्जको टोली सामुदायिक वनमा पुगेको थियो । राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक फिरुलाल थारु, निकुञ्जका गेमस्काउट नरेशविक्रम चौधरीसहित चार जनाको टोलीले बाघलाई मृतअवस्थामा फेला पारेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार सन् २००९ मा १८ वटा मात्र पाटेबाघ थिए । पछिल्लो तथ्यांक अनुसार बर्दियामा ८७, चितवन ९३, बाँके २१ पर्सा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गरी नेपालमा २ शय ३५ वटा पाटेबाघ छन् । बाघलाई पारिस्थितिकिय प्रणालीको सूचक मानिन्छ । बाघ पाइने जंगल जैविक विविधता भरिपूर्ण हुने भएकाले पनि यसको संरक्षण जरुरी छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय