बर्दिया, असार ३१ (फरकसमाचार) / वन डिभिजन कार्यालयका प्रमुख प्रबिण बिडारीले बाघलाई नियन्त्रण लिनुलाई अति सहज तरिकाले भन्नु असन्दर्भिक भएको बिहिबार आयोजित संचारकर्मीसँगको भेटघाटमा व्यग्य गरेका छन् । राति ११ बजे फोन मार्फत पूर्व सिडिओले भनेको प्रसंग कोट्याउदै उनले भने, ‘गेरुवा क्षेत्रको वस्तीमा बाघ पसेको छ,त्यसलाई तुरुन्त नियन्त्रणमा लिन पर्यो भन्दै फोन आयो, म दंग परे ।’ कार्यक्रममा बोल्दै गर्दा उनले बाघ जस्तो हिस्रक जनावरलाई तुरुन्त लिन पर्ने कुरा के साच्चिकै सम्भव छ त ? उनले प्रतिप्रश्न गरे ।
उनका अनुसार एउटा समस्या ग्रस्त बाघलाई नियन्त्रण लिन आर्थीक लेखा जोखा गर्ने हो भने दुई लाख लाग्छ । समस्या ग्रस्त बाघको लोकेशन पत्ता लगाउन र नियन्त्रणमा लिन सम्मको काम दक्ष प्राबिधिक जनशक्ति अभाव प्रमुख समस्याको रुपमा देखिने बिषय हो । यसरी गरिने काममा सहज तरिकाले बाघ नियन्त्रणमा लिने बिषयलाई बुझ्दा समस्या हुने गरेको प्रमुख बिडारीले खुलाए ।
बजेट अभावका कारण मानव र बन्यजन्तु बीच बढ्दो क्रममा रहेको द्वन्द्व न्युनिकरणमा समस्या देखिएको छ । वन्यजन्तुलाई बस्ती पस्न नदिन वन क्षेत्रमा पर्खाल लगाउन र जैविक मार्गमा ओभर पास अन्डर पासको संरचना निर्माण गर्न नसक्दा मानव र बन्यजन्तु बीचको द्वन्द्व न्युनिकरण हुन सकेको छैन । सिमित स्रोत साधनको बाबजुद पनि डिभिजन वन कार्यालयले मानव बन्यजन्तु बीचको द्वन्द्व न्युनिकरण गर्न प्रयास गरिरहेको प्रमुख बिडारीले बताए ।
डिभिजन वन कार्यालयको कार्यक्षेत्राधिकार भित्र रहेको खाता जैविक मार्ग हुँदै बर्दिया राष्ट्रियका वन्यजन्तु भारतीय निकुञ्जका वन्यजन्तु आवागम गर्छन् । नेपाल भारत निकुञ्जका वन्यजन्तु जैविक मार्गमा ओहोर दोहोर गर्ने मुख्य बाटोमा सवारी साधन गुडाउँदा वन्यजन्तु डाईभर्ट भई वस्तीमा पस्ने सम्भावना बढी रहेको छ । खाता जैविक मार्गमा अन्डर पास ओभर पासको संरचना निर्माण गरेर र वन क्षेत्रलाई बलियो पर्खाल बनाउन सके वन्यजन्तु बस्ती पस्न नसक्ने बताए ।
‘बजेटको अभावमा डिभिजन वन कार्यालयले यस्ता संरचना निर्माण गर्न सक्दैन’ प्रमुख बिडारीले भने,‘वन्यजन्तुको संख्या दिनहुँ बढ्ने क्रममा छ ।’ समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिई राख्ने ठाउँको पनि अभाव छ । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरण गर्न सरकारले बजेट बिनियोजन गरे मात्र सम्भव छ । सिमित स्रोत साधनको बाबजुद डिभिजन वन कार्यालयले द्वन्द्व न्युनिकरण गर्न वन क्षेत्रका वस्तीका सर्वसाधारणको लागि सचेतनामुलक कार्यक्रम संचालन गर्ने योजना रहेको प्रमुख विडारीले सुनाए ।
डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा सुधारिएको खोर निर्माण कार्यक्रमबाट मधुवन नगरपालिका–१ स्थित गणेशपुर शिसनिया सामुदायिक वन उपभोक्ता समुहका २० घरधुरीलाई बाख्राको सुरक्षित खोर निर्माण गर्न अनुदान उपलब्ध गराएको, भलुनी भटुवा सामुदायिक वन उपभोक्ता समुह र मधुवन न.पा–२ स्थित फर्दङगा सामुदायिक वन उपभोक्ता समुहमा गरी २ वटा मचान निर्माण गरेको छ । वन्यजन्तुलाई बस्ती पस्न नदिन विद्युतिय तारवार र मेस वायर फेन्स लगाईएको छ ।
५ वटा समुहको २ हजार ५ सय हेक्टर क्षेत्रमा मिचाहा प्रजातिको व्यवस्थापन गरेको र सडक किनारको झाडी सरसफाई गरेको छ । त्यसैगरी चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ४ मानविय क्षति भएको छ । मानविय क्षति, घाईते, पशुधन क्षति र घरगोठ अन्नवाली क्षति भए वापत रु ४९ लाख ५८ हजार ८८ बराबरको राहत वितरण गरेको प्रस्तुतीकरणको क्रममा प्रमुख बिडारीले तथ्यांक सार्वजनिक गरे । चालु आर्थिक वर्षमा ७५ वन्यजन्तुको उद्धार गरी सुरक्षित स्थानमा छाडिएको छ । पछिल्लो समय घरमा पसेका करेट गोमन जस्ता बिसालु सर्प बढी उद्धार गरेको प्रमुख बिडारीले भनाई राखे ।
मानव वन्यजन्तु बीचको द्वन्द्व न्युनिकरणको लागि संचारकर्मीले दिएको सुझाव आफ्नो कार्यक्षेत्र भित्र रहेको आफुले कार्यान्वयन गर्ने र बाँकी प्रदेश स्तरीय समिक्षामा राख्ने प्रमुख बिडारीले आश्वासन दिए ।
०७५ साल देखि मानव र बन्यजन्तु बीचको द्वन्द्व बढ्दो क्रममा रहेको छ । डिभिजन वन कार्यालयको क्षेत्राधिकार भित्र आर्थिक वर्ष ०७५/०७६ देखि चालु आर्थिक वर्षसम्म १३ जनाको वन्यजन्तुको आक्रमणबाट ज्यान गएको डिभिजन वन कार्यालयको तथ्यांकले पुष्टि गर्छ । वन्यजन्तुको आक्रमणबाट ३४ जना मानिस घाईते भएका छन् भने १ सय ६९ पशुधनको क्षति भएको छ । २९ जनाको घरगोठ क्षति हुनुको साथै २ सय ३४ जना कृषकको अन्नवाली क्षति भएको डिभिजन वन कार्यालयको तथ्यांकले देखाएको छ ।
मानव र बन्यजन्तु बिचको द्वन्द्व न्युनिकरण गर्न आगामी दिनमा वन क्षेत्रको चापलाई कम गर्नका लागि बैकल्पिक उर्जा कार्यक्रम ल्याउने, वन क्षेत्रमा बसोबास गर्नेका लागि जिविकोपार्जन कार्यक्रम संचालन गर्ने र खाता जैविक क्षेत्रका वस्तीलाई व्यवस्थापन गर्ने योजना रहेको अन्तरक्रियामा जनाईएको छ ।