बजार अनुगमनलाई प्राथमिकता दिदै जिल्ला प्रशासन कार्यालय
शुक्रबार, असार १०, २०७९ मा प्रकाशित

बर्दिया, असार १० (फरकसमाचार) / गुलरिया नगरपालिका अन्तर्गत ९ वटा र मधुवन नगरपालिका अन्तर्गत १० वटा पसलमा अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले मुल्य रु ५ हजार २ सय १६ बराबरको म्याद गुज्रिएका खाद्यान्न सामाग्री बरामद गरेको हो । अनुगमन टोलीले मैदा, खानेतेल, विस्कुट, सुर्ति, चेवनप्रास र पापड जस्ता म्याद गुज्रिएका खाद्यान्न सामाग्री फेला पारेको छ ।

म्याद गुज्रिएका खाद्यान्न सामाग्री आम उपभोक्ताले उपभोग गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्ने मधुवनका आम सर्वसाधारण जयराम थारुले बताए । ‘सम्बन्धित निकायले अनुगमन फितालो गर्दा पसलहरुमा म्याद गुज्रिएको सामानको बिगबिगी भएको छ’ थारुले भने,‘पढेका उपभोक्ताले मिति हेर्छन, बाँकी सब त्यस्तै किनछन् ।’ सम्बन्धित निकायले अनुगमनको दायरा बढाएको हाम्रो लागि सुखद रहेको उनले सुनाए । अनुगमनलाई निरन्तरता दिनु आवश्यक रहेको थारुको भनाई छ ।

म्याद गुज्रिएका सामान व्यवसायीले बेचबिखन गर्न नपाउँने कानुनी प्रावधान हुँदा हुँदै पसलमा त्यस्ता सामान भेटिदाँ म्याद गुज्रिएका खाद्यवस्तु उपभोक्ताले उपभोग गरिरहेको सर्वसाधारणले आशंका गरेका छन् ।

अनुगमन कै क्रममा पसलमा मुल्य सुचि नराखेको, एउटा व्यवसाय दर्ता गरी अर्को व्यवसाय चलाएको, दर्ता गरे अनुसारको साई बोर्ड नराखेको र सरसफाई नगरेको पनि भेटिएको छ । यस्ता कमजोरीलाई १५ दिनमा सुधार गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । तोकिएको समयमा सुधार नगरे कानुन बमोजिम कारवाहीसमेत गर्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, मधुवन नगरपालिका, प्रहरी, संचारकर्मी, राष्ट्रिय उपभोक्ता मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको संयुक्तु टोलीले बजार अनुगमन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय