गुलरिया नगरपालिकाको आठौं नगरसभा : शिक्षा, स्वास्थ्य र क्रमागत विकासलाई प्राथमिकता
शनिबार, असार ११, २०७९ मा प्रकाशित

बर्दिया, असार ११ (फरकसमाचार) / गुलरिया नगरपालिकाले आठौं नगरसभा अन्र्तगत आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आर्थिक वर्ष ०७९÷०८० को वार्षिक निति तथा कार्यक्रम वाचन गरेर शुक्रबार सार्वजनिक गरेका हुन् ।

गुलरिया नगरपालिकाले आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम मार्फत सामाजिक स्थितीमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, विद्युतिकरण, खेल मैदान र खेलकुद जस्ता क्षेत्रलाई प्राथमिकता दिई लगानी बृद्धि गर्ने योजना बनाएको छ । आगामी आर्थिक वर्षमा गुलरिया नगरपालिकाले नगर क्षेत्रमा डिजिटल अध्ययन केन्द्र पुस्तकालय स्थापना गरी संचालन गर्नका लागि सरोकारवालासंग समन्वय र सहकार्य गर्ने जनाएको छ ।

आगामी आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रमले ग्रामिण र सहरी क्षेत्र बिच अन्तरसम्बन्ध रहेका आयोजनालाई प्राथमिकता दिई आयमुलक रोजगारीका अवसर सृजना गर्दै गरिबी न्युनिकरण गर्ने उदेश्य लिएको छ । कोभिड महामारीका कारण रोजगारी गुमाएका, क्षति व्यहोर्नु परेका नगरवासीलाई स्वरोजगार सिर्जना गर्न कृषि, घरेलु उद्यम तथा पशुपालनमा कार्यक्रम केन्द्रित गर्न जोड दिने वार्षिक कार्यक्रममा उल्लेख छ । स्वास्थ्यलाई प्राथमिकतामा राखी एक वडा एक स्वास्थ्य संस्थाको अवधारणा बमोजिम प्रत्येक वडामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना तथा संचालन गर्ने । संचालन गरिएका स्वास्थ्य केन्द्रहरुको स्तरोउन्नती गरी गुणस्तरीय सेवा उपलब्ध गराउने उदेश्य नगरपालिकाले लिएको छ । सामाजिक सचेतना, गरिबी न्युनिकरण, प्रकोप व्यवस्थापन आदिका लागि समुदाय स्तरमा व्यापक कार्यक्रम परिचालन गरिने जनाईएको छ ।

त्यसैगरी सहकारीको सिद्धान्त बमोजिम नियमन, अनुगमन, निरीक्षण गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रम नगरपालिकाले ल्याएको छ । भौतिक प्रर्वाधार, शिक्षा, युवा तथा खेलकुद, कृषि तथा पशुपंक्षी पालन सम्बन्धि, स्वास्थ्य खानेपानी तथा सरसफाई, पर्यटन संस्कृति तथा बातावरण, फोहरमैला व्यवस्थापन, सामाजिक विकास, भुमि व्यवस्थापन, महिला बालबालिका तथा जेष्ठ नागरिक, राजस्व तथा कर प्रणाली, संगठन तथा जनशक्ति विकास र सुचना तथा पारदर्शितालाई प्राथमिकतामा राखी गुलरिया नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

गुलरिया नगरपालिकाको आठौं नगरसभा कार्यक्रममा निर्वाचित जनप्रतिनिधि, कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो । नगर प्रमुख यादवले दिप प्रज्वलन गरी औपचारिक रुपमा आठौं नगरसभा कार्यक्रमको उद्घाटन गरेका थिए । गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले आठौं नगरसभा कार्यक्रमका सहभागीलाई स्वागत मन्तव्यले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय