राम प्रसाद चौहान
बर्दिया, असार १७ / धान रोप्ने सिजनमा मल नपाएर किसान चिन्तित भएका छन् । आवश्यक मात्रामा मल नपाउँदा अन्नबाली कसरी फलाउने किसानमा चिन्ता छाएको हो । लामो समयपछि आएको अप्रयाप्त मल किसानको लागि अपुग भएको छ । श्री दर्पण महिला कृषि सहकारी संस्था लिमिटेडले बिहीबार डिएपी मल वितरण गर्दा बिहान देखि किसानहरु दौडधुप गरेको देखिए । मल पाउने आशामा किसान बिहानै देखि लाईनमा बसे । दौडधुप गर्दा गर्दै कतिले मल पाए त कतिले नपाउँदै लाईनमा बस्दा बस्दै सहकारीको मल सकियो जानकारी पाए । कति किसानले मल पाए कति नपाएर फर्किनु प¥र्यो । आधा असार बितिसक्दा वर्षा र मल दुवै नहुँदा किसान झन् निराश भएका छन् ।
बिहान ८ बजेदेखि लाईनमा बस्दा २५ किलोग्राम मल पाएको गुलरिया नगरपालिका–७ का अशोक मुराउले बताए । ‘पाएको डिएपी मल अपुग छ’ उनले भने,‘लामो समयपछि मल आउँदा पनि प्रयाप्त मात्रामा पाउँन सकिएन ।’ सम्बन्धित निकायले समयमा पहल गरी मल उपलब्ध गराउनु जरुरी छ ।
१ सय २० बोरा डिएपी मल दर्पण महिला कृषि सहकारी संस्थाकी प्रबन्धन हिमा कुमारी चौधरीले बताईन् । ‘कृषि सामाग्री कम्पनीबाट ५० र साल ट्रेडिङ्ग कर्पोरेशनबाट ७० बोरा डिएपी मल आएको छ’ प्रबन्धक चौधरीले भनिन्,‘प्रत्येक किसानलाई २५ किलोग्रामका दरले मल उपलब्ध गराएका छौं ।’
जिल्लामा प्रयाप्त मात्रामा मल नआएको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताए । ‘प्रयाप्त मात्रामा मल ल्याउन ठेकेदारहरुसंग समन्वय भईरहेको छ’ सहायक प्रजिअ पाण्डेयले भने । अप्रयाप्त मात्रामा आएको मलको वितरण गर्न कोटा निर्धारण गरी सहकारीलाई जिम्मा दिईएको छ । मल वितरण गर्ने जिम्मा पाएका सहकारीलाई अभिलेख राखी मल वितरण गर्ने निर्देशन दिईएको छ । ‘प्रशासनले मल वितरण गरेका जुन सुकै सहकारीको मल वितरण गरेको अभिलेख रुजु गर्न सक्छ’ सहायक प्रजिअ पाण्डेयले भने,‘भनसुनको आधारमा मल वितरण गरि किसानलाई दुःख दिएको पाईएमा सहकारीलाई कानुनी दायरामा ल्याउँछौं ।’