ड्राईगन फ्रुट खेती तर्फ किसानको आकर्षण बढ्दै
बिहिबार, असार ३०, २०७९ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, असार ३०/ ड्राईगन फ्रुट खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ । मधुवन नगरपालिका–६ का चित्र बहादुर लामिछानेले ड्राईगन खेतीको सुरुवात गरे पश्चात अन्य किसानको आकर्षण बढ्दै गएको हो । ड्राईगन फ्रुटको खेती लामिछानेले १५ कठ्ठा जग्गामा लगाएका छन् । लामिछानेसंग ड्राईगन खेतीको लागि सल्लाह सुझाव लिन र खेती हेर्न आउँनेको संख्यामा वृद्धि हुदै गएको पाईएको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको प्राविधिक सहयोगमा ड्राईगन फ्रुटको खेतीबाट राम्रै प्रतिफल पाउँने लामिछानेले बताए । ‘ड्राईगन फ्रुट खेती नयाँ रहेकोले धेरै जना हेर्न आउने गरेका छन्’ लामिछानेले भने,‘ड्राईगन लगाएको एक वर्षमा उत्पादन दिन थालेको छ ।’ आफुले तीन किसिमको ड्राईगन फ्रुट लगाएको सुनाए ।

सेतो रु ७ सय, रातो रु ८ सय र पहेलो ड्राईगन फ्रुट रु १ हजार प्रति किलोग्राम बिक्री भईरहेको लामिछानेले बताए । अहिले ३० किलोग्राम ड्राईगत फ्रुट बेचिसकेको लामिछानेले जानकारी दिए । ‘अनुदान बाहेक आफुले २२ लाख ५० हजार ड्राईगन फ्रुट खेतीमा लगानी लागेको छ’ लामिछानेले भने,‘एक पटक लगाएको ड्राईगन खेतीले २५ देखि ३० वर्ष अवधिसम्म अत्यधिक फल्ने र मनाग्य आम्दानी दिनेछ ।’

पछिल्लो समय ड्राईगन फ्रुट खेती तर्फ किसानको आकर्षण बढ्दै गएको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बिनोद घिमिरेले बताए । ‘ड्राईगन फ्रुट खेतीमा कृषकलाई कुनै समस्या हुन नदिन आफ्नो कार्यालय परिसरमा ड्राईगन फ्रुट लगाएका छौं’ प्रमुख घिमिरेले भने,‘ड्राईगन फ्रुटका बिरुमा कस्ता समस्या उत्पन्न हुन्छ परीक्षण गर्ने, त्यसलाई कसरी समाधान गर्ने कृषकलाई प्रत्यक्ष देखाएर समाधान गर्छौं ।’ ड्राईगन फ्रुट खेतीको लागि चित्र बहादुर लामिछानेलाई कार्यालयबाट सम्पुर्ण प्राविधिक सहयोग र रु २ लाख ५० हजार अनुदान दिएको प्रमुख घिमिरेले जानकारी दिए ।

त्यसैगरी लुम्बिनी प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा संचालित करार खेतीको अनुगमन गरिएको छ । गुलरिया नगरपालिका–१२ भैसाहीका दिलीप कुमार थारुले जग्गा लिजमा लिई तरकारी खेतीबाट लोभलाग्दो आम्दानी गरेका छन् ।

मन्त्रालयको रु २ लाख १० हजार र आफ्नो रु ९० हजार गरी रु ३ लाख लागतमा थारुले सिजन अनुसार तरकारी खेती गर्दै आएका छन् । थारुले अहिले लौका, चिचिन्डा र फर्सीको मुन्टा खेतमा लटरम्मा फलाएका छन् ।

तरकारी खेतीमा स्थानीय ५ जनालाई रोजगार दिएको थारुले बताए । ‘उत्पादन गरेको तरकारीको बजारीकरणको कुनै समस्या छैन’ थारुले भने, ‘मेरो खेतमा उत्पादन भएको तरकारी खेतबाटै थोकमा बिक्री भईरहेको छ ।’ आफुले उत्पादन गरेको तरकारी बाँके र बर्दियामा खपत भईरहेको सुनाए । सबै खर्च कटाएर पनि मासिक रु १ लाख आम्दानी हुने गरेको थारुले जानकारी दिए ।

गुलरिया नगरपालिका–४ तुल्सीपुर स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईको सहयोगमा रहेको केरा चक्ला खेतीको अनुगमन गरिएको छ । १७ जना केराका किसान मिली केरा चक्ला खेती गरिरहेको केरा जोन समन्वय समितिका संयोजक टंकनाथ योगीले बताए । ‘२० बिघामा केरा चक्ला खेती छ’ संयोजक योगीले भने,‘ कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा केरा खेतीको क्षेत्रलाई बिस्तार गछौं ।’ यस ठाउँमा केरा चक्ला खेतीको लागि कृषि आधुनिकीकरण परियोजनाले २५ वटा बोरिङ्ग र २५ वटा मोटर उपलब्ध गराएको संयोजक योगीले जानकारी दिए ।

केरा जोन कार्यक्रम गुलरिया, मधुवन र बाँसगढी नगरपालिकामा संचालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाईका प्रमुख कृष्ण धितालले बताए । ‘केरा जोन कार्यक्रम मार्फत किसानलाई आत्म निर्भर बनाउन प्रोत्साहन गरिरहेका छौं’ प्रमुख धितालले भने, ‘केराको बेर्ना उत्पादन गर्न ट्रनेल निर्माण भईरहेको छ ।’ तुल्सीपुरमा निर्माणधिन ट्रनेलमा टिसु कल्चर ल्यावबाट निकालेको केराको बेर्ना राखेर सजिलै बिक्री वितरण गरी मनाग्य आम्दानी गर्न सकिन्छ । ट्रनेल निर्माणको लागि ७ लाख ५० हजार अनुदान दिएको प्रमुख धितालले जानकारी दिए ।

दुवै कार्यालयले गरेको काम सन्तोषजनक रहेको जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले बताए । ‘किसानहरु सबै विज्ञ हुदैनन, उहाँहरुलाई समय समयमा सुझाव दिनु पर्छ’ प्रमुख बिष्टले भने,‘किसानले कम उत्पादन हुने कमसल खालको बिउँ बेर्ना लगाए मर्कामा पर्छन् ।’ बेर्ना, बिउ राम्रो नभएपछि उत्पादन घट्छ र सोचे जस्तो उत्पादन गर्न सक्दैनन । जसले गर्दा कृषि क्षेत्रमा काम गर्ने दुवै कार्यालयलाई समयमै चानाखो भई किसानलाई राम्रो बिउ बिजन बेर्ना बारे जानकारी दिन आग्रह गरे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई र एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले चालु आर्थिक वर्षमा गरेको कामको बुधबार सरोकारवाला तथा संचारकर्मीलाई संयुक्त अनुगमन गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर