राम प्रसाद चौहान
बर्दिया, असार २३ / आठ वर्षपछि बाढी प्रभावित परिवारलाई सुरक्षित आवास निर्माण गरि हस्तान्तरण गरिएको छ । गुलरिया नगरपालिका–४ रामपुरटापुर र कैलाशनगरका बाढी पिडित ४२ परिवारलाई बुधबार सुरक्षित आवास हस्तान्तरण गरिएको हो । लामो समय त्रिपाल मुनिको कष्टकर वासपछि सुरक्षित आवास पाउँदा बाढी पिडित खुशी भएका छन् ।
०७१ साल साउन अन्तिम सातामा बबई नदीको बाढीले मच्चाएको बितण्डाले रामपुरटापुका ६ जनाले ज्यान गुमाएका थिए । सिङ्गो गाउँ नै शोकमाग्न बनेको थियो । त्यो दिनलाई स्मरण गर्दै रामपुरटापुकी बाढी पिडित निर्मला विक भावुक भईन् । ‘बाढीले मच्चाएको बितण्डाले घरबारविहिन भएका थियौं’ बिकले भनिन्,‘सहयोगी दाताको सहयोगमा सुरक्षित घर पाउँदा धेरै खुशी छौं ।’
गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, गृहमन्त्रालयका महानिर्देशक, कारितास नेपालकी अध्यक्ष दुर्गा श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले संयुक्त रुपमा रिवन काटी घर धनी तिष्णा विकलाई गृह प्रवेश गराएका छन् ।
बाढी पिडितको दयनीय अवस्थालाई स्थलगत अनुगमन गरी संघसंस्थालाई सहयोगको लागि अनुरोध गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘कारितास नेपालको रु ६६ लाख र गुलरिया नगरपालिकाको रु १ करोड २६ लाखको लागतमा निर्माण भएको ४२ वटा घर निर्माण कार्य सम्पन्न भएको छ’ नगर प्रमुख यादवले भने,‘ गुलरिया नगरपालिका र कारितास नेपालको सहयोगमा बाढी पिडितलाई सुरक्षित आवास हस्तान्तरण गरि आत्मसन्तुष्टि मिलेको छ ।’ नगर पालिका भित्र रहेका गरिब दुखीको लागि सुरक्षित आवास कार्यक्रमको लागि आफुले पहलसमेत गर्ने नगर प्रमुख यादवले सुनाए ।
कम लागतमा सुरक्षित आवास निर्माण परियोजना गुलरिया नगरपालिका र कारितास नेपालको साझेदारीमा आवास हस्तान्तरण गरिएको छ । बाढी पिडितका ४२ घरपरिवारका एकनास आवास आकर्षक रहेको छ । १२/१२ को दुई कोठा, ७/७ को भान्साघर र पालीसहितको घर भुकम्प र बाढी प्रतिरोधात्मक रहेको कारितास नेपालका क्षेत्रिय व्यवस्थापक जनक शर्माले जानकारी दिए ।
बाढी पिडितको एउटा सुरक्षित आवास निर्माण गर्दा रु ६ लाख बढी लागत लागेको आवासको पर्खालमा टाँसिएको छ । एउटा आवासमा गुलरिया नगरपालिकाबाट रु ३ लाख कारितास जर्मनी/वल्र्ड रिन्यू र कारितास नेपालबाट रु १ लाख ५८ हजार ८ सय २० र समुदायको योगदान वापत रु २ लाख ३२ हजार ७ सय ३१ गरी जम्मा रु ६ लाख ९५ हजार ४ सय ४६ लागेको टाँसिएको रेकर्डमा उल्लेख छ ।
आवास हस्तान्तरण कार्यक्रममा गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, गृहमन्त्रालयका महानिर्देशक सन्त बहादुर सुनार, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर शाही, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, वडा नम्बर ४ का वडा अध्यक्ष शुरेश गौतम, कारितास नेपालकी अध्यक्ष दुर्गा श्रेष्ठ, क्षेत्रिय प्रबन्ध जनक शर्मालगायतको सहभागिता रहेको थियो ।