बर्दिया, असार २६ (फरकसमाचार) / सिकल सेल रोग थारु बाहेक अन्य जातिमा देखिएको खुलासा भएको छ । दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको रोग पछिल्लो समय अन्य जातिका मानिसमा देखिएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले गरेको नमुना परीक्षणमा थारु जाति बाहेक मधेसी समुदायमा देखिएको छ । थारु जातिमा बढी देखिएको छ भने अन्य जातिमा कम देखिएको पाईएको छ । सिकल सेल पछिल्लो समय सबै समुदायका मानिसमा बल्झिदै गएको तथ्य सार्वजनिक भएको छ । सिकल सेल÷थालासेमीया वंशाणुगत रगत जन्य रोग हो ।
बुवाआमा दुवैबाट सिकलसेलको जीन बच्चामा सर्ने भएकोले विवाह अघि नै विचार पु¥याए यस रोगलाई निवारण गर्न मद्दत पुग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए । ‘जिल्लामा गरिएको नमुना परीक्षणमा १७.६ प्रतिशत थारु समुदायमा देखिएको छ’ प्रमुख गिरीले भने,‘मधेसी समुदायमा ४ प्रतिशत देखिएको छ ।’ असार १७ देखि २४ गतेसम्म जिल्लामा १ हजार ९ सय ९२ जनाको सिकलसेल तथा थालेमियाको स्क्रिनिङ्ग गरिएको जसमा १ हजार ८ सय ३४ जनाको जाँच गर्दा १ सय ९९ जना सिकल सेल र ६८ जना थालेसेमिया केस देखिएको प्रमुख गिरीले प्रस्तुतिकरणमा जानकारी दिए । यस रोगलाई निवारण गर्न रोग बढी देखिएको समुदायले विवाह गर्नु अघि जाँच गरेर मात्र गर्नुपर्ने प्रमुख गिरीको भनाई छ ।
सिकल सेल रोगसंग टाइफाइड, बाथरोग, बाथज्वरो र हेपाटाइटिस रोको लक्षणहरु मिल्दो जुल्दो भएको कारण डाक्टर पनि झुक्किने गरेको जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए । ‘यस रोगको पहिचान गर्न रगत जाँच गर्नुपर्छ’ जनस्वास्थ्य निरीक्षक चौधरीले भने,‘सिकल सेल रोग समुदायबाट कम गर्न व्यापक जनचेतना फैलाउनु पर्छ ।’
स्वयसेविका, अगुवा र जनप्रतिनिधिले आ–आफ्नो स्थानबाट यस रोग बारे समुदायमा जनचेतना फैलाउन पर्छ । वंशाणुगत रोग भएको कारणले विवाह गर्नु अघि जाँच गरी सोच विचार गरी गर्नु पर्छ । यदि जाँचपछि विवाह गर्ने अवस्था भए गर्ने र विवाह गर्न नमिल्ने अवस्था भएमा गर्नु हुदैन । ‘यदि बुवा आमा दुवैलाई यदि यो रोगबाट ग्रसित छन्’ जनस्वास्थ्य निरीक्षक चौधरीले भने,‘जन्मिने बच्चा यो रोगको शिकार भएर जन्मिन्छ ।’ त्यसैले यस रोगलाई न्युनिकरण गर्न विवाह अघि नै चेक जाँच गर्नु पर्ने सञ्चारकर्मीसंग सिकल सेल तथा थालेसेमिया रोग सम्बन्धि शनिबार गरिएको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक चौधरीले पटक पटक दोहो¥याए ।
हाड जोर्नी दुख्ने, पटक पटक जन्डीस हुनु र बारम्बार ज्वरो आउनु सिकल सेल रोगको लक्षण हुन् । भेरी अस्पतालमा परीक्षण गराएका बिरामी मध्य बर्दियाका ५ सय ६१ जनामा सिकल सेल पुष्टि भएको रेकर्डले देखाएको छ ।