संघिय निजामती सेवा ऐन जारी गर्न ट्रेड युनियनले बुझायो ज्ञापन पत्र
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

बर्दिया, असार २८ (फरकसमाचार) / संघिय निजामती सेवा ऐन तत्काल जारी गर्न पाँच वटा ट्रेड युनियनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । पाँच वटै ट्रेड युनियनका अध्यक्षले ज्ञापन पत्रमा हस्ताक्षर गरी प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई संयुक्त रुपमा सोमबार बुझाएका हुन् ।

ट्रेड युनियनले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्र प्रजिअ बास्तोलाले बुझ्दै सम्बन्धित निकायमा तत्काल पठाउने प्रतिबद्धता जनाएका छन् ।
देश संघिय राज्य व्यवस्थामा गएको लामो समयसम्म संघिय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवम् मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघिय निजामती सेवा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल छ ।

सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारले प्राथमिकता नदिनु गम्भिर चिन्ताको विषय हो । समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षले सम्बन्धित पक्षसंग छलफलको आवश्यकता रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

निजामती प्रशासनलाई संघिय शासन अनुरुपको ढाँचामा व्यवस्थीत गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी र पारदर्शी बनाउने काममा सहयोग पुग्ने गरी संघिय संसदको चालु अधिवेशनबाट यथाशीघ्र संघिय निजामती सेवा ऐन जारी गर्न सरकारसंग ट्रेड युनियनले माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष कृष्ण बहादुर विष्ट, निजामती कर्मचारी युनियनका अध्यक्ष द्रोणराज शर्मा, राष्ट्रिय कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष दिपक थारु,एकिकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष अमरदेव भारती र नेपाल मधेशी निजामती कर्मचारी मन्चका अध्यक्ष सुशिल कुमार चौरसियाले ज्ञापन पत्रमा हस्ताक्षर गरी संयुक्त रुपमा प्रजिअ बास्तोलालाई बुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर